०७९ को संघीय र प्रदेश सभा निर्वाचनमा कांग्रेस र तत्कालीन माओवादी केन्द्रको समीकरण थियो । डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार थिए काँग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवा र प्रदेश सभा १ बाट माओवादी नेता खगराज भट्ट ।
जिल्लाका चुनावी सभामा देउवाले खगराजलाई गठबन्धनबाट सुदूरपश्चिम प्रदेशको भावी मुख्यमन्त्रीका रूपमा मत मागे । उसो त उम्मेदवारी दर्ताअघि नै भट्टलाई सुदूरपश्चिमको भावी मुख्यमन्त्रीका रूपमा हेरिएको थियो । देउवाले सार्वजनिक रूपमै घोषणा गरेपछि मुख्यमन्त्रीमा भट्टको चर्चा थप चुलियो । देउवा र भट्ट दुवै निर्वाचित पनि भए । तर, चुनावअघिदेखि मुख्यमन्त्रीको चर्चामा रहेका भट्ट चुनावपछि मुख्यमन्त्री बन्न पाएनन् ।
चुनावपछि कांग्रेस–माओवादीको गठबन्धन टुट्यो । एमाले र माओवादी गठबन्धन बनेपछि सुदूरपश्चिम सरकारको नेतृत्व एमालेको भागमा पर्याे । एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल एक महिना मुख्यमन्त्री बने । प्रदेश सभाको दोस्रो कार्यकालको करिब साढे तीन वर्षको अवधिमा तीनजना सांसद चारपटक मुख्यमन्त्री बनिसकेका छन् ।
चुनावअघि नै मुख्यमन्त्रीको चर्चामा रहेका भट्टले बल्ल मुख्यमन्त्री बन्ने अवसर पाएका छन् । प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका छन् । कांग्रेस–एमालेको सत्तासमीकरण टुटेर एमाले–नेकपा समीकरण बनेपछि भट्टलाई मुख्यमन्त्री बन्ने बाटो खुलेको हो ।
भट्टको राजनीतिक यात्रा
२ पुस २०३१ सालमा डडेलधुराको अजयमेरू गाउँपालिका–४, चौडीमा जन्मिएका भट्ट लामो समय निरन्तर संघर्षपूर्ण राजनीतिक यात्रा तय गरेका सुदूरपश्चिमका अनुभवी कम्युनिस्ट नेता हुन् । उनी किशोरावस्थामै ०४७ सालमा तत्कालीन नेकपा (एकता केन्द्र) को सदस्यता लिएर कम्युनिस्ट राजनीतिमा लागेका थिए । राजनीतिक जीवनको प्रारम्भिक कालमा विद्यार्थी आन्दोलनमा सक्रिय रहेका भट्टले अखिल क्रान्तिकारीको संगठन विस्तार र सुदूरपश्चिममा विद्यार्थी राजनीतिको विकासमा भूमिका खेले ।
जनयुद्धमा होमिएका भट्टले केही समय जेलजीवन पनि बिताएका थिए । २४ फागुन २०५२ सालमा अमरगढी नगरपालिका–३, बाट पक्राउ परेका भट्टमाथि तत्कालीन सरकारले राज्यविरुद्ध अपराधसम्बन्धी मुद्दा चलायो । ८ पुस ०५३ सम्म उनी जेलमा रहे । त्यसपछि जनयुद्धकालमा उनी पूर्ण रूपमा भूमिगत राजनीनिमा सक्रिय भए । त्यस क्रममा सुदूरपश्चिमका विभिन्न जिल्लामा पार्टी संगठन निर्माण र विस्तारको जिम्मेवारी सम्हाले ।
विभिन्न जिम्मेवारीमा रहेर आफूलाई क्षेत्रीय नेताको रूपमा स्थापित गरेका भट्ट २०६० सालमा तत्कालीन नेकपा (माओवादी) को केन्द्रीय समिति पुगे । मुलुकमा शान्ति प्रक्रियापछि संघीय गणतान्त्रिक संरचनाको स्थापना भयो । शान्ति प्रक्रियापछि भट्ट माओवादी केन्द्रको स्थायी समिति सदस्य, तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सुदूरपश्चिम प्रदेश सहइन्चार्ज तथा पछि नेकपा माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारीमा रहेर काम गरे ।
