१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ माघ १० मंगलबार ०७:३५:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

पर्यटनमन्त्री किराँतीले मागे नेपाल वायुसेवा निगमको ‘बिजनेस प्लान’

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ माघ १० मंगलबार ०७:३५:००

पर्यटनमन्त्री सुदन किराँतीले नेपाल वायुसेवा निगम (नेवानि)को ‘बिजनेस प्लान’ मागेका छन् । राष्ट्रिय ध्वजावाहकको अवस्था दयनीय हुँदै गइरहेकोतर्फ सचेत गराउँदै उनले ‘बिजनेस प्लान’ बनाएर पेस गर्न निगम व्यवस्थापनलाई निर्देशन दिएका हुन् ।

निगमले नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीको स्वागतका लागि आयोजना गरेको कार्यक्रममा उनले निगमको दैनिक रिपोर्ट मन्त्रालयमा पठाउन आदेश दिए । ‘निगमको कुन जहाज कहाँ उड्यो, कहाँ रोकियो, के कारणले रोकियो, कति डिले भयो, चक्का कहाँ हरायो ? मुसोले कहाँ कतिवेला तार काट्यो ? सबै कुराको दैनिक रिपोर्ट चाहियो,’ उनले भने, ‘निगमको दैनिक रिपोर्ट हरेर मात्र मन्त्रालयबाट घर फर्किन्छु ।’  

मन्त्री किराँतीले एक महिनाभित्र अनलाइन टिकेटिङको व्यवस्था गर्न पनि निर्देशन दिएका छन् । ‘जसरी पनि अनलाइन टिकट काट्ने व्यवस्था गरिनुपर्छ, यती, बुद्ध, सीता एयरले सक्छन् भने निगमले किन सक्दैन ?’ कडा रूपमा प्रस्तुत हुँदै उनले भने, ‘यदि काम गर्न नसक्ने हो भने राजीनामा दिए हुन्छ ।’

निगमको पुरानो साख फर्काउने गरी काम गर्न उनले निगम व्यवस्थापन र कर्मचारीहरूलाई आग्रह गरे । मन्त्री किराँतीले समयमा उडान नहुने अवस्थाको अन्त्य गर्न पनि निर्देशन दिएका छन् । ‘जहाज समयमै उड्नुपर्छ, नेपाली समयको बदनाम नहोस्,’ उनले भने, ‘कुनै पनि जहाज टायर पड्किएर हप्तौँ ग्राउन्डेड हुने अवस्था आउन दिनुभएन ।’ सानोतिनो मर्मत–सम्भार र पार्टपुर्जा फेरबदल गर्न नसकेर विगतमा निगमका जहाज धेरै दिनसम्म ग्राउन्डेड भएका प्रशस्त उदाहरण छन् । 

पर्यटन सचिव सुरेश अधिकारीले निगमको पहिलो प्राथमिकता जहाज उडाउनेमै हुनुपर्ने बताए । ‘निगम जहाज उडाएर बाँच्नुपर्छ, ग्राउन्ड ह्यान्डलिङ नपाए बाँच्न सक्दैनौँ भन्नुहुँदैन,’ उनले भने, ‘निगमका लागि ग्राउन्ड ह्यान्डलिङ जहिल्यै सहायक पाटो मात्र हुनुपर्छ ।’ उनले ग्राउन्ड ह्यान्डलिङ सेवा निगमबाहेक अरू कम्पनीलाई दिने विषयमा मन्त्रालयमा कहिल्यै छलफल नभएको पनि स्पष्ट पारे ।

निगमलाई सक्षम, व्यावसायिक, आत्मनिर्भर र सशक्त प्रतिस्पर्धी संस्था बनाउन सबैले भूमिका खेल्नुपर्ने सचिव अधिकारीको भनाइ थियो । दुर्गम क्षेत्रमा हवाई सेवा दिन निगमको दायित्व भएको औँल्याउँदै उनले दुईवटा ट्विनअटरले दुर्गम क्षेत्रको माग पूरा हुन नसकेको बताए । उनले भने, ‘दुर्गममा उडाउन जहाज नै छैनन्, अन्तर्राष्ट्रिय उडान गर्ने न्यारोबडी जहाजलाई भ्याइनभ्याइ छ, तर वाइडबडी जहाजले बिजनेस नै पाएको छैन, वाइडबडी जहाजका लागि पनि बिजनेस खोज्नुपर्छ ।’

यदि निगमले आन्तरिक उडान गर्ने जहाज र अन्तर्राष्ट्रिय उडान गर्न न्यारोबडी जहाज थप्नुपरेमा बिजनेस प्लान ल्याउन व्यवस्थापनसँग आग्रह गरे । ‘निगमको व्यवस्थापकीय क्षमता बढाउनुपर्छ, सानोतिनो उपकरण बिग्रिएर जहाज तीन–चार दिन ग्राउन्डेड हुन दिनुभएन,’ उनले भने, ‘निगममा म्यानेजरियल रिफर्मको आवश्यकता छ ।’

निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले आन्तरिक उडानका लागि जहाज थप्नुपर्ने आशय व्यक्त गरेका छन् । आन्तरिक पर्यटन विकास र दुर्गमका जनतालाई हवाई सेवा दिनका लागि पनि जहाज आवश्यक रहेको उनको भनाइ थियो । ‘अहिलेकै अवस्थामा दुई–तीनवटा जहाज थप्न सक्षम छौँ, मन्त्रालयको निर्देशन पाएमा अगाडि बढ्छौँ,’ उनले भने, ‘अब जहाज किन्न योजनाबद्ध ढंगले अगाडि बढ्नेछौँ ।’