१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०७६ असोज २ बिहीबार ०७:३४:००
Read Time : > 2 मिनेट
अर्थ

उद्योग वाणिज्य महासंघका सात पूर्वअध्यक्षले भने–शेखरपछि अध्यक्ष चयन निर्वाचनबाटै 

Read Time : > 2 मिनेट
२०७६ असोज २ बिहीबार ०७:३४:००

वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुन पाउने गरी विधान संशोधन गरेको एक कार्यकाल बित्न नपाउँदै नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्षहरूले अध्यक्षको चयन फेरि निर्वाचन प्रणालीबाटै गर्नुपर्ने सुझाब दिएका छन् । महासंघ अध्यक्षको निर्वाचन भड्किलो भएको भन्दै तीन वर्षअघि मात्र विधानमा छैटौँ संशोधन गरी वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष चुनिने व्यवस्था गरिएको थियो । यसै व्यवस्थाअन्तर्गत पहिलोपटक चुनिएकी भवानी राणा अहिले अध्यक्ष छिन् । उनको कार्यकाल सकिन नपाउँदै महासंघका सात पूर्वअध्यक्षहरूले अध्यक्षको चयन पुनः निर्वाचन प्रणालीबाटै हुनुपर्ने गरी विधान संशोधनको सुझाब दिएका हुन् । 

‘अध्यक्षको निर्वाचन भड्किलो तथा खर्चिलो हुने र आपसी तिक्तता बढ्ने भएकाले वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने गरी विधान संशोधन गरिएको थियो,’ पूर्वअध्यक्ष रविभक्त श्रेष्ठले भने, ‘तर, वरिष्ठ उपाध्यक्षको चुनाव पनि अध्यक्षको भन्दा कम देखिएन, त्यसले पहिल्यैकै अवस्था उपयुक्त देखिएकाले हामी सातैजना अध्यक्षहरू प्रत्यक्ष निर्वाचनको पक्षमा उभिएका हौँ ।’ यसरी सुझाब दिनेमा पद्म ज्योति, प्रदीपकुमार श्रेष्ठ, विनोदबहादुर श्रेष्ठ, रविभक्त श्रेष्ठ, कुशकुमार जोशी, महेशलाल प्रधान र सुरज वैद्य छन् । उनीहरूले विधान संशोधन कार्यदलका संयोजकलाई पत्र पठाएर अध्यक्षको निर्वाचन, योग्यता, सल्लाहकार परिषद् गठन गर्ने, विशिष्ट सदस्य हटाउनेलगायत विषयमा ६ बुँदे सुझाबसहितको पत्र मंगलबार विधान कार्यदललाई बुझाएका छन् । ‘अध्यक्षको निर्वाचन प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत नै हुन उपयुक्त छ,’ सुझाबमा भनिएको छ ।

महासंघको ४ कात्तिक २०७३ को विशेष साधारणसभाले विधान २०४९’ मा छैटौँ संशोधन गरी वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने व्यवस्था गरेको थियो । संशोधित विधानअनुसार अबको अध्यक्ष शेखर गोल्छा (हालका वरिष्ठ उपाध्यक्ष) हुनेछन् । 

तर, पूर्वअध्यक्षहरूले विधानमा संशोधन गरे पनि कार्यान्वयन भने अर्को पालिदेखि मात्र लागू गर्न सुझाब दिएका छन् । ‘तीन–चारपटकको चरणबद्ध छलफलपछि हामीले प्रत्यक्ष निर्वाचन प्रणाली नै उपयुक्त हुने ठान्यौँ र सोहीअनुसार सुझाब दिएका छौँ,’ श्रेष्ठले भने, ‘हाम्रो सुझाबमा धेरैले समर्थन गर्नुभएको छ ।’ महासंघको विधान संशोधनका लागि आगामी २९ कात्तिकलाई विशेष साधारणसभा बोलाइएको छ । यसअघि विधान संशोधनको प्रस्तावित मस्यौदा सबै सदस्यहरूलाई उपलब्ध गराइसकेको महासंघले जनाएको छ ।

