मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ असोज १३ मंगलबार
  • Tuesday, 29 September, 2026
२o८३ असोज १३ मंगलबार o६:३o:oo
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

जमिन चर्किएपछि मकवानपुर ज्यामिरेका २५ घरपरिवारलाई सुरक्षित स्थानमा सारियो

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८३ असोज १३ मंगलबार o६:३o:oo
  • बागलुङ र मनाङमा थप दुई–दुईजनाको मृत्यु

लगातारको वर्षापछि मकवानपुरको बकैया गाउँपालिका– ६, तल्लो ज्यामिरेस्थित गरगरे बस्तीमा जमिन चिरिन थालेपछि २५ घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ । करिब दुई वर्गकिलोमिटर क्षेत्रमा जमिनमा चिरा देखिएको, केही भूभाग तलतिर सरेको र जमिनभित्रबाट अस्वाभाविक आवाजसमेत आएको गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेले बताए ।

‘बस्ती रहेको भूभाग तत्काल पहिरोका रूपमा खसिसकेको छैन । जमिनमा चिरा परेको छ, सडक र विद्युत्का पोलसमेत तलतिर सरेका छन्, बाटो सरेको छ,’ उनले भने, ‘यस्तो अवस्थामा ठुलो भूभाग थप सर्न सक्ने जोखिम देखिएपछि स्थानीयलाई घरभित्र नबस्न आग्रह गर्दै सुरक्षित स्थानमा सारिएको छ ।’ 

लामिछानेका अनुसार आइतबारदेखि नै बस्तीमा जमिन चिरिने र सर्ने क्रम देखिएको थियो । जोखिम क्षेत्रमा करिब ५० घरपरिवार बस्दै आएको उनले बताए । त्यसमध्ये बढी जोखिममा रहेका २४–२५ घरपरिवारका मानिस सुरक्षित स्थानमा सारिएको उनको भनाइ छ । स्थानीयलाई अस्थायी रूपमा आफ्ना आफन्तकहाँ र विद्यालयमा सारिएको छ ।

जमिन चिरिएको जानकारी पाएपछि गाउँपालिकाले आइतबार नै स्थानीयलाई नजिकको विद्यालयलगायत सुरक्षित स्थानमा सार्ने प्रयास गरेको थियो । तर, वर्षा रोकिएको र तत्काल अवस्था सामान्यजस्तो देखिएपछि केही स्थानीयले घर छाड्न नमानेको लामिछानेले बताए । ‘जमिन साबिकभन्दा करिब चार फिट तल सरेको देखिएको थियो । ठुलो भूभाग सर्न सक्ने जोखिम भएकाले हामीले त्यहाँ नबस्न भनेका थियौँ,’ उनले भने, ‘सुरुमा पानी रोकिएको र तत्काल केही नभएकोजस्तो देखिएकाले स्थानीय सर्न मान्नुभएको थिएन । तर, अहिले जोखिम बुझेर सुरक्षित ठाउँतर्फ जान थाल्नुभएको छ ।’

मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले जमिन चर्किएको क्षेत्र तुलनात्मक रूपमा समथर भएकाले अहिलेसम्म ठुलो पहिरोका रूपमा नखसे पनि अवस्था जोखिमपूर्ण रहेको बताए । उनले सोमबार नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोली घटनास्थल पुगेर जोखिममा रहेका स्थानीयलाई सुरक्षित स्थानमा सारेको बताए । ‘त्यो क्षेत्रको करिब दुई वर्गकिलोमिटर भूभाग चर्किएको छ । डाँडोजस्तो ठाडो नभई अलि समथर भएकाले एकैपटक पहिरोका रूपमा खसेको छैन,’ उनले भने, ‘तर, जमिन सरेको छ र हाम्रो टोली पुगेका वेला पनि अस्वाभाविक आवाज आएको बुझिएको छ ।’

अधिकारीका अनुसार तीनवटै सुरक्षा निकायको टोलीले बस्तीमा माइकिङ गरेर जोखिम क्षेत्रमा घरभित्र नबस्न र सुरक्षित स्थानमा जान आग्रह गरेको थियो । ५० घरपरिवार रहेको तल्लो ज्यामिरेमा तत्काल प्रभावित क्षेत्रका २४–२५ घरपरिवारलाई सुरक्षित ठाउँमा सारिए पनि पशुचौपाया र अन्य सम्पत्ति भने घरमै रहेको अधिकारीले बताए । उनले अहिले खुला र सुरक्षित स्थानमा बस्दा तत्काल जोखिम कम भए पनि चिरा परेको भूभागमा बनेका घरभित्र बस्नु सुरक्षित नदेखिएकाले स्थानीयलाई सारिएको बताए । प्रजिअ अधिकारीका अनुसार पुनः वर्षा भए जमिनमा परेको चिराबाट पानी पस्दा भूभाग थप सर्न सक्ने जोखिम छ । ‘जहाँ–जहाँ जमिन चर्किएको छ, त्यहाँ पानी पस्यो भने फेरि एक–दुई मिटर भूभाग सर्न सक्ने अवस्था हुन सक्छ,’ उनले भने, ‘सडकसमेत पहिलेको ठाउँबाट सरेको पाइएको छ । त्यसैले यसलाई सामान्य भनेर बस्ने अवस्था छैन ।’

बस्ती नै सार्नुपर्ने हो कि होइन, प्राविधिक अध्ययन गरिने
स्थानीय प्रशासन र गाउँपालिकाले अब गरगरे बस्ती दीर्घकालीन रूपमा बस्न योग्य छ वा छैन भन्ने प्राविधिक अध्ययन गराउने तयारी गरेका छन् । प्रजिअ अधिकारीले गाउँपालिकालाई भूगर्भीय अवस्था अध्ययन गर्न विज्ञ टोली माग गर्ने औपचारिक प्रक्रिया अघि बढाउन आग्रह गरेको बताए । ‘यो बस्ती तत्कालै स्थानान्तरण गर्नुपर्ने हो कि यहीँ सुरक्षित रूपमा बस्न सकिन्छ भन्ने कुरा प्राविधिकले हेर्नुपर्छ,’ उनले भने, ‘गाउँपालिकाबाट लिखित अनुरोध आएपछि हामी विपत् प्राधिकरणमा पठाउँछौँ । प्राविधिक टोली आएर जमिनको अवस्था अध्ययन गरेपछि मात्रै दीर्घकालीन निर्णय गर्न सकिन्छ ।’

गाउँपालिकाका अध्यक्ष लामिछानेले पनि जोखिम क्षेत्रको प्राविधिक अध्ययन गरेर मात्रै बस्तीको भविष्यबारे निर्णय गरिने बताए । उनका अनुसार स्थानीयको घरजग्गा र जीविकोपार्जनसमेत सोही ठाउँसँग जोडिएकाले स्थायी स्थानान्तरण गर्नुपरे वैकल्पिक व्यवस्थापनसहित निर्णय गर्नुपर्ने आवश्यकता छ । तल्लो ज्यामिरेमा यसअघि पनि जमिन सर्ने समस्या देखिएको अध्यक्ष लामिछानेले बताए । उनका अनुसार ०५६ तिर पनि जमिन चिरिएपछि स्थानीयलाई करिब एक महिनाका लागि अन्यत्र राखिएको थियो । वर्षायाम सकिएपछि उनीहरू पुनः पुरानै स्थानमा फर्केर बस्दै आएका थिए ।

 

↑