वर्षाका कारण काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागमा बाढीको जोखिम बढेको छ। बाढी पूर्वानुमान महाशाखाले बागमती र विष्णुमती नदी तटीय क्षेत्रका बासिन्दालाई रातभर तथा मंगलबार बिहानसम्मै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
महाशाखाका अनुसार काठमाडौँस्थित बागमती नदीको गौरीघाट जल मापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरिसकेको छ भने विष्णुमती नदीको गोंगबु जल मापन केन्द्रमा जलसतह खतराको तहनजिक पुगेको छ। दुवै नदीमा पानीको बहाब निरन्तर बढ्दो क्रममा रहेकाले नदी किनार तथा होचा भूभागमा बस्ने बासिन्दाहरूलाई सजग रहन भनेकाे छ।
त्यसैगरी, पछिल्लो तीन घण्टामा सिन्धुपाल्चोक जिल्लाको मेलम्ची, बोल्डे, ढुंगे तार्के, सेर्माथाङ र आसपासका क्षेत्रमा मध्यमदेखि भारी वर्षा भएको जल तथा माैसम विज्ञान विभागले जनाएकाे छ। थप वर्षाको जोखिम कायमै रहेकाले मेलम्ची खोला र इन्द्रावती नदीको तल्लो तटीय क्षेत्र (दोलालघाट दोभानसम्म) का बासिन्दालाई पनि रातभर उच्च सतर्क रहन महाशाखाले चेतावनी दिएको छ।
हाल रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन, सिन्धुपाल्चोक र लमजुङलगायतका जिल्लाहरूमा मध्यम वर्षा भइरहेको छ। पछिल्लो एक घण्टामा सबैभन्दा बढी वर्षा रुपन्देहीको तिलोत्तमामा ३७.६ मिलिमिटर मापन गरिएको छ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा अन्य प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको र थप वर्षाको सम्भावना रहेकाले आवश्यक पूर्वतयारी र सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।