दाङको बेलझुन्डीस्थित नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गत केन्द्रीय आयुर्वेद विद्यापीठले निःशुल्क विशेषज्ञ आयुर्वेद स्वास्थ्य शिविर सञ्चालन गरेको छ । मंगलबार विद्यापीठले आयोजना गरेको स्वास्थ्य शिविरबाट पाँच सयजनाले सेवा लिएको प्राचार्य मंगलकान्त झाले बताए । उनका अनुसार आयुर्वेद उपचार पद्धतिका विषयमा आमनागरिकलाई बुझाउनका लागि यो शिविर आयोजना गरिएको हो ।
शिविरमा आयुर्वेदका १४ वटै विषयगत विभागका विशेषज्ञ डाक्टर तथा चिकित्सा टोलीले सेवा प्रदान गरेका थिए। सेवाग्राहीहरूका लागि कायचिकित्सा, शल्यक्रिया तथा क्षारसूत्र, शालक्य (आँखा, नाक, कान तथा घाँटी), पञ्चकर्म, स्त्री रोग तथा प्रसूति सेवाका साथै विकृति विज्ञान (प्याथोलोजी) अन्तर्गत प्रयोगशाला परीक्षण सुविधाहरू उपलब्ध गराइएको थियो।
त्यस अवसरमा नेपाल संस्कृत विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा. जगन्नाथ रेग्मीले व्यक्तिगत स्वार्थ त्यागेर संस्कृत भाषा, वाङमय, आयुर्वेद, योग र प्राकृतिक चिकित्साको विकासका लागि आफू पूर्ण रूपमा समर्पित रहेको बताए । उनले विश्वविद्यालयको समग्र रूपान्तरणका लागि विगतका नकारात्मक भावहरू त्यागेर नयाँ विचार र उत्साहका साथ एक ढिक्का भएर अघि बढ्न आह्वान गरे ।
त्यस्तै, कुलसचिव प्रा.डा. नवराज कट्टेलले सीमित साधनस्रोतका बाबजुद विश्वविद्यालय तथा आयुर्वेद अध्ययन संस्थानको समग्र स्तरोन्नति र पूर्वाधार विकासका कामहरूलाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । उनले लुम्बिनी प्रदेश सरकारबाट प्राप्त तीन करोड रुपैयाँ बजेट प्रक्रियागत ढिलाइले फ्रिज भएपछि रोकिएको दुई सय शय्याको अस्पताल निर्माण योजनालाई पुनः ब्युँताउनेसमेत बताए। विद्यापीठले आगामी दिनमा स्थानीय तह तथा वडाध्यक्षहरूसँग समन्वय गरी दुर्गम गाउँपालिकाहरूमा एकीकृत स्वास्थ्य शिविरहरू सञ्चालन गर्ने लक्ष्य राखेको छ।
प्राचार्य झाको अध्यक्षतामा भएको कार्यक्रममा कार्यकारिणी परिषद् सदस्य रघुनाथ नेपाललगायतले मन्तव्य व्यक्त गरेका थिए । प्रशिक्षक सुरेन्द्र चौधरीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सहजीकरण प्रेम खड्काले गरेका थिए ।