भोटेकोशी बाढीको एक महिनामै देशले अर्काे ठुलो विपत्को सामना गर्नुपरेको छ । बिहीबारदेखिको अविरल वर्षापछि आएको बाढी पहिरोले विभिन्न जिल्लामा ठुलो मानवीय तथा भौतिक क्षति भएको छ । तीन दिनको बाढी पहिरोमा २४ जनाको मृत्यु भएको र १४ जना बेपत्ता भएका छन् । बाढीले तराईका केही जिल्लामा डुबान र कटान गरेको छ ।
बाढी पहिरोले मनाङ, म्याग्दी, बागलुङ, पर्वत, पाल्पालगायत जिल्लामा ठुलो क्षति पुर्याएको छ । आइतबार राति अबेरसम्म खोज तथा उद्धार जारी रहेकाले सम्पूर्ण विवरण आइसकेको छैन ।
गण्डकीका बागलुङमा १०, म्याग्दीमा ६ र मनाङमा दुई तथा लुम्बिनीको पाल्पामा पाँचजनाको ज्यान गएको छ । त्यस्तै, पहिरोमा परेर धनुषाको मिथिला नगरपालिका– १० आँपगाछीमा एकजनाको मृत्यु भएको छ । यो बिहीबारयताको तथ्यांक हो ।
बाढी–पहिरो प्रभावित जिल्लामा १४ बेपत्ता छन् । मनाङमा १०, म्याग्दीमा ३ र बाग्लुङमा १ जना बेपत्ता रहेको प्रहरी तथ्यांक छ । त्यस्तै, लम्जुङमा २ तथा बाग्लुङ र म्याग्दीमा १–१ जना घाइते भएका छन् । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यसपालि कालीगण्डकी नदीले धेरै क्षति पुर्याएको छ । त्यस्तै, नारायणी र तिनाउ खोलाले पनि कटान र डुबान गरेको छ । बाढी र पहिरोबाट ७४७ परिवार प्रत्यक्ष रूपमा प्रभावित भएको प्राधिकरणले जनाएको छ । १४३ घर पूर्ण रूपमा र ५१ घर आंशिक रूपमा क्षतिग्रस्त भएका छन् ।
गण्डकीमा १८ को मृत्युगण्डकी प्रदेशमा मात्रै १८ जनाको मृत्यु भएको छ भने १४ बेपत्ता छन् । यो पछिल्लोपटक पानी पर्न थालेको बिहीबारयताको तथ्यांक हो । बागलुङमा एकै परिवारका चारसहित १०, म्याग्दीमा ६ र मनाङमा दुईजनाको ज्यान गएको हो । प्रदेशका विभिन्न जिल्लामा गरी ४३० घरका गरी एक हजार पाँच सयजना विस्थापित भएका छन् ।
बागलुङको निसीखोला गाउँपालिका– ३ स्थित श्यामकुमारी विकको घर पहिरोमा पुरिँदा उनीसहित छोराहरू १२ वर्षका मनोज विक, नौ वर्षका मुकेश विक र पाँच वर्षका निसन विकको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय गण्डकीका सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए । बिहान करिब ५ बजेको समयमा घरमाथिबाट खसेको पहिरोले घर पुरिएपछि घरमा सुतिरहेका उनीहरूसमेत पुरिएर मृत्यु भएको हो ।
त्यस्तै, म्याग्दीमा अन्नपूर्ण गाउँपालिका– ८, काफ्लेडाँडाका १९ वर्षीय सविन गर्बुजा, अन्नपूर्ण– ३, फगामकी ५४ वर्षिया योमाया पाईजा र ७५ वर्षीया शिलकुमारी गर्बुजा, अन्नपूर्ण– ६, गिवाङका ५ वर्षीय जेनी पुर्जा, मालिका गाउँपालिका– ३, डाँडागाउका ३१ वर्षीय चिरण पुन र २८ वर्षीय देवबहादुर पुनको मृत्यु भएको छ । अन्नपूर्ण– ६, गिवाङका ७५ वर्षीय ओमबहादुर तिलिजा, अन्नपूर्ण– ८, काफलडाँडाका २१ वर्षीय मनोज गर्बुजा र बेनी नगरपालिका– ३ की कमारी विक बेपत्ता रहेको म्याग्दीका डिएसपी राजन कार्कीले बताए ।
