बंगालको खाडीमा बनेको न्यूनचापीय प्रणाली र पश्चिमी वायुको प्रभावका कारण पछिल्लो दुई दिन परेको वर्षासँगैको हावाहुरीले नगदेबालीका रूपमा गरिने उखु खेतीमा क्षति पुगेको किसानहरूले गुनासो गरेका छन्।
सिराहाको नरहा गाउँपालिका–१, देवीपुर तिलासी गाउँका किसान रामखेलाउन यादवले आफूले लगाएको एक बिघा एक कट्ठा उखु वर्षा र हावाहुरीले ढलेर क्षति भएको बताए। ‘मलखाद, बिउ, खनजोत र मजदुर गरी उखु खेती गर्न प्रतिकट्ठा करिब आठ हजार रुपैयाँ खर्च हुन्छ,’ उनले भने, ‘त्यति लगानीमा रोपेको उखु हुर्किसकेका वेला ढलेपछि आर्थिक रूपमा मर्का परेको छ।’
खेतीमा गरेको लगानी डुब्ने जोखिम
गोलबजार नगरपालिका–५ की सकुन्तला यादवको अवस्था पनि उस्तै छ। भाडामा लिएको चार बिघा जग्गामा एक दशकभन्दा बढी समयदेखि खेतीपाती गर्दै आएकी उनले यसपटक डेढ बिघामा उखु खेती गरेको सुनाइन्। ‘हावाहुरीसँगै परेको वर्षाले उखु खेतमै ढलेको छ,’ उनले भनिन्, ‘अब उखुको लगानीसमेत उठाउन गाह्रो भएकाले ठुलो आर्थिक संकटको जोखिम छ।’
खेतीपातीका लागि भाडामा लिएको जग्गाको वार्षिक एक लाख रुपैयाँ भाडा तिर्दै आएको सुनाउँदै उनले भनिन्, ‘जग्गाको भाडासँगै मल, बिउ, सिँचाइ र मजदुरीमा ठूलो रकम खर्च भयो, तर ढलेको उखुले लगानी पनि उठ्दैन।’ आफ्नै बलबुतामा खेती गर्नुपर्ने बाध्यता रहेका किसानको खेतीपातीमा लागत मूल्य बढेको भए पनि प्रकोपका कारण लागतसमेत उठाउन नसक्दा आर्थिक समस्या पर्ने भएकाले स्थानीय सरकारले हेर्नुपर्ने उनले माग गरिन्।
नरहा–१, तिलासीकी बविताकुमारी यादवले पनि यसपटक रोपेको १५ कट्ठासहित डेढ बिघा उखु ढलेर क्षति भएको सुनाइन्। डेढ बिघा जग्गामा रोपेको उखुको लगानी नै दुई लाख ४० हजार रुपैयाँ भएको जानकारी दिँदै उनले भनिन्, ‘करिब चार महिनापछि काट्न तयार हुने उखु ढलेपछि तौल नै नहुने भएकाले लगानी डुब्ने निश्चित छ।’
वर्षा र हावाहुरीका कारण आफूले गरेको १७ कट्ठा उखुखेतीमा क्षति पुगेको तिलासी गाउँका रामबुझाउन यादवले बताए। मौसमको साथ र बेलामा मलखाद तथा सिँचाइ हुँदा प्रतिकट्ठा ३० क्विन्टलसम्म उत्पादन हुने उखु ढलेपछि आधा जति घट्ने हुँदा लगानी उठाउनसमेत समस्या हुने उनले बताए।
नरहाको छिमेकी विष्णुपुर गाउँपालिका–१ का किसान गोपिन्द्र यादवले आफूले लगाएको करिब दुई बिघाको उखु ढलेको बताए। ‘लिजमा लिएको करिब तीन बिघा क्षेत्रफलमा उखुखेती गरेको थिएँ,’ उनले भने, ‘हावाहुरी र वर्षाले उखुको बोट लडेपछि लगानीसमेत नउठ्ने जोखिम छ।’
गाउँनजिकै नरहा गाउँपालिका–३ मा हिमालय सुगर मिल सञ्चालनमा रहेको कारण बिक्रीका लागि सहज हुँदा त्यस क्षेत्रका हरेक गाउँका किसानले १० कट्ठादेखि तीन–चार बिघासम्म उखु खेती गर्दै आएको अगुवा किसानहरू बताउँछन्।
जिल्लाका विभिन्न ठाउँमा गरी तीन हजार पाँच सय ७५ हेक्टर क्षेत्रफलमा उखुखेती हुँदै आएको कृषि ज्ञान केन्द्र सिराहाले जनाएको छ। ज्ञान केन्द्रका अनुसार उक्त क्षेत्रफलमा हरेक वर्ष करिब दुई लाख मेट्रिक टन उखु उत्पादन हुँदै आएको छ।
पछिल्लो हावाहुरी र वर्षाले जिल्लाको कुन पालिकामा कति उखु क्षति भयो भन्ने विषयमा सम्बन्धित पालिकाको कृषि शाखासँग समन्वय गरेर मात्र यकिन भन्न सकिने केन्द्रले जनाएको छ।