मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ श्रावण २९ शुक्रबार
  • Friday, 14 August, 2026
२o८३ श्रावण २९ शुक्रबार १४:३६:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

मल अभावसँगै सहकारीको बदमासीले किसान मर्कामा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८३ श्रावण २९ शुक्रबार १४:३६:oo

सिराहाको औरही गाउँपालिका– ४, गणेशपुरका किसान मोतीलाल यादवलाई धानबालीमा हाल्न कम्तीमा ६ बोरा डिएपी मल आवश्यक छ । तर, उनले अहिलेसम्म एक बोरा मात्रै डिएपी पाएका छन् । रोपिसकेको धानको वृद्धि विकासका लागि डिएपी मल दुईपटक हाल्नुपर्ने भए पनि सहकारीमा मल नपाउने गरेको उनको गुनासो छ ।

गणेशपुरकै अमितकुमार यादवले दुई बिघा धान खेतमा छर्न तीन बोरा मल आवश्यक भए पनि एक बोरा डिएपी मात्रै पाएको बताए । वडा कार्यालयको सिफारिसमा गाउँकै सहकारीबाट एक बोरा मल ल्याएर खेतमा छरेको उनले बताए ।

औरही– ४ का वडाध्यक्ष सुरेन्द्रप्रसाद यादवका अनुसार वडाका किसानका लागि एक लटमा कम्तीमा दुई हजार बोरा डिएपी आवश्यक पर्छ । तर, वडाको कृषि सहकारीलाई कोटामा परेको पौने दुई सय बोरा डिएपी तीन दिनअघि मात्रै वितरण गरिएको थियो । संघीय सरकारले आपूर्ति गर्ने रासायनिक मल प्रदेश, जिल्ला, पालिका हुँदै वडासम्म कोटा निर्धारण गरेर पठाउँदा आवश्यकताभन्दा निकै कम मल आउने गरेको उनले बताए । यसका कारण किसानको आक्रोश जनप्रतिनिधिले खेप्नुपरेको उनको भनाइ छ ।

गाउँपालिकाको कृषि शाखाका अनुसार ७ साउनको लटमा लहानस्थित कृषि सामग्री कम्पनीबाट गाउँपालिका क्षेत्रका ६ वटा कृषि सहकारीका लागि ८९० बोरा युरिया र ५६२ बोरा डिएपी वितरण गरिएको थियो ।

कृषि सामग्री कम्पनी लिमिटेड लहानका शाखा प्रबन्धक चेबनकुमार खड्काले कतिपय पालिकाका कृषि शाखाले विक्रेता रहेका स्थानीय सहकारीलाई समयमै सिफारिस नदिने, सिफारिस पाए पनि सहकारीले आफ्नो कोटामा परेको मल समयमै नलैजाने तथा आवश्यकताअनुसार वितरण नगर्दा समस्या हुने गरेको बताए ।

उनका अनुसार ७ साउनको लटमा कोटा पाएका केही सहकारीले आन्दोलन र कर्फ्युजस्ता कारणले समयमै मल उठाउन सकेनन् । यसबारे किसानलाई जानकारी नहुँदा उनीहरूले अभावको समस्या भोग्नुपरेको खड्काले बताए ।

साउनमा सिराहाका आठ नगरपालिका र नौ गाउँपालिका गरी १७ पालिकाका १७१ वटा विक्रेता कृषि सहकारीलाई २० हजार ५ सय बोरा युरिया र १३ हजार ३० बोरा डिएपी मलको कोटा छुट्याइएको थियो । तर, कतिपय सहकारीले समयमै मल नलैजाँदा किसानसम्म मल पुग्न नसकेको कम्पनीले जनाएको छ ।

खड्काका अनुसार आगामी १ भदौमा अर्को लटको मलको कोटा सूची सार्वजनिक गरिनेछ । त्यसपछि किसानले युरिया र डिएपी मलको अभाव झेल्नुनपर्ने उनको दाबी छ । सिराहाका १७ पालिकाका लागि २१ हजार ४४० बोरा अर्थात् एक हजार ७२ टन युरिया र २२ हजार ६८० बोरा अर्थात् एक हजार १३४ टन डिएपी आउने उनले जानकारी दिए ।