भोटेकोशी र त्रिशूलीमा आएको बाढी तथा त्यसबाट भएको ठुलो जनधनको क्षतिपछि प्रमुख राजनीतिक दलहरू उद्धार, खोजी र राहतमा केन्द्रित भएका छन् । दलहरूले केन्द्रमा राहत कोषमा रकम जम्मा गर्ने निर्णयदेखि प्रभावित क्षेत्रमा पार्टीका नेता–कार्यकर्ता परिचालन गर्नेसम्मका गतिविधि तीव्र बनाएका छन् ।
सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), प्रमुख प्रतिपक्षी कांग्रेस, एमाले र नेकपालगायतका दलले प्रधानमन्त्री विपत् राहत कोषमा आर्थिक सहयोग गर्ने घोषणा गरिसकेका छन् । एमालेले पार्टीकै कोषबाट बाढी प्रभावितका लागि आवश्यक सामग्री खरिद गरी वितरण गर्ने जनाएको छ ।
विपतमा राज्य संयन्त्रसँगै आफ्ना सम्पूर्ण शक्ति परिचालन भएको दलका नेताहरूको दाबी छ ।
रास्वपाले प्रधानमन्त्री विपत् राहत कोषमा ५० लाख जम्मा गर्ने निर्णय गरेको छ । रास्वपा केन्द्र र फिल्ड दुवैतर्फ परिचालन भएको छ । पार्टी सभापति रवि लामिछानेले सरकार र अन्य दलसँग समन्वय गर्दै पार्टीपंक्तिलाई आवश्यक निर्देशन दिइरहेको प्रवक्ता जगदीश खरेलले बताए । ‘केन्द्रमा सरकार र दलहरूसँग सभापतिले आवश्यक समन्वय गरिरहनुभएको छ । र्यापिड एक्सन टिममार्फत दर्जनौँ स्वयंसेवक फिल्डमा परिचालित छन्,’ खरेलले भने, ‘काठमाडौं हटलाइन नम्बर पनि सञ्चालनमा छ । मुख्य टास्क फोर्स पार्टी कार्यालय घण्टीघरमा परिचालित छ ।’
रास्वपाका अनुसार उद्धार तथा राहतको काममा लागि कानुनमन्त्री एवं उपसभापति सोबिता गौतम, संसदीय दलका उपनेता गणेश पराजुली, सहमहामन्त्री एवं प्रधानमन्त्रीका सल्लाहकार असिम साहको नेतृत्वमा टोली परिचालित भएको छ । त्यसका साथै राहत संकलनतर्फ सांसद समीक्षा बाँस्कोटा, सञ्चार र डिजिटलतर्फ सांसद एवं प्रवक्ता जगदीश खरेल, खोजी, उद्धार तथा राहत वितरणमा आशिष थापा, आवश्यकताको खोजीका लागि विश्वराज पोखरेल र काठमाडौंको संगठन परिचालनका लागि हरि ढकाल खटिएका छन् ।
कांग्रेसले प्रधानमन्त्री विपत् राहत कोषमा एक करोड सहयोग गर्ने निर्णय गरेको छ । कांग्रेस सभापति गगन थापा बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षणमा निस्केका छन् । कांग्रेसले रसुवाका सांसद मोहन आचार्यको नेतृत्वमा बाढी विपत् व्यवस्थापन समन्वय तथा सहजीकरण समिति बनाएको छ । आचार्य प्रभावित क्षेत्रमा खटिएका छन् भने संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सरकारको ध्यानाकर्षण गराइरहेका छन् । सहमहामन्त्री बहादुरसिंह लामा, नेता जगदीश्वरनरसिंह केसी, नुवाकोट सभापति रमेश महत उद्धार राहतको काममा निरन्तर खटिएका छन् । कांग्रेसले आचार्यको संयोजकत्वमा गठित विपत् व्यवस्थापन समन्वय तथा सहजीकरण समितिलाई प्रत्येक गाउँ नगरपालिकाको वडागत रूपमा सम्पर्क गरी प्रभावित परिवारको विवरण तयार गर्न, समस्या र आवश्यकता पहिचान गरी पार्टीले गर्नुपर्ने समन्वय, सहजीकरण र सहयोगबारे सिफारिस गर्न निर्देशनसमेत दिएको छ ।
कांग्रेस प्रवक्ता देवराज चालिसे खोजी, उद्धार र राहतमा पार्टीपंक्ति परिचालित भएको बताउँछन् । ‘हराइरहेका नागरिकलाई खोजी गर्न, प्रभावित परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न, राहत उपलब्ध गराउन, स्थानीय तह र विपत् व्यवस्थापन संयन्त्रसँग समेत समन्वय र सहकार्य गरी व्यवस्थित ढंगले प्रभावकारी रूपमा परिचालित हुन आग्रह गरिएको छ । विपत्को समयमा पार्टी पूर्ण रूपमा परिचालित भएको छ,’ उनले भने ।
