मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ भदौ १५ सोमबार
  • Monday, 31 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८३ भदौ १५ सोमबार २२:oo:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सोमबार १० बजेसम्मका प्रमुख १० खबर

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८३ भदौ १५ सोमबार २२:oo:oo

हेटौँडाबाट ग्यास लिएर आएका १४ गाडी कान्ति लोकपथमा फसे, बिहान मात्रै पहिरो पन्छाउने प्रशासनको जवाफ

सुगम र एभरेस्ट ब्रान्डको ग्यास लिएर आएका १४ वटा गाडी कान्ति लोकपथको ललितपुर खण्डमा आएको पहिरो कारण बिच बाटोमै अलपत्र परेका छन्।

साँझसम्म काठमाडौं आइपुग्ने गरी हेटौँडाबाट १३ सय १२ सिलिन्डरमा ग्यास भरेर आएका गाडीहरू साँझ ६ बजेदेखि पहिरोका कारण रोकिएको उद्योगी शिवप्रसाद घिमिरेले जानकारी दिए।

‘साँझसम्म काठमाडौं आइपुग्नुपर्ने गाडी पहिरोका कारण बाटोमै रोकिएका छन्,’ उनले भने, ‘पहिरो पन्छाउन प्रसाशले पनि तदरुकता देखाएको छैन ।’ टिकाभैरवदेखी २० किलोमिटर हेटौँटातर्फ ग्यास बोकेका गाडीहरू रोकिएको उनले जानकारी दिए । ‘राति अनकन्टारमा ग्यासका गाडी फसेका छन् ।

प्रधानमन्त्री राहत कोषमा ६ अर्ब ३६ करोड बढी रकम जम्मा

रसुवामा आएको विनाशकारी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा ६ अर्ब ३६ करोड रुपैयाँभन्दा बढी रकम जम्मा भएको छ।

प्रधानमन्त्री बालेन्द्र शाहले सोमबार साँझ सामाजिक सञ्जालमार्फत दिएको जानकारीअनुसार स्वदेश तथा विदेशबाट प्राप्त सहयोगमार्फत उक्त रकम जम्मा भएको हो।

प्रधानमन्त्री राहत कोषका लागि सोमबार दिउँसोसम्म नौवटा वाणिज्य बैंकका खातामा ५ अर्ब ८७ करोड ९२ लाख २३ हजार ८४२ रुपैयाँ जम्मा भएको शाहले बताएका छन्।

हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छः प्रधानमन्त्री

प्रधानमन्त्री वालेन्द्र शाहले सरकार बाढी प्रभावितहरुको खोज, उद्धार, उपचार, राहत र नागरिकको सुरक्षित व्यवस्थापनमा दृढता तथा सक्रियताका साथ लागिरहेको बताएका छन्।

सामाजिक सञ्जालमार्फत सोमबार प्रधानमन्त्री शाहले यस कार्यको अग्रपंक्तिमा रहेर आफ्नो ज्यानको समेत वास्ता नगरी प्रभावित क्षेत्रमा परिचालित सम्पूर्ण सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी, मिडिया, विभिन्न निकायका पदाधिकारीहरुसँगै स्वयंसेवक संस्था तथा आमनागरिकको भूमिका कदरयोग्य र प्रशंसनीय रहेको उल्लेख गरेका छन्।

त्रिभुवन राजपथ एकतर्फी बनाएर काठमाडौं ल्याइँदै पेट्रोलियम पदार्थ

कृष्णभिरमा पहिरो गएर मुग्लिन–धादिङ हुँदै काठमाडौं आउने पृथ्वी राजमार्ग अवरुद्ध भएपछि त्रिभुवन राजपथ (मकवानपुरको पालुङ–टिस्टुङ–नौबिसे–नागढुंगा) एकतर्फी गरेर काठमाडौंमा पेट्रोलियम पदार्थ ल्याउन थालिएको छ।

सोमबार दिउँसो ३ः३० बजे हेटौँडाबाट पेट्रोल, डिजेल, हवाई इन्धन बोकेका ६२ ट्यांकर त्रिभुवन राजपथ हुँदै काठमाडौं पठाइएको आयल निगमको मधेश प्रादेशिक कार्यालय, अमलेखगन्जका प्रमुख अशोक साहले जानकारी दिए।

तराईबाट ग्यास र हवाई इन्धन काठमाडौं ल्याउन दुई कमिटी गठन, भोलिदेखि तराई झरेर काम गर्ने

तराईबाट काठमाडौंसम्म एलपी ग्यास र हवाई इन्धनको ढुवानी र आपूर्ति व्यवस्थापनको निरीक्षण गर्न आयल निगमले दुईवटा कमिटी गरेको छ।

