नेपाल–तिब्बत सीमाक्षेत्रमा आएको भीषण आकस्मिक बाढीले घर, सडक, पुल र स्थानीय जलविद्युत् आयोजनामा ठुलो क्षति पुर्याएको छ । भोटेकोशी नदीमा आएको बाढीबाट ५० हजार बासिन्दा प्रभावित भएका छन् । बाढीबाट तीन सय ६० भन्दा बढीको मृत्यु भएको छ भने अन्तर्राष्ट्रिय पर्यटकसहित सयौँ मानिस बेपत्ता छन् । हिमालयको यो क्षेत्र सन् २०२५ मा आएको भोटेकोशी बाढीको असरबाट अझै पूर्ण रूपमा तंग्रिन सकेको थिएन । सो बाढीले नेपाल–चीन जोड्ने ‘मैत्री पुल’ बगाउँदा नौजनाको ज्यान जानुका साथै महिनौँसम्म व्यापार र यातायात अवरुद्ध भएको थियो ।
श्रीलंकामा, हालै आएको बाढी र पहिरोले स्थानीय समुदायलाई निकै प्रभावित बनायो । मानिसहरू ‘डिट्वा’ चक्रवातको असरबाट भर्खरै तंग्रिँदै गरिरहेका वेला बाढीको चपेटामा परे । उक्त चक्रवातले नौ महिनाअघि व्यापक क्षति पु¥याएको थियो । चक्रवातको असरबाट उम्कने पर्याप्त समय नपाएका कारण ती समुदायसँग थप बाढीको सामना गर्ने कुनै सुरक्षा उपाय थिएन । यस अगस्टमा १५ हजारभन्दा बढी मानिस प्रत्यक्ष रूपमा प्रभावित हुनुका साथै ६,८०० मानिस विस्थापित भए ।
विपत् जोखिमले सामान्यतया त्यसपछि आउने अर्को बाढी, डढेलो, चक्रवात वा खडेरी कति गम्भीर हुनेछ भन्ने कुरालाई विचार पु¥याउँछ । तर, नेपाल र श्रीलंकाका उदाहरणले प्रायः ओझेलमा पर्ने अर्को एउटा पक्षलाई उजागर गर्छन्– कुनै समुदाय कति छिटो पुनस्र्थापित हुन सक्छ र के अर्को विपत् आउनुअघि नै त्यो सम्भव हुन्छ ?
विपत्ले कुनै ठाउँलाई जस्तो अवस्थामा भेटेको थियो, प्रायः त्यस्तै अवस्थामा छोड्दैन । सडक र पुलहरू क्षतिग्रस्त अवस्थामा हुन्छन् । परिवारले आफ्नो बचत खर्च गरिसकेका हुन सक्छन् । व्यवसायीहरू अझै संघर्षरत हुन सक्छन् । अस्पताल र अन्य सार्वजनिक सेवामाथि दबाब कायम रहँदा सरकारले पुनर्निर्माणका लागि लगानी गरिरहेको हुन सक्छ । यदि यी प्रणाली पुनः तंग्रिन नपाउँदै अर्को विपत् आइलाग्यो भने त्यसले पहिलो विपत्अघि जस्तो अवस्थामा रहेको समुदायको सामना गर्दैन, बरु, त्यसले कमजोर पूर्वाधार भएको ठाउँको सामना गर्छ । यसलाई बुझ्ने एउटा उपयोगी तरिका ‘पुनर्लाभको अन्तराल’ (रिकभरी ग्याप) हो । अर्थात्, पुनर्लाभमा लाग्ने समय र अर्को विनाशकारी विपत् आउनुअघि उपलब्ध समयबिचको सम्बन्ध ।
विपत्बाट हुने बारम्बारको क्षति सधैँ केवल सामान्य रूपमा थपिँदै जाने क्षति मात्र हुँदैन । पहिलो विपत्ले अर्को विपत् आउने परिस्थितिलाई परिवर्तन गर्न सक्छ र त्यसपछिका विपत्को असर निकै गम्भीर हुन सक्छ ।
