सरकारले चिकित्सक र अस्पतालमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्ने गरी ऐनको मस्यौदा संशोधन गरेको छ । अस्पतालमा तोडफोड, आगजनी गर्ने र चिकित्सकमाथि कुटपिट तथा आक्रमण गर्नेमाथि चर्को जरिवाना र सजायको व्यवस्थासहितको ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३’ बिहीबार संसद्मा दर्ता भएको छ ।
स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयका अनुसार अस्पताल र स्वास्थ्यकर्मीमाथि आगजनी, तोडफोड र हातपात गर्नेमाथि दण्ड–सजाय बढाइएको छ । हालसम्मको कानुनमा कैद वा जरिवानामध्ये एउटा सजाय मात्रै हुन सक्थ्यो । नयाँ विधेयकले दोषी ठहरिए कैद र जरिवाना दुवै भोग्नुपर्ने व्यवस्था समेटेको छ ।
हिंसात्मक घटनामा संलग्नमाथि दुई वर्षदेखि पाँच वर्षसम्म कैद र दुईदेखि पाँच लाखसम्म जरिवाना हुनुपर्ने प्रस्ताव गरिएको छ । यसअघि सोही सजायमा कैद वा दुईदेखि पाँच लाख जरिवाना भन्ने थियो । तर, त्यो ‘वा’ भन्ने शब्द हटाएर दुवै सजाय हुने व्यवस्था विधेयकमा गरिएको स्वास्थ्यमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. मनोहर प्रधानले बताए । ‘चिकित्सक र स्वास्थ्यकर्मीमाथि हिंसाका विभिन्न घटना भइरहेका छन्, त्यसकारण पनि ऐन संशोधन गर्नुपर्ने आवश्यकता देखियो,’ उनले भने, ‘ऐन बलियो भयो भने हिंसाका घटना पक्कै कम हुन्छन् ।’
पछिल्लो समय स्वास्थ्य संस्थामा तोडफोड, आक्रमण र स्वास्थ्यकर्मीमाथिको हिंसात्मक घटना निरन्तर बढिरहेका छन् । नेपाल मेडिकल काउन्सिलका अनुसार पछिल्लो एक वर्षमा मात्रै एक दजर्नभन्दा बढी चिकित्सकमाथि कुटपिटका घटना भएका छन् । ६ वटा स्वास्थ्य संस्थामा तोडफोडका घटना भएका छन् । जसका कारण चिकित्सक र स्वास्थ्य संस्था सुरक्षित नभएको, उपचारमा बाधा पुगेको र यस्ता किसिमका घटनाले बिरामीको उपचार पाउने हकसमेत बिथोलिएको भन्दै ऐन संशोधन थालिएको मन्त्रालयले जनाएको छ ।
विधेयकमा अस्पताल तथा स्वास्थ्यकर्मीमाथि आक्रमण र अस्पताल तोडफोड गर्न उक्साउने वा दुरुत्साहन गर्ने व्यक्तिलाई समेत कानुनी दायरामा ल्याएर सजाय गर्नुपर्ने प्रावधान थप गरिएको छ । यसअघिको ऐनमा उक्त व्यवस्था थिएन । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार नयाँ विधेयकअनुसार स्वास्थ्य संस्थामा तोडफोड, आगजनी वा गम्भीर क्षति पुर्याए दुईदेखि पाँच वर्षसम्म कैद हुनेछ । साथै, दुई लाखदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना पनि तिर्नुपर्नेछ । यो व्यवस्था विधेयकको दफा १५ (२) को खण्ड (क) मा राखिएको छ ।
चिकित्सकमाथि पनि हुन सक्छ कडा सजाय
पछिल्लो समय स्वास्थ्यकर्मी र अस्पतालमाथि तोडफोडका घटना बढेपछि पुरानो ऐन संशोधन प्रक्रिया अघि बढाइएको थियो । चिकित्सकले उपचारमा लापरबाही गर्दा पनि सजाय तथा कसुरको व्यवस्था छ । हाल कार्यान्वयनमा रहेको कानुनअनुसार बिरामीको उपचारमा लापरबाही गर्ने चिकित्सकलाई कैद, जरिवाना, क्षतिपूर्ति र चिकित्सकको लाइसेन्समा कारबाही हुनेसम्मको कानुनी व्यवस्था छ । मुलुकी अपराध संहिता, २०७४ को (दफा २३२) मा उक्त व्यवस्था छ ।
त्यस्तै, नेपाल मेडिकल काउन्सिलको आचारसंहिताले पनि लापरबाही गर्ने चिकित्सकलाई कारबाही तोकेको छ ।
डाक्टरको लापरबाहीबाट बिरामीको मृत्यु वा अंगभंग भएमा पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुनेछ । त्यस्तै, हेलचेक्र्याइँका कारण मृत्यु वा अंगभंग भएमा तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुन सक्छ । बदनियतले गलत उपचार गरी मृत्यु भएमा जन्मकैदको सजाय हुने व्यवस्था छ भने इजाजतविना उपचार गर्ने व्यक्तिले उपचार गर्दा मृत्यु गराए पनि जन्मकैदको सजाय हुन सक्छ । लापरबाहीको अवस्था हेरेर अदालतले पीडितलाई क्षतिपूर्ति दिलाउन पनि आदेश दिन सक्छ । निश्चित अवधिसम्म लाइसेन्स निलम्बन र नाम दर्ताबाट स्थायी रूपमा हटाउन सक्छ । स्वास्थ्यमन्त्रीका कानुनी सल्लाहकार सुस्मिता क्षेत्रीले चिकित्सकका गल्तीमा कारबाही हुने व्यवस्था यसअघिकै ऐनमा भएकाले चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हुने घटना रोक्न ऐन संशोधन थालिएको बताइन् ।
बिरामीप्रति पनि जिम्मेवार बन्न जनस्वास्थ्यविद्को सुझाव
हाल चिकित्सकमाथि हुने लापरबाहीका घटना रोक्न बिरामी पक्षका व्यक्तिलाई पनि कडा कारबाही हुने व्यवस्था ल्याउँदा चिकित्सकहरू आफ्नो कार्यमा थप जिम्मेवार हुनुपर्ने बताए । ‘नेपालमा चिकित्सकीय कमी–कमजोरीका घटना पनि वेलाबखत देखिन्छन्, उपचाररत बिरामीको मृत्युपछि आफन्तहरू आक्रोशित हुन्छन्, उनीहरूलाई अब दण्ड–सजाय कडा बन्दै छ, अस्पताल र स्वास्थ्यकर्मीमाथि आक्रमण बिरामी पक्षबाट मात्रै हुँदैन,’ उनले भने ।
स्वास्थ्यमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. मनोहर प्रधान भन्छन्– चिकित्सक र स्वास्थ्यकर्मीमाथि हिंसाका विभिन्न घटना भइरहेका छन्, त्यसकारण पनि ऐन संशोधन गर्नुपर्ने आवश्यकता देखियो । ऐन बलियो भयो भने हिंसाका घटना पक्कै कम हुन्छन् ।