मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ असोज १५ बिहीबार
  • Thursday, 01 October, 2026
२o८३ असोज १५ बिहीबार १o:२७:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

पाथीभरा मन्दिर जाने सडक १५ वर्षदेखि जीर्ण

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८३ असोज १५ बिहीबार १o:२७:oo
  • वार्षिक दुई लाखभन्दा बढी तीर्थयात्री आउजाउ गर्ने ११ किलोमिटर सडक निर्माणले पाएको छैन प्राथमिकता
  • आव ०६२/६३ मा पहिलोपटक पहिचान भएको सडक ६ वर्षपछि ०६८ मा ट्र्याक खोलिएको थियो, ०७८ मा कालोपत्रे गर्न ठेक्का लागे पनि पाँच वर्षमा ४० प्रतिशत मात्रै काम
  • सुकेटार काफ्लेपाटी ११ किलोमिटर सवारी साधनमा र थप चार किलोमिटर उकालो पैदल हिँडेपछि पुगिन्छ पाथीभरा मन्दिर

पूर्वी नेपालको प्रसिद्ध धार्मिक गन्तव्य पाथीभरा जाने मुख्य सडक सुकेटार–काफ्लेपाटी १५ वर्षदेखि कालोपत्रे हुन सकेको छैन । जसकारण पाथीभरा जाने तीर्थयात्रुहरूले बाटोको कारण सास्ती खेप्दै आएका छन् ।

बर्सेनि दसैँ–तिहारको समयमा पाथीभराका दर्शनार्थीहरू बढ्ने गर्दछन् । तर, मन्दिर दर्शन गर्न जाने तीर्थयात्रीहरूलाई जहिल्यै बाटोको असुविधाले सताउने गरेको छ । पाथीभरा मन्दिर जाने सडक आयोजना आव ०६२/६३ मा पहिलोपटक पहिचान भएको थियो । त्यसको ६ वर्षपछि ०६८ मा उक्त सडकमा ट्र्याक खोलेर आवातजावत सुरु गरिएको हो ।

पाथीभरा आउजाउ गर्ने तीर्थयात्रीहरू बढ्न थालेपछि फुङलिङ बजारदेखि सुकेटरसम्मको सडक मेची राजमार्गअन्तर्गत कालोपत्रे भएर सञ्चालनमा आएको छ । तर, सुकेटार विमानस्थलदेखि काफ्लेपाटीसम्मको १०.९६६ किलोमिटर बाटो भने ठेक्कालागेको पाँच वर्षसम्ममा ४० प्रतिशत मात्रै प्रगति भएको छ । 

उक्त सडक कालोपत्रे गर्न ११ पुस, ०७८ मा कन्टेक निर्माण प्रालिसँग ४१ करोड ७६ लाख ४७ हजारमा ठेक्का सम्झौता भएको थियो । सम्झौताअनुसार ११ पुस, ०८१ मा निर्माण सकिनुपर्ने थियो । तर, दुईपटक म्याद थप गरेर निर्माण अवधि आगामी २५ मंसिरसम्मका लागि तोकिएको छ । हालसम्म करिब ४० प्रतिशत मात्रै काम सम्पन्न भएकाले दोस्रोपटक थपिएको म्यादमा पनि काम नसकिने निश्चित छ ।

उक्त सडक खण्ड तमोर करिडोर (सुभाङखोला–दोभान–ओलाङचुङगोला) सडक योजनाअन्तर्गत पर्छ । सो सडक योजना प्रमुख सिंहबहादुर विष्टले म्याद अवधिभित्र ५० प्रतिशत काम सकिएमा फेरि म्याद थप हुने सक्ने जानकारी दिए । ठेकेदार कम्पनीले सुकेटारदेखि देउरालीसम्मको करिब चार किलोमिटर सडक मंसिरसम्ममा कालोपत्रे गर्ने प्रतिबद्धता जनाएको छ ।

गत आवमा दुई लाख ५२ हजार तीर्थयात्री पुगे पाथीभरा
पाथीभरा मन्दिर समुद्री सतहबाट तीन हजार सात सय ९४ मिटरमा उचाइमा छ । फुङलिङबाट काफ्लेपाटीसम्म १९ किलोमिटर सवारीसाधनबाट यात्रा गर्नुपर्छ भने चार किलोमिटर उकालो पैदल यात्रा गरी पाथीभरा मन्दिर पुग्न सकिन्छ । बर्सेनि पाथीभरा मन्दिर जाने भक्तजनको संख्या बढिरहेको छ । आर्थिक वर्ष ०८२/८३ मा दुई लाख ५२ हजार ७८ जना तीर्थयात्री पाथीभरा पुगेका थिए । अघिल्लो आव ०८१/८२ मा दुई लाख ३१ हजार तीन सय ३४ पर्यटक पाथीभरा पुगेका थिए । एक वर्षको अवधिमा २१ हजार तीर्थयात्री बढेका हुन् । 

↑