प्रदेश संरचना निर्माणको प्रारम्भिक चरणदेखि नै प्रदेशको संस्थागत विकास, राजनीतिक संगठन र सुदूरपश्चिमका विकासका सवालमा सक्रिय भट्ट तत्कालीन माओवादी केन्द्रका सुदूरपश्चिमका शीर्ष तहका नेता हुन् ।
देउवाका सदावहार प्रतिस्पर्धी
शान्ति प्रक्रिया सुरु भएपछिको खुला राजनीतिमा भट्टको सुरुका संसदीय प्रतिस्पर्धा सुखद रहेनन् । त्यही प्रतिस्पर्धाले उनलाई राष्ट्रिय राजनीतिमा भने थप परिचित गरायो । शान्ति प्रक्रियापछिका चुनावमा उनी डडेलधुराबाट ०४७ देखिका हरेका चुनाव जित्दै आएका नेपाली कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवाका सदावहार प्रतिस्पर्धीजस्तै देखिए ।
०६४ र ०७० को संविधान सभा निर्वाचन तथा ०७४ को आमनिर्वाचनमा भट्ट देउवासँग पराजित भए । ०६४ को निर्वाचनमा देउवालाई कडा टक्कर दिएका उनी झिनो मतान्तरले पराजित भएका थिए । ०७४ को चुनावमा वामगठबन्धनको बल पनि उनको जितका लागि पर्याप्त भएन ।
०७९ को संसदीय चुनावमा भने उनको संघीय संसद्को बाटो फेरियो । भट्ट कांग्रेस–माओवादीको गठबन्धनबाट डडेलधुरा प्रदेश सभा १ मा प्रदेश सभा सदस्यको उम्मेदवार बने र निर्वाचित पनि भए । प्रदेश सभामा उनी माओवादी संसदीय दलका नेता बने ।
चुनावका वेला कांग्रेस–माओवादीको गठबन्धन हुँदा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति देउवाले भट्टलाई मुख्यमन्त्री बनाउने आश्वासन दिएको चर्चा थियो । तर, गठबन्धन फेरिएपछि उनी मुख्यमन्त्री बन्न पाएनन् ।
माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीबिचको एकीकरणपछि बनेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) २२ सदस्यसहित सुदूरपश्चिम प्रदेश सभाको सबैभन्दा ठुलो दल बन्यो । भट्ट उक्त संसदीय दलको नेतृत्वमा छन् ।
परिवार नै राजनीतिमा
भट्टको परिवारका सदस्यहरू पनि जनयुद्धकालदेखि नै राजनीतिमा सक्रिय थिए । उनका दाइ जयराज भट्ट पनि राजनीतिक आन्दोलनमा सक्रिय थिए । जनयुद्धकालमै उनको सहादत भयो । भाइ उमेश भट्ट पनि भूमिगत बनेका थिए ।
भट्टका भाउजू नन्दादेवी भट्ट, श्रीमती मञ्जु बम, भाइबुहारी धर्मा बोहरा पनि जनयुद्धकालमा पूर्णकालीन भूमिगत भएका थिए । त्यसैले भट्टको परिवार नै राजनीतिक परिवर्तन र क्रान्तिकारी आन्दोलनप्रति समर्पित परिवारका रूपमा चिनिँदै आएको छ ।
मुख्यमन्त्री नियुक्त भएपछि भट्टले आफू सदनको विश्वास लिएर सुदूरपश्चिमका २७ लाख जनताको हितमा काम गर्ने प्रतिबद्धता जनाएका छन् । ‘दैनिक चमत्कार त सम्भव हुँदैन, तर जे गर्नेछु, राम्रो गर्नेछु, मान्छेलाई राम्रो गर्याे भन्ने अनुभूति दिलाउनेछु,’ उनले भने ।