अत्यधिक वर्षाका कारण उत्तरी गोरखामा बुढीगण्डकीको सहायक नदी स्यार खोलामा सोमबार पहिरो खसेको छ ।
चुमनवुव्री गाउँपालिका–७ छेकम्पार चौरीखर्कमा सोमबार बिहान साढे ९ बजेतिर ठुलो पहिरो खसेको हो। यद्यपिको खोलाको बहाव क्षेत्र फराकिलो भएकाले बहाव रोकिएको छैन। ‘त्यसपछि पनि साना पहिरो खसिरहेको छ। तत्कालै जोखिम नरहे पनि तटीय क्षेत्रमा सतर्कता अपनाउनुपर्ने देखिन्छ,’ सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए।
जल तथा मौसम विज्ञान विभाग, पोखरा कार्यालयका प्रमुख रहेकी वरिष्ठ मौसमविद् शान्ति कँडेलका अनुसार स्यार खोलामा पहिरो खस्नुअघि ठुलो वर्षा भएको देखिन्छ। छेकम्पारमा आइतबार ३२.३ मिलिमिटर वर्षा मापन भएको छ, यो वर्षा अगस्ट महिनाभर (२० घन्टा अन्तरको) सबैभन्दा बढी हो।
सोमबार बिहान मात्र १०.१ मिलिमिटर वर्षा रेकर्ड भएको छ। ‘समुन्द्रि सतहबाट ३ हजार ५८ मिटर उचाइ रहेको त्यो क्षेत्रमा २४ घन्टामा ३०–४० मिलिमिटर वर्षा हुनु भनेको ठुलो हो। यहाँ पछिल्लो एक महिनादेखि दैनिक वर्षा भइरहेको देखिन्छ,’ उनले भनिन्, ’प्रारम्भिक रुपमा हेर्दा अत्यधिक वर्षाका कारण पहिरो गएको देखिन्छ। वर्षा भइरहेकाले थप पहिरो खस्ने खोखिम छ।’
त्यति मात्र होइन छेकम्पार वर्षा मापन केन्द्रको हालसम्मको रेकर्ड हेर्दा एक वर्षमा पर्ने पानी यसपालि साढे तीन महिनामै परेको देखिन्छ। यो स्टेशनको वार्षिक वर्षा औसत ७२० मिलिमिटर हो । तर, वैशाखदेखि मंगलबार बिहानसम्म ७९१.७ मिलिमिटर वर्षा रेकर्ड भइसकेको छ। ‘यो वर्षा औसतको १०९.८ प्रतिशत हुन आउछ,’ वरिष्ठ मौसमविद् कँडेलले भनिन्, ‘थप विभागबाट विश्लेषण भइरहेको छ।’ विभागले यहाँ सन् २००० मा मात्र वर्षा मापन केन्द्र राखेको थियो।