तीन दिनदेखिको वर्षाका कारण बाढीपहिरोको जोखिम बढेपछि सरकारले मध्य र पश्चिम नेपालका २५ जिल्लामा दुई दिन सवारी आवागमन बन्द गरेको छ ।
मनसुन प्रतिकार्य कमान्ड पोस्टको शुक्रबारको बैठकले धेरै वर्षा भएका र अझै निरन्तर वर्षा हुन सक्ने आकलन गरिएका २५ जिल्लालाई रेडअलर्टमा राख्दै शुक्रबार र शनिबार सवारी आवागमन बन्द गर्ने निर्णय गरेको हो । योसँगै राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जिल्ला मनसुन प्रतिकार्य कमान्ड पोस्टलाई सर्कुलर गरेको छ।
केन्द्रमा गृह मन्त्रालय र विपत् प्राधिकरणसहितका निकाय सम्मिलित समिति छ भने जिल्लामा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा यो समिति छ। यसबाहेक पहेँलो रंगले संकेत गरेर अर्लट भएका जिल्लामा भने रातिको समयमा सवारीसाधन बन्द गर्न र दिउँसोको समयमा अवस्था हरेर निर्णय लिन समितिलाई भनिएको छ।
शुक्रबार र शनिबार तराईका रुपन्देही, कपिलवस्तु, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरलाई रेडअलर्टमा राखेर सवारीसाधन बन्द गरिएको छ । त्यस्तै, पहाडी तथा भित्री मधेशका जिल्ला पाल्पा, अर्घाखाँची, गुल्मी, स्याङ्जा, प्युठान, दाङ र सुर्खेतमा पनि रेडअलर्ट छ।
यसैगरी, उच्च पहाडी तथा हिमाली जिल्ला गोरखा, लमजुङ, मनाङ, मुस्ताङ, डोल्पा, जुम्ला, कालीकोट, मुगु, हुम्ला, बझाङ, बाजुरा र दार्चुलामा पनि आवागमन बन्द गरिएको छ।
प्राधिकरणका भूगर्भविद् प्रकाश पोख्रेलले निरन्तर पानी परिरहेका र शनिबार पनि ठुलो पानी पर्ने सम्भावना रहेका जिल्लामा सवारी आवागमनमा रोक लगाउने निर्णय भएको बताए । नेपाल मौसम विज्ञान विभागका अनुसार पश्चिम नेपालमा शनिबार र आइतबार पनि भारी वर्षाको सम्भावना छ।