 ‘अबको अध्यक्ष शेखर गोल्छा नै हुनुपर्छ’
पूर्वअध्यक्षहरू महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छालाई नै भावी अध्यक्ष बनाउनुपर्ने पक्षमा उभिएका छन् । महासंघको नेतृत्व प्रत्यक्ष निर्वाचनबाटै चुनिनुपर्ने व्यवस्था गरिए पनि त्यसको कार्यान्वयन अर्को कार्यकालबाट मात्रै लागू गराउनुपर्ने उनीहरूको धारणा छ । गोल्छा संशोधित विधानअनुसार स्वतः अध्यक्ष हुने गरी वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएकाले गोल्छा नै अबको अध्यक्ष हुनुपर्छ भन्नेमा पूर्वअध्यक्षहरू उभिएको श्रेष्ठले बताए ।

विशिष्ट सदस्य हटाऊ, सल्लाहकार परिषद् बनाऊ
सातजना पूर्वअध्यक्षहरूले महासंघमा विशिष्ट सदस्य हुने व्यवस्था हटाउन तथा सल्लाहकार परिषद् हुने व्यवस्था कायम गर्न सुझाब दिएका छन् । सुझाबको ४ नम्बर बुँदामा भनिएको छ, ‘विशिष्ट सदस्यको व्यवस्था आवश्यक नरहेकाले सो व्यवस्था हटाउने ।’ त्यस्तै, पूर्वअध्यक्षहरू महासंघका सम्पत्ति भएको उल्लेख गर्दै हालको सल्लाहकार समितिलाई हटाएर सल्लाहकार परिषद् बनाउनसमेत सुझाब दिएका छन् ।

प्रदेशलाई अझ शक्तिशाली बनाउनुपर्ने
पूर्वअध्यक्षहरूले महासंघका प्रदेश कमिटीहरूलाई अझ प्रभावकारी र शक्तिशाली बनाउनसमेत सुझाब दिएका छन् । प्रदेशका अध्यक्षहरूलाई केन्द्रका उपाध्यक्षसरह पद तथा भूमिका दिनुपर्ने उनीहरूको धारणा छ । 

महासंघलाई बलियो बनाउने सुझाब दिएका छौँ : रविभक्त श्रेष्ठ 
पूर्वअध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ

धेरै गहिरो छलफल गरेर सुझाब तयार परेका हौँ । महासंघको सुदृढीकरण गर्दै निजी क्षेत्रको नेतृत्व गर्ने अझ सशक्त संस्थाका रूपमा विकास गराउने गरी सुझाब दिएका छौँ । हाम्रो सुझाबलाई विधान समिति र वर्तमान कार्यसमितिले मनन गर्ने विश्वास लिएका छौँ । मुख्यतः प्रत्यक्ष निर्वाचनबाट अध्यक्ष चुनिनुपर्ने, वर्तमान वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुनुपर्ने, सल्लाहकार परिषद् गठन हुनुपर्ने, प्रदेश कमिटीलाई बलियो बनाइनुपर्ने तथा विशिष्ट सदस्य हटाइनुपर्नेमा हाम्रो जोड छ । 

अस्पष्ट, द्विविधायुक्त र स्वार्थपूर्ण सुझाब : चण्डीराज ढकाल  
संयोजक, विधान 
संशोधन समिति

समितिले महासंघको विधान संशोधनका लागि सुझाब दिन विभिन्न व्यक्ति तथा संस्था गरेर २ हजार पत्र काटेको थियो । सुझाबहरू आउने क्रम जारी छ । पूर्वअध्यक्षहरूले दिएको सुझाब अहिले चर्चामा छ । तर, उहाँहरूको सुझाब अस्पष्ट, द्विविधायुक्त र स्वार्थपूर्ण छ । एक लाइनमा प्रत्यक्ष निर्वाचन भनिएको छ, अर्को लाइनमा कार्यान्वयन अर्को कार्यकालबाट मात्रै भनिएको छ, यो द्विविधायुक्त छ । एक करोडलाई शून्यले गुणा गर्दा जति हुन्छ त्यति नै महत्व छ यो सुझाबको । तर, हामी सबैका सुझाब सुन्छौँ ।