त्यस्तै, आइतबारै मनाङमा दुईजनाको मृत्यु भएकोमा परिचय खुल्न बाँकी रहेको जिप्रका मनाङका निमित्त प्रमुख प्रहरी निरीक्षक विनोद बोहराले जानकारी दिए । वर्षापछि मनाङको नार्पाभूमि गाउँपालिका– ५ स्थित हिम्लुङ हिमालमा हिउँपहिरो गएको र हिमाल आरोहणमा गएका नौ पर्वतारोही र १३ सहयोगी गरी २२ जनामध्ये दुईजनाको शव फेला परेको बोहराले जानकारी दिए । बाँकी १० जना नार्फाको फु गाउँमा सम्पर्कमा आएका र अन्य १० जनाको अवस्था अज्ञात रहेको उनले बताए । उनीहरूको खोजी एवं उद्धारका लागि काठमाडौंबाट हेलिकोप्टर परिचालन गरिएको भए पनि मौसम खराबीका कारण आइतबार खोजीकार्यमा अवरोध भएकाले सोमबार बिहानबाट उनीहरूको खोजी सुरु गर्ने उनले जानकारी दिए ।
मनाङको नासों गाउँपालिका– १, तालगाउँमा मस्र्याड्दी नदी र ठाडो खोलाको बहाबले १५–१६ घर तथा होटेलहरू डुबानमा परेका छन् । वर्षापछिको बाढी र पहिरोले गर्दा मनाङमा १० सँगै म्याग्दीमा तीन र बागलुङमा एकजना बेपत्ता भएका छन् । लमजुङमा दुई, बागलुङ र म्याग्दीमा एक–एक गरी चारजना घाइते भएका छन् । प्रदेशका १९५ घरमा पूर्ण, २६ घरमा आंशिक र २७० घर जोखिममा परेका छन् । बाढीपहिरोका कारण ४३५ घरका गरी एक हजार पाँच सयजना विस्थापित भएका छन् । प्रदेशका ११ जिल्लामध्ये सबैभन्दा धेरै भौतिक क्षति पर्वतमा भएको छ । पर्वतका १०६ घर पूर्ण र चार घरमा आंशिक क्षति पुगेको छ । त्यस्तै, १६२ घरका ५४० जना विस्थापित भएका प्रदेश प्रहरी कार्यालय गण्डकीका सूचना अधिकारी कोइरालाले जानकारी दिए ।
बाढीपहिरोका कारण ६ पुलमा पूर्ण र दुई पुलमा आंशिक क्षति पुगेको छ । तीन सरकारी कार्यालय पूर्ण र तीनमा आंशिक क्षति पुगेको छ । विभिन्न स्थानमा गरी १५ गोठमा पूर्ण र दुई गोठमा आंशिक क्षति पुगेको छ । गोठमा पुगेको क्षतिका कारण ४४ पशुको मृत्यु भएको छ । तीन दुईपांग्रे र १५ चारपांग्रे सवारीसाधनमा समेत बाढीपहिरोका कारण क्षति पुगेको छ ।
कालीगण्डकीको बाढीले स्याङ्जा र गुल्मी जोड्ने पक्की पुल बगाएको छ । वर्षाले एक–दुई दिन अघिदेखि नै पुलको आसपासमा क्षति पु¥याएकोमा आइतबार बिहान आएको बाढीले पुल बगाएको हो । पुल बगाएपछि दुई जिल्ला जोड्ने सडकमार्ग बन्द भएको छ । नदीमा पानीको बहाबसँगै सतह बढेपछि स्याङ्जाको बेल्टारीमा सञ्चालित १४४ मेगावाट क्षमताको कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाको मिर्मीस्थित बाँधका तीनवटै ढोका पूर्ण रूपमा खोलेर विद्युत् उत्पादन बन्द गरिएको छ ।
बाढीका कारण कालीगण्डकी करिडोर २२० केभी प्रसारणलाइनमा पर्ने म्याग्दीको दानादेखि पर्वतको कुश्मासम्मको खण्डमा रहेका २१ र २२ नम्बर टावरमा क्षति पुगेको छ । कुश्मा–नयाँ बुटवलखण्डको प्रसारणलाइनमा समेत समस्या आएपछि जोडिएका ३५८.२ मेगावाट विद्युत् उत्पादन प्रभावित भएको छ । नीलगिरि, राहुघाटलगायत विभिन्न जलविद्युत् आयोजनामा बिजुली उत्पादन अवरुद्ध भएको हो ।
