अविरल वर्षा, हावाहुरी र बाढीपहिरोले देशको पश्चिम क्षेत्रमा रहेका ऊर्जाका संरचनामा क्षति पुग्दा विद्युत् उत्पादनदेखि प्रसारण र वितरण अवरुद्ध भएको छ । गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न भागमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ ।
विद्युत् प्राधिकरणका अनुसार कालीगण्डकी करिडोर दुई सय २० केभी प्रसारणलाइनअन्तर्गत म्याग्दीको दानादेखि पर्वतको कुश्मासम्मको खण्डमा टावर नम्बर २१ र २२ मा क्षति पुगेको छ । त्यस्तै, कालीगण्डकी करिडोरअन्तर्गत कुश्मा–नयाँ बुटवल खण्डको प्रसारणलाइनमा समेत फल्ट आएको छ । यसका कारण करिडोर प्रसारणलाइनमा जोडिएका करिब दुई सय मेगावाट विद्युत् उत्पादन प्रभावित भएको छ ।
बाढीका कारण एक सय ४० मेगावाटको कालीगण्डकी, २५ मेगावाटको माथिल्लो मादी, ४४ मेगावाटको सुपर मादी, २० मेगावाटको नामार्जुन मादी, ४० मेगावाटको सेती नदी, २५ मेगावाटको अपर दोर्दी, ५० मेगावाटको माथिल्लो मस्र्याङ्दी, ७० मेगावाटको मध्यमर्स्याङदी , ६९ मेगावाटको मस्र्याङ्दी, मोदीलगायतका जलविद्युत् आयोजनाको विद्युत् उत्पादन बन्द भएको छ । राहुघाट जलविद्युत आयोजनाको भने टेलेरेसमा क्षति पुगेको छ ।
प्राधिकरणका प्रवक्ता राजन ढकालले प्रसारणलाइन तथा वितरणलाइन क्षतिग्रस्त बनाएका कारण विद्युत् उत्पादन प्रभावित भएको बताए । ‘त्यसले आपूर्ति पनि प्रभावित बनाएको हो । अधिकांश परियोजनामा सम्भावित क्षति रोक्न उत्पादन बन्द गरिएको हो । अवस्था सामान्य हुनासाथ सञ्चालनमा आइहाल्छ,’ उनले भने ।
बाढीपहिरोका कारण दुई सय २० केभी, एक सय ३२ केभी, ३३ केभी र ११ केभीका प्रसारण तथा वितरण संरचनामा समेत क्षति पुगेको छ । क्षतिको प्रारम्भिक विवरण संकलन, विद्युत् आपूर्ति अवरोध भएका क्षेत्रको पहिचान, वैकल्पिक माध्यमबाट आपूर्ति सञ्चालन तथा क्षतिग्रस्त संरचनाको तत्काल मर्मतका लागि प्राविधिक तथा मर्मत टोली विभिन्न प्रभावित क्षेत्रमा परिचालन गरिएको प्राधिकरणले जनाएको छ ।
प्रसारणलाइनको क्षति चिन्ताजनक भएको प्रवक्ता ढकालले बताए । ‘अहिले चिन्ताजनक अवस्था भएको दुई सय २० केभीको कालीगण्डकी करिडोरमा हो । दुई सय २० केभी कालीगण्डकी करिडोरमा झन्डै तीन सय ५८ मेगावाट विद्युत् प्रवाह हुन्छ । पहिरोले त्यो प्रसारणलाइनको दुई–तीनवटा टावर प्रभावित बगाएको छ,’ उनले भने, ‘अहिले क्षतिग्रस्त ठाउँमा पुग्न सकिएको छैन । टावरको जग सकुशल भएमा धेरै समय लाग्दैन । तर, जग बगाएको छ भने त्यसमा टाइम लाग्न सक्छ । उत्पादन परियोजनाको तुलनामा प्रसारणलाइनको पुनर्निर्माण कठिन हुन्छ । कन्डक्टर, (तार), टावरको पार्टपुर्जा ढुवानी तथा जडान, पहुँचमार्ग अभावलगायतका कारण यसमा जटिलता हुन्छ ।’
अविरल वर्षाका कारण मधेशमा समेत विद्युत्का संरचनामा क्षति पुगेको छ । मधेश प्रादेशिक कार्यालयअन्तर्गत ७८ थान पोल ढलेका र १४ थान वितरण ट्रान्सफरमरमा क्षति पुगेको प्राधिकरणले जनाएको छ । प्राधिकरणबाट विद्युत् संरचनामा क्षति पुगेका कारण केही स्थानमा आपूर्ति प्रभावित भए पनि उपलब्ध वैकल्पिक व्यवस्थाबाट विद्युत् आपूर्ति निरन्तरता दिन तथा सम्भव भएसम्म छोटो समयमा नियमित आपूर्ति पुनस्र्थापित गर्न सबै स्रोतसाधन परिचालन गरिएको उनले बताए । विपत्को अवस्थामा उपभोक्तालाई संयमित रहन तथा क्षतिग्रस्त विद्युत् संरचना, ढलेका तार वा पोलनजिक नजान प्राधिकरणले आग्रह गरेको छ ।
