१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७६ पौष १३ आइतबार १०:२५:००
Read Time : > 2 मिनेट
अर्थ

निगमका कार्यकारी अध्यक्ष खरेलसँग  सञ्चालक समितिको पाँचबुँदे स्पष्टीकरण माग

Read Time : > 2 मिनेट
२०७६ पौष १३ आइतबार १०:२५:००

नयाँ पत्रिका फलोअप

निगमको उन्नति गर्ने वाचामा प्रधानमन्त्रीबाट नियुक्ति पाएका खरेलले सुधार त गरेनन् नै, नियोजित रूपमै करोडौँ घाटा पुर्‍याए

 निगमका कार्यकारी अध्यक्ष मदन खरेल

नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलको कामप्रति असन्तुष्टि जनाउँदै सञ्चालक समितिले स्पष्टीकरण सोधेको छ । निगम उच्च स्रोतले नयाँ पत्रिकालाई उपलब्ध गराएको स्पष्टीकरणपत्रमा खरेलले कुनै पनि कार्य प्रतिबद्धताअनुसार नगरेको तथा निगमलाई झनै धराशायी बनाएको भन्दै सञ्चालक समितिको शुक्रबार बसेको बैठकको बहुमत सदस्यको निर्णयले स्पष्टीकरण सोधेको हो । निगम स्रोतका अनुसार खरेललाई प्रधानमन्त्री केपी शर्मा ओलीसँग सञ्चालक समितिले व्यवस्थापनलाई असहयोग गरेको रिपोर्टिङ गर्नुको कारण माग गरेको छ । 

पहिलो बुँदामा सञ्चालक समितिले खरेलसँग कुन–कुन निर्णयमा समितिले असहयोग गरेको ? कुन–कुन सदस्य बैठक नआएको ? विवरण दिन लेखिएको छ । केही साताअगाडि प्रधानमन्त्री ओलीलाई ब्रिफिङ गर्दै खरेलले व्यवस्थापनमा सञ्चालक समितिले असहयोग गरेको बताएका थिए । सोही विषयमा सञ्चालक समितिले स्पष्टीकरण मागेको हो । 

स्पष्टीकरणको दोस्रो बुँदामा निगमले खरिद गरेको एयरबस ३३०–२०० सिरिजको वाइडबडी सञ्चालनसम्बन्धी तयार गरिएको व्यापारिक योजनाअनुसार जापानको नारिता नउडाई हतारमा ओसाका उडान गर्नुको कारण माग गरेको छ ।

निगमले तयार पारेको व्यापारिक योजनाअनुसार जापानको टोकियो उडान गर्नुपर्ने थियो । तर, जापानसँग भएको हवाई सम्झौताको नवीकरणमा टोकियोमा स्लट तत्काल नदिएपछि सञ्चालक समितिले ०७५ भदौ २० गते जापानको नारिता उडान गर्ने निर्णय गरेको थियो । नारिताका लागि जिएसए छनोट भइसकेको र उडान गर्नेसमेत तयारी भएको थियो । तर, खरेल कार्यकारी अध्यक्ष भएसँगै नारिताका ठाउँमा ओसाका उडान गराए । तर, सो उडानमा यात्रु अभावका कारण दैनिक लाखौँ घाटा व्यहोर्नुपर्‍यो । सोही विषयमा प्रधानमन्त्री ओलीले सार्वजनिक रूपमै खरेलसँग असन्तुष्टि जनाएका थिए । 

स्पष्टीकरणको तेस्रो बुँदामा चिनियाँ जहाज वाई १२ ई र एमए ६० सञ्चालनका लागि व्यवस्थापनमा नेतृत्वको अनुदार हुनु तथा मासिक लाखौँ घाटा व्योहोर्नुपर्दासमेत सञ्चालक समितिमा कुनै कार्ययोजना पेस नगर्नुको कारण सोधिएको छ । सञ्चालक समितिको ०७६ जेठ ३१ को बैठकले खरेललाई चिनियाँ जहाज उडानका लागि विस्तृत कार्ययोजना तथा व्यावसायिक योजना पेस गर्न निर्देशन दिएको थियो । तर, खरेलले हालसम्म कुनै कार्ययोजना पेस गर्न सकेका छैनन् । चिनियाँ जहाजकै कारण ८० करोडभन्दा बढी निगमले घाटा व्यहोर्नुपरेको छ । 

