गृहमन्त्रीको सचिवालयसम्म कनेक्सन छ भनी अडियो संवाद गर्ने व्यक्ति पक्राउ परेका छन्। बाँकेको नेपालगन्ज उपमहानगरपलिका–४ घर भई काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–५ बस्ने ३७ वर्षीय आशिष मल्ल भन्ने धर्मराज मल्ल सोमबार पक्राउ परेका हुन्।
सामाजिक सञ्जालमा गृहमन्त्रीसम्म पहुँच भएको भन्ने अडियो सार्वजनिक भएपछि सोधपुछ गर्न खोज्दा मल्लले प्रहरी टोलीलाई नै गाली गलौज गर्दै सार्वजनिक स्थानमा अशान्ति सिर्जना गरी अभद्र व्यवहार गरेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार मल्लको सिआरएस विवरण चेकजाँच गर्दा उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय बाँकेमा ६ वटा मुद्दा दर्ता रहेको खुलेको छ। उनीमाथि ठगीसम्बन्धी एक, अभद्र व्यवहारमा तीन, बैंकिड कसुरमा एक र दूरसञ्चार ऐनमा एक मुद्दा दर्ता छ।
मल्ललाई नियन्त्रणमा लिई अभद्र व्यवहार गर्न नहुने कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट दुई दिनको म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।