निगमको एलपिजी तथा एभिएसन विभाग प्रमुखसमेत रहेका निर्देशक विनीतमणि उपाध्यायका अनुसार ग्यास आपूर्ति सहजताका लागि उपनिर्देशक अभिषेक ठाकुरको संयोजकत्वमा उपेन्द्र सुवेदी, सुमन पुडासैनी र विकास बखती रहेको चार सदस्यीय समिति गठन गरिएको छ। त्यस्तै, हवाई इन्धन आपूर्ति सहजताका लागि उपनिर्देशक रामहरि निरौलाको संयोजकत्वमा अनुपम पराजुली र मधुमास पुन रहेको तीन सदस्यीय कमिटी गठन भएको छ।

विपतको मौका छोपेर मूल्य बढाउनेलाई कारबाही गर्न मन्त्री यादवको निर्देशन

उद्योगमन्त्री गौरीकुमारी यादवले विपतको मौका छोपेर उपभोक्तामाथि मनलाग्दी मूल्य तोक्ने व्यवसायीमाथि कडा कारबाही गर्न निर्देशन दिएकी छिन्। 

सोमबार मन्त्रालयमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका कर्मचारीसँग भएको छलफलमा मन्त्री यादवले ठुला गोदामहरूसम्मै गएर अनुगमन गर्न निर्देशन दिइन्।

नुवाकोटको त्रिशूली नदीपारिको भूभाग सडक सञ्जालमा जोडियो

बाढीका कारण पुलहरूमा भएको क्षतिका कारण प्रभावित नुवाकोटको त्रिशूली नदीपारिको भूभाग यातायात सञ्जालमा जोडिएको छ।

गल्छी–त्रिशूली राजमार्गअन्तर्गत त्रिशूली पुलपारिबाट त्रिशूली नदीको दायाँ किनार हुँदै कल्लेरीटार–कोशीखोला–तारुकाघाट-दर्शनटार–छत्रेखोला–मूलथला–गौरीबेँसी हुँदै त्रिशूली बजारसम्म सडक सञ्चालनमा आएको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ।

शव पहिचान गर्न डिएनए परीक्षणका लागि सम्पर्क गर्न आफन्तलाई प्रहरीको अनुरोध

भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका कारण बेपत्ता भएकाहरूको पहिचानका लागि नेपाल प्रहरीले आफन्तकाे डिएनए परीक्षण प्रक्रिया अघि बढाएको छ।

बाढीका कारण बेपत्ता तथा भेटिएका शव वा शरीरका अंगहरूको पहिचान गर्नका लागि बेपत्ताका नजिकका आफन्तलाई सम्पर्कमा आउन प्रहरीले अनुरोध गरेको हो। फेला परेका शव वा मानव अंगहरूको पहिचानका लागि उनीहरूको सबैभन्दा नजिकको रगतको नाता पर्ने सदस्यहरूको नमुना संकलन गर्नुपर्ने हुन्छ।

त्रिशूली ३ ‘बी’ सुरुङमा उद्धार प्रयास तीव्र : नेपाली सेना र प्राधिकरणको टोली खटियो

रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नुवाकोटको माथिल्लो त्रिशूली थ्री बीको सुरुङमा नेपाली सेनाले उद्धार कार्यको प्रयास तीव्र पारेको छ।

सोमबार बिहान ९ बजेदेखि नै नेपाली सेनाको भैरवनाथ गणका १६ जना थपिएर सुरुङ क्षेत्र खन्ने काम भइरहेको छ। यो आयोजनाको सुरुङमा मानिसहरू फसेको आशंका गरिएको छ। आइतबार गणका १५ जना र नेपाल विद्युत् प्राधिकरणको संयुक्त टोलीले खोज तथा उद्धारको प्रयास सुरु गरेको थियो।

भोटेकोशी बाढीमा निधन भएकाको पशुपति आर्यघाटमा निःशुल्क दाहसंस्कार

रसुवाको भोटेकोशी बाढीमा परी निधन भएकाहरूको पशुपति क्षेत्रस्थित आर्यघाट र भष्मेश्वर घाटमा निःशुल्क दाहसंस्कार गरिने भएको छ।

पशुपति क्षेत्र विकास कोषले विपतमा परी ज्यान गुमाएकाहरूको निःशुल्क दाहसंस्कारका लागि आवश्यक सबै व्यवस्था मिलाएको जनाएको छ। कोष सञ्चालक परिषद्का सदस्य केदारमान भण्डारीले बाढीमा निधन भएकाहरूको दाहसंस्कार निःशुल्क गर्ने निर्णय गरिएको जानकारी दिए।