सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१२ स्थित व्यवस्थित शवदाह गृहमा नगरपालिका क्षेत्रबाहिरका शव जलाउन रोक लगाएको विषयमा नगरपालिकाले वडाध्यक्ष चन्द्र मुखियासँग २४ घन्टे स्पष्टीकरण मागेको छ।
नगरप्रमुख वीरेन्द्र माझीले वडाध्यक्ष मुखियालाई पत्र पठाउँदै शवदाह गृहमा अर्को पालिकाका शव जलाउन रोक लगाउने सूचना कुन आधारमा जारी गरिएको हो भनी लिखित जवाफ मागेका हुन्।
नगरप्रमुखले पठाएको पत्रमा नगरपालिकाभित्रका विभिन्न वडाका शव जलाउनसमेत रोक लगाइएको गुनासो आएको उल्लेख छ। साथै, यस विषयमा नगरपालिकाबाट कुनै निर्णय नभएको स्पष्ट गर्दै वडाध्यक्षले कुन आधारमा सूचना जारी गरेको हो भनी २४ घन्टाभित्र लिखित जवाफ पेस गर्न भनिएको छ।
मधेश प्रदेश सरकारको बजेटबाट निर्माण गरिएको उक्त शवदाह गृहमा नगरपालिका क्षेत्रबाहिरका शव जलाउन ‘सख्त मनाही’ गरिएको सूचना वडा नम्बर १२ का वडाध्यक्ष मुखियाले जारी गरेका थिए। निर्देशन बेवास्ता गरी बाहिरबाट ल्याइएको शव जलाएको पाइए कानुनबमोजिम कडा कारबाही गरिने मुखियाले चेतावनी दिएका थिए।
लगातारको वर्षा, बाढी तथा प्रतिकूल मौसमका कारण जिल्लाका विभिन्न स्थानमा मृतकको अन्तिम संस्कार गर्नसमेत कठिन भइरहेका वेला शवदाह गृहमा अर्को पालिकाका शव जलाउन रोक लगाइएपछि स्थानीयस्तरमा विरोध सुरु भएको छ।
विपतको समयमा अन्तिम संस्कारका लागि सहज सुविधा उपलब्ध गराउनुपर्नेमा भौगोलिक सीमा देखाएर शवदाह गृह प्रयोगमा रोक लगाइएको भन्दै विरोध भइरहेको छ। नागरिक अगुवा समीर झाले शवदाह गृहमा अर्को पालिकाका शव जलाउन रोक लगाउने निर्णय अमानवीय भएको भन्दै आपत्ति जनाए।
दाहसंस्कारमा पनि भौगोलिक सीमा तोक्नु उचित नभएको तर्क गर्दै उनले प्रश्न गरे, ‘दाहसंस्कारको पनि कुनै निश्चित क्षेत्र वा सीमा हुन्छ र? त्यसो हो भने पशुपतिनाथमा देशैभरका शवको अन्तिम संस्कार किन गर्न दिइन्छ?’
यस विषयमा नयाँ पत्रिकाले सोमबार नै ‘शवदाह गृहमा पनि पालिकाको सीमा, अर्को पालिकाका शव जलाउन रोक’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो।