मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ भदौ १६ मंगलबार
  • Tuesday, 01 September, 2026
नयाँ पत्रिका काठमाडाैं
२o८३ भदौ १६ मंगलबार o५:४७:oo
Read Time : > 1 मिनेट
प्रेरक प्रसंग प्रिन्ट संस्करण

प्रेरक प्रसंग : कसको समस्या ठुलो ?

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८३ भदौ १६ मंगलबार o५:४७:oo

एक सन्त मानिसको भिडभाडदेखि केही टाढा एकान्तमा जीवनका बाँकी दिन ईश्वरको भक्तिमा लगाउन चाहन्थे । त्यसैले, उनले उच्च हिमालको काखमा रहेको एक गुफालाई आफ्नो साधनास्थल बनाएका थिए । तर, उनको प्रसिद्धिले गर्दा उनका भक्तजन कठिन बाटो पार गरेर उनको आश्रम खोज्दै त्यहाँ पनि पुगे । उनीहरू आआफ्ना समस्या समाधानको सूत्र सन्तबाट प्राप्त हुने आसमा थिए ।

उनीहरूलाई सन्तले केही दिन प्रतीक्षा गर्न लगाए । बिस्तारै दुई दिनमै गुफामा पाइला राख्ने ठाउँसमेत बाँकी नरहने गरी मानिसको भिड लाग्यो । तेस्रो दिनमा सन्तले भने– यहाँबाट गइसकेपछि अर्को कसैलाई पनि यहाँको बाटो नबताउने सर्तमा आज म तपाईंहरूका सबै प्रश्नको उत्तर दिन्छु । किनकि, अब म एकान्तमा भगवान्को भक्तिमा समर्पित हुन चाहन्छु । सबैले सन्तको प्रस्ताव मन्जुर गरे ।

सन्तले भने– अब सबैले पालैपालो आआफ्नो प्रश्न राख्नुहोस् । सन्तको आदेश पाउनासाथ एक भक्तजनले आफ्नो समस्या सुनाउन थाले । तर, बिचमै अर्को कसैले आफ्नो समस्या सुनाउन थाल्यो । यसो गर्दागर्दै सबै एकैसाथ बोल्न थाले । सन्तले सबैलाई शान्त रहन संकेत गरे । सबै शान्त भइसकेपछि उनले सबैलाई एउटा–एउटा सिसाकलम र कागजको टुक्रा दिँदै आआफ्नो समस्या लेख्न लगाए ।

सबैले आआफ्नो समस्या कागजमा लेखेर सन्तलाई दिए । सन्तले सबै कागजलाई एउटा टोकरीमा राखेर मिसाए । त्यसपछि उनले भने– अब यो टोकरीबाट एउटा कुनै कागज निकालेर त्यसमा लेखिएको समस्या पढ्नुहोस् र त्यस समस्यालाई आफ्नो समस्यासित साट्न चाहनुहुन्छ कि हुँदैन, भन्नुहोस् । सबैले एकएक कागज उठाए र पढे । तर, कोही पनि आफ्नो समस्यासित त्यसलाई साट्न तयार देखिएनन् । सबैले आफ्नो समस्या जतिसुकै ठुलो भए पनि अरूको समस्याजति ठुलो नभएको महसुस गरे ।

दुई घण्टापछि आआफ्नो समस्या लेखिएको कागज हातमा लिएर सबै खुसीसाथ सन्तको आश्रमबाट बिदा भए । आफ्नो समस्या अरूको जति ठुलो नभएको थाहा पाएर उनीहरू निकै खुसी थिए ।