मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ मङ्सिर २ शुक्रबार ०६:२०:००
Read Time : < 1 मिनेट
अर्थ

१२ मंसिरदेखि नेपाल वायुसेवा निगमको दिल्ली–भैरहवा उडान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ मङ्सिर २ शुक्रबार ०६:२०:००

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेवानि)ले १२ मंसिरदेखि भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (जिबिआइए)मा उडान गर्ने भएको छ । निगमले सातामा चार दिन काठमाडौंबाट भारतको दिल्ली हुँदै भैरहवा भएर पुनः काठमाडौं ‘राउन्ड ट्रिप’ गर्ने भएको हो । 

अहिले सोमबार, बुधबार, शुक्रबार र शनिबार काठमाडौं–दिल्ली–भैरहवा–काठमाडौं उडान गर्ने तयारी भएको निगमकी प्रवक्ता अर्चना खड्काले बताइन् । तत्कालका लागि राउन्ड ट्रिप गरे तापनि छिट्टै काठमाडौं–दिल्ली–भैरहवा–दिल्ली–काठमाडौं र भविष्यमा भैरहवा–दिल्ली–भैरहवा उडान थाल्ने निगमको योजना छ ।
नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का सूचना अधिकारी ज्ञानेन्द्र भुलले निगमलाई दिल्लीबाट भैरहवा हुँदै काठमाडौंसम्म उडान गर्न अनुमति दिएको जानकारी गराए । निगमले आफूसँग भएका वाइडबडी र न्यारोबडी दुवै जहाजबाट भैरहवा भएर राउन्ड ट्रिप गर्न पाउनेछन् । निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि दुईवटा न्यारोबडी र दुईवटा वाइडबडी जहाज छन् ।

निगमले सेवा सुरु गरेपछि भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवा तीन पुग्नेछन् । अहिले कुवेतको जजिरा एयरवेज र नेपालकै निजी लगानीको वायुसेवा हिमालय एयरलाइन्सले नियमित उडान गरिरहेका छन् । कुवेत एयरवेजले विमानस्थल उद्घाटनकै दिनदेखि (२ जेठ ०७९) देखि सातामा तीन उडान गरिरहेको छ भने हिमालयले हालै मात्र काठमाडौं–मलेसिया–भैरहवा–मलेसिया–काठमाडौं चार्टर्ड उडान सुरु गरेको छ ।

काठमाडौंमा दैनिक तीनभन्दा बढी उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवालाई विन्टर सिजनदेखि भैरहवाबाट अनिवार्य उडान गर्न निर्देशन दिएपछि पहिलो चरणमा राष्ट्रिय ध्वजावाहक हिमालय र निगमले उडान सुरु गरेका हुन् । दोस्रो चरणमा कतार एयरवेज, एयर अरेबिया र फ्लाई दुबईले भैरहवामा उडान गर्ने क्यानका सूचना अधिकारी भुलले बताए । विन्टर सेड्युलमा भैरहवाबाट उडान गर्ने तालिका नराखेपछि क्यानले हिमालय र निगमको अन्तर्राष्ट्रिय उडान कटौती गरिदिएपछि दुवै वायुसेवा कम्पनी भैरहवाबाट उडान गर्न तातेका हुन् ।