सौर्य सिमेन्ट उद्योगसँग सम्बन्धित ‘गाल्टार खानी बाहिर–कटारी बजार–सिम्ले–तावाश्री पुल सडक आयोजना’को प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) प्रतिवेदन खारेज गर्न कटारी नगरपालिकाले कोशी प्रदेश सरकारसँग माग गरेको छ।
स्थानीय बासिन्दाको पर्याप्त सहभागिता, सूचना प्रवाह तथा सुझाव संकलनलगायतका आवश्यक प्रक्रिया पूरा नगरी आईईई प्रतिवेदन तयार पारिएको भन्दै नगरपालिकाले उक्त प्रतिवेदन खारेज गरी पुनः आवश्यक प्रक्रिया अघि बढाउन माग गरेको हो।
कटारी नगरपालिकाका प्रमुख राजेशचन्द्र श्रेष्ठ नेतृत्वको टोलीले बुधबार कोशी प्रदेश सरकारको पर्यटन, वन तथा वातावरण मन्त्रालय पुगेर मन्त्री खिनु लङ्वा (लिम्बू) र मन्त्रालयका सचिव इन्द्रप्रसाद सापकोटालाई ज्ञापनपत्र बुझाएको हो।ज्ञापनपत्रमा आईईई प्रतिवेदन तयार गर्ने क्रममा सम्बन्धित क्षेत्रका स्थानीय बासिन्दालाई पर्याप्त जानकारी नदिइएको तथा उनीहरूको सहभागिता र सुझावलाई पर्याप्त रूपमा समेट्न नसकिएको उल्लेख गरिएको छ।
नगरपालिकाका अनुसार अघिल्ला जनप्रतिनिधिको कार्यकालमा तयार गरिएको उक्त प्रतिवेदनमा कटारी नगरपालिका–४ सिम्ले क्षेत्रका स्थानीय बासिन्दाको वास्तविक अवस्था, समस्या तथा उद्योग सञ्चालन र चुनढुंगा ढुवानीबाट पर्न सक्ने सम्भावित प्रभावबारे पर्याप्त अध्ययन नभएको भन्दै स्थानीयले विरोध गर्दै आएका थिए। प्रतिवेदन कार्यान्वयनमा आए स्थानीय बस्ती, जनजीवन, वातावरण तथा सडकमा थप असर पर्न सक्ने भन्दै नगरपालिकाले पुनरावलोकनको माग गरेको हो।
विशेषगरी चुनढुंगा ढुवानीका क्रममा स्थानीय सडक प्रयोग गर्दा बस्ती तथा सर्वसाधारणमा पर्न सक्ने असरलाई ध्यान दिनुपर्ने नगरपालिकाको माग छ। स्थानीय बस्तीमा न्यून असर पर्ने गरी चुनढुंगा ढुवानीका लागि वैकल्पिक मार्गको व्यवस्था गर्नसमेत नगरपालिकाले प्रदेश सरकारसँग आग्रह गरेको छ।
आईईई प्रतिवेदन तयार गर्ने क्रममा अपनाइएको प्रक्रिया, स्थानीय सहभागिता तथा वातावरणीय प्रभावका विषयमा सम्बन्धित निकायले स्पष्ट जानकारी दिनुपर्ने नगरपालिकाको माग छ। स्थानीयवासीले समेत आफूहरूसँग पर्याप्त छलफल नगरी तयार गरिएको प्रतिवेदन कार्यान्वयन गर्न नहुने भन्दै प्रतिवेदन खारेज गरी पुनः आवश्यक अध्ययन तथा छलफल गर्न माग गर्दै आएका छन्।
ज्ञापनपत्र बुझ्दै पर्यटन, वन तथा वातावरणमन्त्री खिनु लङ्वा र मन्त्रालयका सचिव सापकोटाले विषयलाई आवश्यक प्रक्रियामार्फत अघि बढाउने तथा सम्बन्धित विषयमा आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएको नगरपालिकाले जनाएको छ।
नगरपालिकाले उद्योग तथा खानी सञ्चालन र चुनढुंगा ढुवानीबाट स्थानीय क्षेत्रमा पर्न सक्ने सामाजिक, वातावरणीय तथा पूर्वाधारसम्बन्धी प्रभावलाई सम्बोधन गरेर मात्र आयोजना अघि बढाउनुपर्ने धारणा राखेको छ। स्थानीय सरोकारवालाको सहभागितामा पुनः अध्ययन, छलफल तथा सुझाव संकलन गरी त्यसका आधारमा आवश्यक निर्णय लिनुपर्ने नगरपालिकाको माग छ।
सिरहाको कर्जन्हा नगरपालिका–१० मा सौर्य सिमेन्ट उद्योगको मुख्य उत्पादन प्लान्ट रहेको छ। उद्योगका लागि आवश्यक मुख्य कच्चा पदार्थ चुनढुंगा उदयपुर जिल्लाको कटारी नगरपालिका–८, गाल्टारमा रहेको आफ्नै खानीबाट उत्खनन गरी ल्याउने गरिएको छ।
गाल्टार खानीबाट निकालिएको चुनढुंगा मिर्चैया–स्थित फ्याक्ट्रीसम्म पुर्याउन गाल्टार खानी बाहिर–कटारी बजार–सिम्ले–तावाश्री पुल सडक हुँदै सिद्धिचरण राजमार्गको कटारी–मिर्चैया सडक प्रयोग गरिँदै आएको छ। चुनढुंगा ढुवानीका क्रममा स्थानीय बस्ती र बजार क्षेत्रमा असर नपरोस् भन्दै स्थानीयले विरोध गर्दै आएका छन्।