प्रसारणलाइन र वितरणलाइनमा क्षति बढी छ
राजन ढकाल, प्रवक्ता, नेपाल विद्युत् प्राधिकरण
पछिल्लो बाढीपहिरोले राहुघाटको टेलेरेसबाहेक उत्पादन परियोजनामा खासै असर गरेको छैन । मुख्यतः प्रसारणलाइन तथा वितरणलाइन क्षतिग्रस्त बनाएका कारण विद्युत् उत्पादन प्रभावित भएको छ । त्यसले आपूर्ति पनि प्रभावित बनाएको हो । अधिकांश परियोजनामा सम्भावित क्षति रोक्न उत्पादन बन्द गरिएको हो । अवस्था सामान्य हुनासाथ सञ्चालनमा आइहाल्छ ।
अहिले अलि चिन्ताजनक अवस्था भएको दुई सय २० केभीको कालीगण्डकी करिडोरमा हो । दुई सय २० केभी कालीगण्डकी करिडोरमा झन्डै तीन सय ५८ मेगावाट विद्युत् प्रवाह हुन्छ । पहिरोले त्यो प्रसारणलाइनका दुई–तीनवटा टावर बगाएको छ । उत्पादन परियोजनाको तुलनामा प्रसारणलाइनको पुनर्निर्माण कठिन हुन्छ । आर्थिक क्षति कति भयो भनेर मूल्यांकन गर्न सकिएको छैन । केही दिनमा आर्थिक क्षति पनि मूल्यांकन गर्छाैँ ।
न कसरी गरिँदै छ विद्युत् आपूर्ति पुनर्स्थापना ?
विद्युत् आपूर्ति अवरुद्ध भएका स्थानमा सम्भव भएसम्म वैकल्पिक फिडर तथा अन्य उपलब्ध प्रसारणर वितरण संरचनामार्फत विद्युत् आपूर्ति सुचारु गर्ने व्यवस्था मिलाइएको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले बताए । क्षतिग्रस्त संरचनाको अवस्था मूल्यांकन गरी आवश्यक उपकरण, सामग्री र जनशक्ति परिचालन गरेर आपूर्ति क्रमशः पुनर्स्थापना गर्ने कार्य भइरहेको उनले बताए ।
कार्यकारी निर्देशक श्रेष्ठले प्राकृतिक विपत्का कारण विद्युत् संरचनामा क्षति पुगे पनि उपभोक्ताको विद्युत् आपूर्ति यथाशीघ्र सुचारु गर्न प्राधिकरणले उच्च प्राथमिकताका साथ काम गरिरहेको बताए । उनका अनुसार भारी वर्षा, बाढीपहिरो र अवरुद्ध सडकका कारण कतिपय प्रभावित क्षेत्रमा प्राविधिक टोली पुग्न कठिनाइ भइरहेको छ । सडक तथा पहुँचमार्ग खुल्नेबित्तिकै थप प्राविधिक टोली र आवश्यक उपकरण परिचालन गरी क्षतिग्रस्त संरचनाको मर्मत तथा विद्युत् आपूर्ति पुनस्र्थापनाको काम तीव्र बनाइने उनले बताए ।
प्युठान जिल्लामा अर्घाखाँची जिल्लाबाट सप्लाई भएको ३३ केभीको लाइन आइतबार बेलुकीसम्म चालू हुने सम्भावना रहेको प्राधिकरणले जनाएको छ । यसबाट प्युठान जिल्लाको सदरमुकामलगायत धेरै स्थानमा विद्युत् सप्लाई चालू हुनेछ । लमही–झिम्रुक एक सय ३२ केभी लाइनको दाङको मुर्कुटीमा चुँडिएको कन्डक्टर पनि आइतबार राति नै सञ्चालनमा ल्याउने प्राधिकरणले उल्लेख गरेको छ ।
एक सय ३२ केभी लाइन चालू भएपश्चात् प्युठान जिल्लामा पूर्ण रूपमा र रोल्पाको सदरमुकाम लिबाङलगायत पूर्वी भागमा विद्युत् सेवा चालू हुनेछ । रोल्पाको पश्चिम भेग होलेरी क्षेत्रमा कार्य गर्नलाई टोली आइतबार बिहानैदेखि खटाइसकेको छ । सो स्थानमा सोमबारसम्ममा विद्युत् सुचारु हुनेछ । रुकुम पूर्वमा सल्यान हुँदै गएको लाइन सल्यान वितरण केन्द्रअन्तर्गतको क्षेत्रमा अवरुद्ध छ । पहिरोसँगै पोलहरू गएको बुझिएकाले सोलाई सोमबारसम्ममा रिस्टोर गरिने प्राधिकरणले उल्लेख गरेको छ । हाल रुकुम पूर्वको सदरमुकाम रुकुमकोटमा स्थानीय राप्ती हाइड्रोबाट सप्लाई गरिएको छ ।