प्रतिपक्षी दल एमालेले स्वायत्त तरिकाले कुल एक करोड २० लाखको राहत सामग्री वितरण गर्ने जनाएको छ । यस्तै, एमालेले नेसनल भोलेन्टियर्स फोर्समार्फत बाढी प्रभावित क्षेत्रमा स्वयंसेवक परिचालन गरेको छ । विपत्तिमा परेका नागरिकलाई सहयोग गर्ने उद्देश्यले स्वयंसेवकहरू परिचालित गरिएको एमालेले जनाएको छ । फोर्समार्फत उद्धार र आवश्यक राहत सामग्री वितरण गरेको एमालेले बताएको छ । फोर्सको प्रमुख पुष्पराज श्रेष्ठ छन् ।
एमाले महासचिव शंकर पोखरेलको नेतृत्वको टोलीले बाढी प्रभावित क्षेत्रको निरीक्षण गरेर पार्टीलाई प्रतिवेदनसमेत बुझाएको छ । टोलीमा विष्णु रिमाल, राजन भट्टराई, कृष्णगोपाल श्रेष्ठ, विशाल भट्टराई, पार्वत गुरुङ, विनोद श्रेष्ठ, निरज आचार्य, अमित लामा, विनोद पाण्डेलगायत थिए । ‘स्थानीय तहका पार्टी कमिटी सूक्ष्म ढंगले लागेर बेपत्ता नागरिकको खोजी र उद्धार कार्यमा निरन्तर खटिएका छन् । युवा–विद्यार्थी र ट्रेड युनियन महासंघ पनि प्रभावित क्षेत्रमा खटिएको स्थिति छ ।’ नेता विशाल भट्टराईले भने ।
राजधानीमा सोमबार आयोजित एक कार्यक्रममा एमाले अध्यक्ष केपी ओलीले सहयोग रकम घोषणा गरेका छन् । कुल एक करोड २० लाखको राहत सामग्री वितरण गर्ने ओलीले बताए । उनले कार्यविधि बनाएर राहत वितरण गर्ने पनि बताए । ओलीले सरकारको उद्धार र राहत वितरणप्रति प्रश्न उठाए । सरकारले अरूलाई उद्धार गर्न रोकिराखेको आरोप पनि लगाए ।
अर्को प्रतिपक्ष दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले नेकपाले प्रधानमन्त्री विपत् राहत कोषमा २५ लाख जम्मा गर्ने निर्णय गरेको छ । यसबाहेक नेकपाले केन्द्रीय कार्य संयोजन समिति सदस्य एवं बागमती प्रदेश इन्चार्ज गंगालाल तुलाधरको संयोजकत्वमा ‘केन्द्रीय खोज उद्धार राहत समन्वय समिति’ गठन गरेर काम गरिरहेको छ । समितिले बाढी प्रभावित क्षेत्रमा सरकारी तथा गैरसरकारी निकायहरूसँग समन्वय गरी खोजी, उद्धार र राहतमा पार्टीपंक्ति परिचालन गरिरहेको छ ।
केन्द्र, प्रदेश, जिल्ला, पालिका र वडासम्मको संरचना निर्माण गरेर बाढी प्रभावित क्षेत्रमा खटिएको नेकपा प्रवक्ता प्रकाश ज्वालाले बताए । ‘पार्टीपंक्ति प्रभावित क्षेत्रमा खटिएको छ । खोजी, उद्धार र राहतको काममा हामी निरन्तर लागेका छौँ । फिल्डमा खटिनुका साथै सरकारलाई धच्घच्याउने काम पनि भइरहेको छ,’ उनले भने, ‘पार्टी केन्द्रीय कार्यालयमा स्थापना गरिएको विपत् व्यवस्थापन डेस्कले सूचना संकलन गरेर आवश्यकताअनुसार उपचार, राहत परिचालनको काम गरिरहेको छ ।’
प्रवक्ता प्रकाश ज्वालासहित सांसद वर्षमान पुन, युवराज दुलाल, रमेश मल्ललगायत उद्धार र राहतमा प्रभावित क्षेत्रमा खटिएका छन् । ‘सुरक्षा निकायसँग स्थानीय प्रशासन र जनप्रतिनिधिहरूको सहज पहुँच देखिँदैन । सरकारी निकाय तथा स्थानीय निकायबिच ठुलो खाडल छ । समन्वय एवं सहकार्य प्रभावकारी हुन सकेको छैन,’ ज्वालाले भने ।
प्रधानमन्त्री विपत् राहत कोषमा कुन दलले कति गरे आर्थिक सहयोग ?
प्रधानमन्त्री विपत् राहत कोषमा रास्वपाले ५० लाख जम्मा गर्ने निर्णय गरेको छ । त्यस्तै, प्रमुख प्रतिपक्षी कांग्रेसले एक करोड सहयोग गर्ने निर्णय गरेको छ भने प्रतिपक्षी एमालेले स्वायत्त तरिकाले एक करोड २० लाखको राहत सामग्री वितरण गर्ने जनाएको छ । अर्को प्रतिपक्ष नेकपाले प्रधानमन्त्री विपत् राहत कोषमा २५ लाख जम्मा गर्ने निर्णय गरेको छ ।