अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारमा शंकित व्यक्तिको पोलिग्राफ जाँच गर्ने अधिकार पाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग नियमावली, २०५९ संशोधन गरी आयोगलाई यस्तो अधिकार दिइएको छ।
बिहीबार राजपत्रमा प्रकाशित नियमावलीमा भनिएको छ, ‘भ्रष्टाचारसम्बन्धी शंकित व्यक्तिको पोलिग्राफ परीक्षण गर्न आवश्यक भएमा उपनियम १ बमोजिमको फरेन्सिक इकाइ वा प्रयोगशालामा परीक्षण गरिनेछ।’ बयानमा झुटो बोले–नबोलेको पत्ता लगाउन पोलिग्राफ परीक्षण गरिन्छ। आयोगले यसअघि पनि यस्तो परीक्षण गरे पनि नियमावलीमा यो विषय नहुँदा प्रमाणका लागि ग्राह्य हुने गरेको थिएन ।
अब भने पोलिग्राफ परीक्षण पनि प्रमाण बन्नेछ। त्यस्तै, अनुसन्धानको क्रममा संकलित नमुना, कागजात तथा डिजिटल सबुत पनि प्रयोगशालामा परीक्षण गर्ने व्यवस्था नियमावली संशोधनबाट गरिएको छ ।