कालीगण्डकीको बाढी बस्तीमा पसेपछि पर्वतको जलजला गाउँपालिका– ८, फसेका २५ घर बगाएको छ । नदीको बहाब बढेर बस्तीमा पसेसँगै रहेका ८० घरमध्ये २५ वटा घर बाढीले बगाउँदा अन्य घरहरू उच्च जोखिममा रहेका छन् । यसैगरी बाढीका कारण पर्वतको बिहादी गाउँपालिका– ६ तर्फ ३०, स्याङ्जाको गल्याङ नगरपालिका– ५ तर्फका २० घरसमेत डुबानमा परेका छन् ।
गोरखाको सहिद लखन गाउँपालिका– ३ सिलिङटारस्थित सिलिङटार र पृथ्वी राजमार्ग जोड्ने सिलिङटारको झोलुंगे पुल त्रिशूली नदीमा पानीको सतह बढेसँगै मानिस आवतजावत गर्न नमिल्ने अवस्थामा पुगेको छ । वर्षाका कारण चुमनुब्री– ३, पैँयुमा पहिरो खस्दा लार्के सडकसमेत अवरुद्ध भएको छ ।
स्याङ्जाका विभिन्न स्थानमा ठाउँमा पहिरो जाँदा सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । स्याङ्जाको चापाकोट नगरपालिका– १०, बायोडाँडास्थित चापाकोट–मिर्दी सडकखण्डमा माथिबाट पहिरो खसेको छ । त्यस्तै, गल्याङ नगरपालिका– ३ चिन्नेपानीमा सिद्धार्थ राजमार्गमा सडकभन्दा माथिबाट पहिरो खसेको, राजमार्गको तिनधारे, बसपार्क, बर्जा, बगालेथोकस्थित सडकखण्डमा लगातार माथिबाट लेदोसहितको पहिरो खसेर अवरुद्ध भएकोमा हाल एकतर्फी नियमित भएको छ ।
कास्कीको अन्नपूर्ण गाउँपालिका– ११ घान्द्रुकस्थित प्रहरी चौकीको माथिबाट ढिस्को खस्दा चौकीको दायाँ साइडमा रहेको भवनको मेसिनरी वालसँगै ब्लक र टिनले बनेको दाउरा राख्ने र खाना बनाउन प्रयोग भएको टिनको छाप्रो पुरिएको छ । पहिरोले क्षति पु¥याएपछि चौकीमा रहेका ६ प्रहरी कर्मचारी स्थानीय मुससुभा आमा समूहको भवनमा बसेका छन् ।
मनाङको चामेबजारमाबाढी पसेपछि स्थानीय गुम्बा र तालडाँडातिर
मनाङमा बाढीले सदरमुकाम चामेबजारका कम्तीमा पाँच घर र चार पुल बगाएको छ भने मनाङ ङिस्याङ र नार्पाभूमि गाउँपालिका सञ्चार सम्पर्कविहीन भएका छन् । शनिबार राति ठाडो खोलामा आएको बाढीले चामे गाउँपालिका क्षेत्रमा पाँच घर बगाएको हो । अन्य केही घरमा समेत क्षति पुगेको चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्र घलेले जानकारी दिए । उनका अनुसार चामेबजारबिचको घट्टेखोलामा रहेको पुल, कोतोबाट चामे जोड्ने तिर्चुङाल्डा पुल, नयाँबजारतर्फको पुललगायत चारवटा पुल बाढीले बगाएको छ । पुल बगेपछि स्थानीयको आवतजावत प्रभावित भएको छ ।
सिडिओ मुक्तिप्रसाद खनालका अनुसार नासों गाउँपालिकाका सडक तथा झोलुंगे पुलमा क्षति पुगेको छ भने चामेमा पुल र घरहरू बगेका छन् । बाढीका कारण माथिल्लो मनाङका मनाङ ङिस्याङ र नार्पाभूमि गाउँपालिकासँग सञ्चारसम्पर्क हुन नसकेको उनले बताए । हालसम्म बाढीबाट मानवीय क्षति भने नभएको प्रजिअ खनालले बताए ।
