नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य तथा सामाजिक चिन्तक दिवंगत प्रदीप गिरिको चौथो स्मृति दिवसमा लहानस्थित जे.एस. मुरारका बहुमुखी क्याम्पसपरिसरमा वृक्षरोपण गरिएको छ ।
गिरिको स्मृति दिवसको अवसरमा कांग्रेस सिराहा १ नं. क्षेत्रीय कार्यसमितिको आयोजनामा क्याम्पसपरिसरमा बिहीबार बिहान ५१ वटा आँप र लिचीको बिरुवा रोपिएको हो । वृक्षरोपण गर्दै लहान नगरपालिका प्रमुखसमेत रहेका क्षेत्रीय सभापति महेशप्रसाद चौधरीले आफ्नो सक्रिय राजनीतिक जीवनकालमै चिन्तक गिरिले गरिब, विपन्न, दलित तथा सीमान्तकृत समुदायका लागि समाजवादको व्यावहारिक अभ्यास गरेको बताए ।
‘गिरि स्वयं सबैका लागि ठुलो रुखको छहारी हुनुहुन्थ्यो,’ उनले भने, ‘त्यस्ता व्यक्तित्वको सम्झनामा रोपिएका बिरुवाले पनि भविष्यमा क्याम्पस पढ्न आउने विद्यार्थीहरूका लागि शीतलता र मिठो फल दिनेछ ।’ वृक्षरोपणमा क्षेत्रीय सभापति चौधरीसहित महासमिति सदस्य रामसुन्दर चौधरी, प्रदेश सभा (क) र (ख) का सभापतिद्वय सन्तोष उपाध्याय, धर्मदेव यादव, महाधिवेशन प्रतिनिधि अरुण के.सी., जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष प्रदीप गुप्ता, महासचिव रवीन्द्र श्रेष्ठ, क्याम्पसका प्राध्यापकहरूलगायतको उपस्थिति थियो ।
को हुन् प्रदीप गिरि ?
वि.सं. २००४ साल असोज २४ गते सिराहाको बस्तीपुरमा जन्मिएका गिरी १३ वर्षको उमेरमै ०१७ सालदेखि नेपाली कांग्रेसको सक्रिय राजनीतिमा होमिएका थिए । बाबु मित्रलाल गिरि पनि कांग्रेसको राजनीतिमा सक्रिय भएकाले गिरिको राजनीति पनि कलिलै उमेरबाट सुरु भएको उनलाई चिन्नेहरू बताउँछन् ।
निरंकुश पञ्चायती व्यवस्थाविरुद्धको संघर्षका क्रममा वि.सं. ०२५ सालमा १८ महिना र ०४२ सालमा करिब एक वर्ष जेलजीवन बिताएका गिरि ०२४ सालमा नेपाल छात्र संघ बनारस (भारत) को निर्वाचित उपाध्यक्ष थिए । ०५१ सालको संसदीय निर्वाचनमा सिराहा ५ बाट निर्वाचित भएका गिरी ०५६ सालको निर्वाचनमा सिराहा ५ मा पराजित भए पनि पहिलो र दोस्रो संविधानसभा निर्वाचनमा समानुपातिक सभासद् भए ।
०७४ सालमा भएको निर्वाचनमा सिराहा १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित गिरी कांग्रेसमा दिवंगत कृष्णप्रसाद भट्टराईनिकटका नेताका रूपमा चिनिन्थे । भारतकाे जवाहरलाल नेहरू विश्वविद्यालयबाट अर्थशास्त्र र दर्शनशास्त्रमा स्नातकोत्तर गरेका गिरिका लेनिन (जीवनी), नारी, मार्क्सवाद र अर्थशास्त्रलगायतका झन्डै एक दर्जन पुस्तक प्रकाशित छन् । घाँटीको क्यान्सरको कारणले उनको निधन ४ भदौ ०७९ काठमाडौंमा भएको थियो ।