अभ्यास खेलका लागि पोखरा आएको भुटानको राष्ट्रिय क्रिकेट टोली लगातार तेस्रो खेलमा पराजित भएको छ। बिहीबार सम्पन्न तेस्रो खेलमा क्यान–११ सँग भुटान १३ रनले पराजित भएको हो।
यसअघि मंगलबार सम्पन्न पहिलो खेलमा गण्डकी–११ सँग आठ विकेट र बुधबारको खेलमा ६४ रनको अन्तरले भुटान पराजित भएको थियो। पुरुष टी–२० एसिया कप क्वालिफायरको तयारीका लागि अभ्यास गर्न भुटानी टोली पोखरा आएको हो।
बिहीबारको खेलमा टस जितेर ब्याटिङ रोजेको क्यान–११ ले २० ओभरमा नौ विकेट गुमाएर १२३ रनको योगफल तयार गरेको थियो। १२४ रनको लक्ष्य पछ्याउँदै मैदान उत्रिएको भुटान २० ओभरमा नौ विकेट गुमाएर ११० रनमा समेटियो।
खेलमा प्लेयर अफ द म्याचसमेत रहेका क्यान–११ का कप्तान विपिन खत्रीले अर्धशतक पूरा गर्दै ३६ बलमा पाँच चौका र चार छक्कासहित टोलीका लागि सर्वाधिक ५२ रन जोडे। अर्का ओपनर अर्जुन कुमालले २१ बलमा दुई चौका र एक छक्काको मद्दतमा २५ रन बनाए। टोलीका अन्य खेलाडीले भने दोहोरो अंकमा रन बनाउन सकेनन्।
जवाफी ब्याटिङमा उत्रिएको भुटानका लागि ओपनर नाम्गे थिन्लेले ४४ बलमा पाँच चौकासहित सर्वाधिक २९ रन बनाए। सोनाम चोपेलले १७ बलमा दुई चौका र एक छक्कासहित १९, थिन्ले जाम्त्सोले १४ बलमा दुई छक्कासहित १९, आनन्द मोङ्गरले १२ बलमा एक छक्कासहित १४ तथा रञ्जुङ मिक्यो दोर्जीले १२ बलमा समान एक चौका र छक्कासहित १३ रन बनाए।
बलिङतर्फ क्यान–११ का विपिन शर्माले चार ओभरमा एक मेडनसहित १५ रन खर्चेर तीन विकेट लिए। यस्तै, विपिन खत्री र युवराज खत्रीले समान दुई–दुई तथा दयानन्द मण्डलले एक विकेट लिए।
भुटानका थिन्ले जाम्त्सो, गाेकुलकुमार घले र सोनाम येसेले समान दुई–दुई विकेट लिए भने नाम्गे थिन्ले र कर्मा दोर्जीले समान एक–एक विकेट हात पारे।