यसैबिच, मस्र्याङ्दी नदीमा आएको बाढीले नासों गाउँपालिका– १ स्थित तालगाउँमा समेत क्षति पु¥याएको छ । करिब ६५ घरधुरी रहेको तालगाउँका ११ घर पूर्ण रूपमा डुबानमा परेका छन् भने अन्य केही घरमा समेत बाढी पसेको छ । स्थानीय भानु माविका शिक्षक सिंहबहादुर गुरुङले तालगाउँका ११ घर डुबानमा परेको बताए ।उनका अनुसार स्थानीयहरू गुम्बा र तालडाँडातिर सुरक्षित स्थानमा सरेका छन् । उनले भने, ‘चामेमा नदी थुनिएको छ, कति वेला के हुन्छ थाहा छैन । हामी सुरक्षित स्थानमा बसेका छौँ र स्थानीयलाई पनि सुरक्षित स्थानमा बस्न आग्रह गरेका छौँ ।’
मस्र्याङ्दीले गाउँको दुवैतर्फको सडक कटान गरेपछि तालगाउँको बाहिरी क्षेत्रसँगको आवागमन प्रभावित भएको छ । वडाध्यक्ष मीनराशि गुरुङका अनुसार सिरानताल हुँदै मनाङतर्फ जाने सडक र बेँसीसहर–चामे सडकखण्ड दुवैतर्फ नदीले कटान गरेको छ । बाढीका कारण मनाङमा सडक, पुल, विद्युत् र सञ्चार संरचनामा क्षति पुगेपछि यातायात तथा मानिसको आवतजावत प्रभावित भएको छ ।
पहिरोमा पुरिएर पाल्पामा पाँचजनाको मृत्यु
पाल्पामा नारायण घिमिरे
घर पहिरोमा पर्दा पाल्पामा रिब्दीकोट गाउँपालिका–६, धुस्तुङकी ५९ वर्षीया कृष्णकुमारी सारू, माथागढी– २, रुपसेका ७५ वर्षीय शेरबहादुर चिदी तथा माथागढी–३, भसकट्टाका ७५ वर्षीय लीलबहादुर घर्ती, १७ वर्षीया दिना घर्ती र १५ वर्षीया झरना घर्तीको मृत्यु भएको छ । सारू शुक्रबारदेखि पहिरोमा परेर बेपत्ता थिइन् । त्यस्तै, चिदीको घरमा राति पहिरो खसेर घाइते भएकामा पाल्पा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । लीलबहादुर, दिना र झरनाको पनि आइतबार बिहान पहिरोमा परेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाका डिएसपी भीमलाल भट्टराईले बताए ।
नारायणी नदीमा पानीको सतह इतिहासकै उच्च : गैँडाकोटलगायत क्षेत्रमा डुबान, सुस्ताका बासिन्दालाई नारायणीवारि सारियो
नवलपरासीमा रामकुमार श्रेष्ठ
नारायणी नदीमा पानीको बहाब इतिहासकै उच्च विन्दुमा पुगेको छ । आइतबार दिउँसो २ः१३ बजे जल मापन केन्द्र देवघाटमा पानीको सतह ११.९१ मिटर पुगेको हो । यो इतिहासकै रेकर्ड ब्रेक भएको जल मापन केन्द्र देवघाटका सुमित अधिकारीले जानकारी दिए । १२ असोज ०८१ मा ११ दशमलव ६ मिटर पुगेको थियो । नारायणीमा पानीको सतह ७.३० मिटर पार गर्नुलाई मापदण्डभन्दा माथि गएको मानिन्छ भने नौ मिटर पार गर्नुलाई खतरा मानिन्छ ।
बहाब बढेपछि नारायणीको बाढी पूर्वी नवलपरासी, पश्चिम नवलपरासी र चितवनका विभिन्न भागमा प्रवेश गरी डुबानमा परेका छन् । नवलपुरको गैँडाकोट– २, बोटेटोलका ११० घर डुबानमा परेका छन् । ती घरका ४०० जनालाई आइतबार सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । नवलपुरको गैँडाकोटसँगै कावासोती, मध्यविन्दु नगरपालिका र विनयी त्रिवेणी गाउँपालिकाको विभिन्न स्थानमा डुबानमा परेको छ ।
मध्यविन्दु– २, भुताहाका १७ घर डुबानमा परेका छन् । ती घरका ६१ जनालाई नजिकै रहेको लिटिल फ्लावर बोर्डिङ स्कुल तथा आफन्तहरूको घरमा व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ । नवलपुरकै बुलिङटार– २, भाँडबारीमा कालीगण्डकी नदीको पानी पसेर कालीगण्डकी रिभर साइड होटेल डुबानमा परेको छ । त्यहाँ रहेका ३ कर्मचारी र सामग्रीहरू सुरक्षित स्थानमा सारिएको नवलपुर प्रहरीले जनाएको छ । त्यस्तै, नवलपुरको विनयी त्रिवेणी गाउँपालिका– १ बघुवन र कावासोती नगरपालिका– १५, अमलटारी बागखोर गाउँ पनि डुबानमा परेको छ ।