स्पष्टीकरणको चौथो बुँदामा खरेललाई एयरबस ३२० र एबरबस ३३० को इन्जिन मर्मत, एमआरओको विषयमा कुनै पनि प्रक्रिया अगाडि बढाउन नसक्नुको कारण सोधिएको छ । एयरबस ३२० जहाजको इन्जिन मर्मत गर्ने समय हुन लाग्दासमेत कुनै पनि कम्पनी छनोट गर्न निगमले सकेको छैन । यसअघि मर्मत गर्ने मलेसियन कम्पनी खारेज गरेर खरेलले नयाँ कम्पनीको खोजी गरिरहेका छन् ।  

स्पष्टीकरणको पाँचौँ बुँदामा एयरबस ३२०–२०० सिरिजका दुई थान जहाजको इन्जिन स्टार्ट गर्ने मेसिन एक्ज्यिुलरी पावर युनिट (एपियू) मर्मत नगरी भाडामै चलाउनुका कारण पेस गर्न भनिएको छ । 

एपियू मर्मत नहुँदा भाडामै हालसम्म २८ करोड रुपैयाँभन्दा बढी खर्च गरिएको छ । निगमको न्यारोबडी जहाज एयरबस ३२० ‘लुम्बिनी’ र ‘सगरमाथा’मा एपियू मर्मत गर्नुको सट्टा भाडामा लिएर चलाउँदै आएको छ । लुम्बिनी जहाजको एपियू बिग्रिएको गत माघ २६ गते हो भने सगरमाथाको एपियू बिग्रिएको जेठ १५ देखि हो । एपियू मर्मत गर्नुको सट्टा निगम व्यवस्थापनले ग्राउन्ड पावर युनिट (जिपियू) चलाउने र भाडामा मेसिन लिँदै आएको छ । 

२२ करोड रुपैयाँ घटाएर अमेरिकन कम्पनीलाई बोइङ गण्डकी बिक्री


नेपाल वायुसेवा निगम सञ्चालक समितिले बोइङ ७५७ गण्डकी जहाज अमेरिकन कम्पनी सिएसडिएस एयरक्राफ्ट सेल्स एन्ड लिजिङ इंकलाई ६५ करोड २२ लाख रुपैयाँमा बिक्री गर्ने निर्णय गरेको छ । सञ्चालक समितिको शुक्रबार बसेको बैठकले अन्तिम बोइङ विमान ७५७ सिएसडिएसलाई बिक्री गर्ने गरेको हो । जुन पहिले तोकेको मूल्यभन्दा २२ करोड रुपैयाँ घटाएर बिक्री गरिएको हो । 

गत जेठमा परामर्शदाता कम्पनी फिनटेक एफएएस एभिएसन सर्भिसेज कम्पनीले जहाज र ६ सयभन्दा बढी पार्टस्को न्यूनतम मूल्य ८७ करोड रुपैयाँमा बिक्री गर्न सकिने प्रतिवेदन दिएको थियो । तर, निगमले २२ करोड रुपैयाँ कममा अमेरिकन कम्पनीलाई बिक्री गर्ने निर्णय गरेको हो । निगम व्यवस्थापनले भने तोकिएको मूल्यमा खरिदकर्ता नआएपछि फिनटेकले गरेको न्यूनतम मूल्यभन्दा कममा बिक्री गर्नुपरेको जनाउँदै आएको छ । 

निगमले गत असार ११ मा ४५ दिनको सूचना जारी गर्दै निगमले यसको न्यूनतम लिलाम दर ७६ लाख डलर (करिब ८७ करोड रुपैयाँ हाराहारी) राखेर टेन्डर निकालेको थियो । त्यसपछि निगमले साउन २९ गते दोस्रोपटक टेन्डर आह्वान गरेको थियो । त्यसमा थपिएको म्याद–प्रस्तावमा तीनवटा अमेरिकी कम्पनीले जहाज खरिद गर्न प्रस्ताव बुझाएका थिए । प्रस्ताव बुझाउनेमा अमेरिकी कम्पनीहरूमा एभियोन सिस्टम इंक, सिएसडिएस एयरक्राफ्ट सेल्स एन्ड लिजिङ इन्क र एमके एभिएसन्स थिए । एक सय ९० सिट क्षमताको उक्त जहाज एक अर्बमा ३१ वर्षअगाडि खरिद गरिएको थियो ।