कल्पना गर्नुहोस्, दुईवटा समुदायले उस्तै प्रकृतिको बाढीको सामना गरिरहेका छन् । एउटा समुदायमा यसअघिको ठुलो विपत् १० वर्षअघि आएको थियो । त्यहाँ घरहरू पुनर्निर्माण भइसकेका छन्, पूर्वाधारको मर्मत–सम्भार गरिएको छ र आपत्कालीन स्रोतसाधनको पुनः व्यवस्थापन गरिएको छ । अर्को समुदायमा भने जम्मा ६ महिनाअघि मात्रै अर्को विपत् आएको थियो, त्यहाँ सडकहरू अझै मर्मतकै क्रममा छन्, परिवारहरू विस्थापित वा ऋणको मारमा छन् र सरकारी निकाय अझै पनि पुनर्निर्माणको खर्च व्यहोरिरहेका छन् । दुवै ठाउँमा आउने नयाँ बाढी भौतिक रूपमा उस्तै भए पनि, तिनका परिणाम भने फरक हुन सक्छन् ।
अपूर्ण पुनरोत्थानले दीर्घकालीन क्षतिलाई उल्लेख्य रूपमा बढाउन सक्छ । फिलिपिन्समा बाढीसम्बन्धी सन् २०२५ को एक अध्ययनले देखाएअनुसार, अपूर्ण रिकभरीका कारण सन् २००० देखि २०१८ को बिचमा क्षति ४० प्रतिशतले बढेको थियो । यसले के संकेत गर्छ भने, विपत्बाट हुने बारम्बारको क्षति सधैँ केवल सामान्य रूपमा थपिँदै जाने मात्र हुँदैन । पहिलो विपत्ले अर्को विपत् आउने परिस्थितिलाई परिवर्तन गर्न सक्छ र त्यसपछिका विपत्को असर निकै गम्भीर हुन सक्छ ।
पुनरोत्थानलाई प्रायः एउटा सरल ‘दुई–विकल्पीय’ अवस्थाका रूपमा वर्णन गरिन्छ, जहाँ समुदाय या त पूर्ण रूपमा रिकभर भएको मानिन्छ वा पूर्णरूपमा नभएको मानिन्छ । तर, वास्तवमा, यो विभिन्न चरण वा स्तरहरूमा हुने प्रक्रिया हो । बिजुली र खानेपानीको आपूर्ति केही दिनभित्रै सुचारु हुन सक्छ । क्षतिग्रस्त सडक मर्मत गर्न महिनौँ लाग्न सक्छ । घरहरू पुनर्निर्माण गर्न वर्षौं लाग्न सक्छ । व्यवसायहरू ठुलो ऋणको भार बोकेरै पनि पुनः सञ्चालनमा आउन सक्छन् । घरायसी आर्थिक अवस्था, पारिस्थितिक प्रणाली र मानसिक स्वास्थ्यमा सुधार आउने समयसीमा भने पूर्ण रूपमा फरक–फरक हुन सक्छ ।
सरकारहरू सामान्यतया तत्काल हुने क्षति— जस्तै क्षतिग्रस्त भवन, विस्थापित मानिस, ध्वस्त पूर्वाधार र आर्थिक लागतको अभिलेख राख्न सक्षम हुन्छन् । तर, महिना वा वर्षौँ बितिसक्दा पनि के–कस्ता कुरा मर्मत वा पुनर्निर्माण हुन बाँकी छन् भन्ने कुरा जान्नु पनि उनीहरूका लागि आवश्यक हुन्छ । पुनर्लाभको अनुगमनमा आवास, पूर्वाधारको सञ्चालन अवस्था, व्यावसायिक गतिविधि, घरायसी आर्थिक स्थिति, सार्वजनिक सेवा र विस्थापनजस्ता पक्ष समेटिनुपर्छ । रिकभरीलाई भर्खरै घटेको विपत्को अन्तिम चरणका रूपमा मात्र हेर्नुहुँदैन । यो भविष्यमा आउन सक्ने घटनाको पूर्वतयारी पनि हो । पूर्वाधारको पुनस्र्थापना, घरपरिवारलाई सहयोग र अत्यावश्यक सेवाको शीघ्र सञ्चालनले अर्को घटनामा आइपर्ने जोखिमलाई कम गर्न सक्छ ।
द कन्भर्सेसनबाट