त्यस्तै, पश्चिम नवलपरासीको सुस्तामा पनि नारायणी पसेपछि प्रभावित सबैलाई वारि सुरक्षित स्थानमा ल्याइएको छ । थारू टोलमा बाढीका कारण विस्थापित ८०० भन्दा बढीलाई डुंगाको सहारामा नारायणीवारि सारिएको जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जानकारी दिए । सुस्ता गाउँपालिका अध्यक्ष टेकनारायण उपाध्यायका अनुसार विस्थापितहरू सुस्ता गाउँपालिका– ५, पक्लिहवाको बिपी माविमा राखिएको छ । खाने र बस्ने व्यवस्था पालिकाले नै मिलाएको उपाध्यायले बताए ।
कमलाको बाँध जोगाउन राखियो बालुवाका बोरा
लहानमा मणिलाल विश्वकर्मा
सिराहाको कमला नदीमा पानीको बहाब प्रतिसेकेन्ड नौ सय क्युसेक पुगेपछि बाँधलाई क्षति हुन नदिन सुरक्षाकर्मी परिचालन गरी बालुवाका बोरा राखिएको छ । सहायक सिडिओ चेतराज बरालका अनुसार सिराहा नगरपालिका– ६, बासबिट्टा गाउँमा बाढी पस्ने जोखिम घटाउन सेना, सशस्त्र, नेपाल प्रहरी र स्थानीय मिलेर बाँधको छेउमा बोरा राख्ने र आसपासका बासिन्दालाई सतर्क रहन माइकिङ गरिएको छ । ‘सशस्त्र प्रहरीतर्फ २०० र नेपाली सेनाका २५० जना सुरक्षाकर्मीलाई आवश्यकताअनुसार तत्काल परिचालन गर्न सकिने गरी तयारी अवस्थामा राखिएको छ,’ उनले भने, ‘सुरक्षा अवस्था बुझ्न नेपाल प्रहरी नियमित रूपमा फिल्डमा खटिएको छ ।’
मकवानपुरगढीमा पहिरोले दुई घर भत्किए
हेटौँडामा पोष्टराज अधिकारी
मकवानपुरको बकैया गाउँपालिका– ६, तल्लो ज्यामिरेमा जमिन चिरिएर करिब चार फिटसम्म तल सरेपछि बस्ती जोखिममा परेको छ । ठुलो भूभाग नै थप सर्न सक्ने जोखिम देखिएपछि स्थानीयलाई नजिकको विद्यालयमा सार्ने प्रयास गरिए पनि उनीहरू तत्काल बस्ती छाड्न नमानेको गाउँपालिकाले जनाएको छ । पालिका अध्यक्ष धर्मराज लामिछानेका अनुसार तल्लो ज्यामिरेमा करिब ३०–३५ घर रहेको बस्तीमा जमिन चिरा परेको र घर तथा विद्युत्का पोलसमेत तलतर्फ सर्न थालेका छन् ।
सर्लाही मलंगवा क्षेत्र डुबानमा विद्युत् आपूर्ति बन्द, चन्द्रनगरमा एक घर ढल्यो
सर्लाहीमा श्रवण थापा
सर्लाही सदरमुकाम मलंगवाको बजार र सडक जलमग्न बनेका छन् । पानीको निकास नहुँदा बजार क्षेत्र अस्तव्यस्त बनेको मलंगवा नगरपालिका– ९ का निदेश महतोले जानकारी दिए । ‘पानीले घर वरिपरि तलाउ बनेको छ,’ अर्का स्थानीय दीपेन्द्र सिंहले भने, ‘घुँडामाथिसम्म आउने पानी जमेको छ ।’ वडा नम्बर १० का विभिन्न ठाउँ पनि डुबानमा परेको वडाध्यक्ष मुकेश झाले जानकारी दिए । निकासको सुविधा नभएका स्थानमा रहेका होचा घरहरूमा पानी जमेर बस्न नमिल्ने अवस्था भएको उनको भनाइ छ । त्यस्ता नागरिकको विवरण संकलनको काम भइरहेको उनको भनाइ छ ।