मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ असोज १५ बिहीबार
  • Thursday, 01 October, 2026
नयाँ पत्रिका काठमाडाैं
२o८३ असोज १५ बिहीबार o५:५५:oo
Read Time : > 1 मिनेट
प्रेरक प्रसंग प्रिन्ट संस्करण

प्रेरक प्रसंग : किशोर सुगाको उदासी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८३ असोज १५ बिहीबार o५:५५:oo

एक किशोर सुगा उदास थियो । उसकी आमाले सोधी– तिमी किन उदास छौ, छोरा ? छोराले रुन्चे स्वरमा भन्यो– म मेरो यो चुच्चोलाई घृणा गर्छु । आमाले छक्क पर्दै सोधी– किन, तिम्रो चुच्चो यति सुन्दर छ त ! छोरो सुगाले भन्यो– खुब छ नि सुन्दर ? मेरा अरू साथीको चुच्चो हेर्दा कति राम्रो छ । मेरो भने बांगो न बांगो र हेर्दै भद्दा छ । आखिर म किन यस्तो छु ?

आमाले छोरालाई उसको काकाकहाँ पठाइदिई । उसको काका त्यो जंगलभरिकै ज्ञानी प्राणीमा गनिन्थ्यो । किशोर सुगा काकाकहाँ पुगेपछि आफ्नो समस्या सुनाउँदै भन्यो– काका ! मलाई मेरो चुच्चो पटक्कै मन पर्दैन । काग, बाज, कोइलीजस्ता सबै चराको चुच्चो हेर्नुस् त कति सुन्दर छ । काका सुगाले भन्यो– हो, तिनको चुच्चो साँच्चै सुन्दर छ । साँच्ची तिमीलाई गँड्यौला, किरा, माकुरा खान मन पर्छ कि पर्दैन हँ ? 

किशोर सुगाले भन्यो– छिः ! त्यस्तो घिनलाग्दो कुरा कसले खान्छ ? काकाले भन्यो– ठिकै छ, त्यसो भए माछा खान्छौ त ? कि खरायो या मुसा खान्छौ ? छ्या ! काका पनि कस्तो कुरा गर्नुहुन्छ हो ? म एक सुगा हुँ । म यो सब खानका लागि बनेकै होइन क्या !

काका सुगाले भन्यो– हो, तिमीले ठिक भन्यौ । तिमीले त्यही त बुझ्नुपर्ने थियो नि ! ईश्वरले तिमीलाई अलग तरिकाले बनाएका छन् । तिमीलाई जे मिठो लाग्छ, तिम्रा साथीलाई त्यो मन पर्दैन । तिम्रा साथीलाई जे मन पर्छ, त्यो तिमीलाई मन पर्दैन । एकछिन सोच त तिम्रो चुच्चो तिम्रा साथीको जस्तो हुँदो हो त के तिमी स्वादिष्ट र पौष्टिक ओखर खान सक्थ्यौ ? त्यसैले, अरूसँग के छ भन्ने सोचेर आफ्नो समय बर्बाद नगर । आफूसँग जस्तो क्षमता छ, त्यसैको भरपूर उपयोग कसरी गर्न सकिन्छ, त्यसबारे मात्र सोच । 

काकाको कुराबाटै किशोर सुगाले आफ्नो समस्याको जवाफ पाइसकेको थियो । ऊ काकालाई धन्यवाद दिँदै खुसीसाथ आमाकहाँ फर्कियो ।
 

↑