गायिका तथा मोडल रिया खत्रीले ‘युके शहर’ बोलको गीत सार्वजनिक गरेकी छिन्। शुक्रबार राजधानीमा एक कार्यक्रमबिच विमोचन गरिएको युके शहर युट्युबमा समेत सार्वजनिक भएको छ।
रिया र गायक क्रिश क्षेत्रीको स्वर तथा अभिनय रहेको छ। तीन वर्षअघिबाट सांगीतिक क्षेत्रमा प्रवेश गरेकी उनले गैरआवासीय नेपाली समुदायलाई लक्षित गरी गीत तथा भिडियो तयार गरेकी हुन्।
‘युके शहर मेरो लागि एउटा गीत मात्र होइन, मेरो सांगीतिक यात्राको एउटा सुन्दर सपना पनि हो,’ रियाले भनिन्, ‘धेरै मेहनत र उत्साहका साथ तयार गरेको यो प्रस्तुतिलाई नेपाल र विदेशमा रहनुभएका नेपाली दर्शक स्रोताले माया गरिदिनुहुनेछ भन्ने विश्वास छ।’ उनले अहिलेसम्म तीनवटा एल्बम सार्वजनिक गरिसकेकी छिन्। उनले नेपालको विभिन्न महोत्सवसँगै मलेसिया, सिंगापुर, थाइल्यान्ड, कम्बोडिया, लाओस, भियतनाम, संयुक्त अरब इमिरेट्स, कतार, बहराइनलगायतका देशमा पुगेर सांगीतिक प्रस्तुति दिएकी छिन्।