मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ श्रावण २८ बिहीबार
  • Thursday, 13 August, 2026
नयाँ पत्रिका काठमाडाैं
२o८३ श्रावण २८ बिहीबार १o:२१:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

रक्तचन्दन तस्करीमा चालक र सहचालकलाई जेल : स्थायी ठेगाना नखुलेको भन्दै मुख्य कारोबारीलाई १३ वर्षसम्म उन्मुक्ति 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८३ श्रावण २८ बिहीबार १o:२१:oo

१३ वर्षअघि काठमाडौंमा बरामद भएको रक्तचन्दन तस्करीको घटनामा चालक र सहचालकलाई कैद र जरिवाना भयो । तर, स्थायी ठेगाना नखुलेको भन्दै मुख्य कारोबारीले भने अहिलेसम्म उन्मुक्ति पाएका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंले १८ चैत ०६९ मा गुह्येश्वरीबाट २२६ केजी रक्तचन्दन बरामद गरेको थियो । बा१ख ५७५९ नम्बरको मिनीट्रकमा बालुवाभित्र लुकाएर रक्तचन्दन तस्करी गर्न लागिएको अवस्थामा प्रहरीले बरामद गरेको थियो । सोही रक्तचन्दनका मालिकको मुद्दा १३ वर्षदेखि अदालतमा तामेलीमा छ ।

रक्तचन्दनसहित बसचालक सिन्धुलीका भीमबहादुर सुनुवार र सहचालक सर्लाहीका खेमबहादुर सिंह पक्राउ परेका थिए । जिल्ला वन कार्यालयमार्फत सुनुवार सिंह र नवीन बस्नेतविरुद्ध मुद्दा दायर भएकोमा ९ वैशाख ०७० मा जिल्ला अदालतले मुद्दाको फैसला गरिसकेको छ ।

अदालतले गाडीका चालक र सहचालकलाई जनही ६–६ महिना कैद र तीन लाख ६१ हजार ६ सय रुपैयाँ जरिवाना सुनायो । भाडाको गाडी पनि जफत हुने ठहर गर्‍यो । तर, मुख्य आरोपी मानिएका बस्नेतको भने वतन नखुलेको भन्दै तामेलीमा राखिएको छ । वतन नखुलेको भनिएका आरोपी बस्नेतको उच्च प्रहरी अधिकारीसँगै उठबस रहेको प्रहरी स्रोत बताउँछ । बस्नेतले नै बालुवा ओसार्न भन्दै मिनीट्रक बोलाएर बालुवाभित्र रक्तचन्दन लुकाएर तस्करीको प्रयास गरेको अनुसन्धानमा खुलेको थियो । तर, उनको स्थायी ठेगाना पत्ता नलागेको भन्दै काठमाडौं महानगरपालिका– १६ बस्ने भनेर अभियोग दर्ता गरिएको थियो । उनको हकमा जिल्ला अदालतका तत्कालीन न्यायाशीश रमेशराज पोखरेलको इजलासको फैसलामा भनिएको छ, ‘निज नवीन बस्नेतको वास्तविक वतन खुलाई आएमा बाँकी कारबाही हुन सक्ने नै हुँदा निजका हकमा प्रस्तुत मुद्दा जिल्ला अदालत, नियमावली, २०५२ को नियम १९ (क)बमोजिम तामेलीमा राखिएको छ ।’

त्यसवेला भीमबहादुर र खेमबहादुर दुवैले प्रस्ट रूपमा सो बालुवा ओसार्न कालिञ्चोक सप्लायर्सका साहु नवीन बस्नेतले लगाएको भनेर बयानमा बताएका छन् । बस्नेत त्यतिवेला बालुवाको डिपो चलाउने गर्दथे । चालक भीमबहादुरले बयानमा भनेका छन्, ‘मिति २०६९/१२/१६ गते कालिञ्चोक सप्लायर्सका साहु नवीन बस्नेतले फोन गरी बालुवा लिएर जानुपर्‍यो भनी बोलाउनु भएको थियो । मैले निजलाई मेरो लाइसेन्स छैन भन्दा निजले सो बालुवा जोरपाटीबाट करिब दुई सय मिटरजति भित्र लाने हो, केही फरक पर्दैन भनेका थिए । गाडी भएको ठाउँमा जाँदा गाडी लोड भइसकेको थियो । म गाडी लिएर नवीन बस्नेत बाइकमा अघि–अघि म पछि–पछि पिछा गर्दै गएँ । बिचबाटोमा प्रहरीले गाडी चेक गर्दा जिल्ला विकासलाई कर तिरेको कागज नभएकाले प्रहरीले गाडीलाई बरामद गर्‍यो । पर्सिपल्ट मात्र गाडी फिर्ता भयो । सोही गाडी लिएर म गुह्येश्वरी हुँदै गोठाटारतर्फ लागेँं । गुह्येश्वरीमा सिभिलमा रहेका प्रहरीले गाडीमा खोजतलास गर्दा बालुवामुनि लुकाइराखेको रक्तचन्दन भेट्टाए । गाडीमा रक्तचन्दन भएको कुरा मलाई थाहा थिएन । यस अपराधमा मुख्य संलग्नता नवीन बस्नेतको छ । निजले हामीलाई काम लगाउने बहानामा फसाएका हुन् ।’ गाडीधनी रमेश प्रजापतिले पनि कारोबार गर्नेलाई कारबाही हुनुपर्ने बयान गरेका थिए । तर, मुख्य कारोबारीलाई केही नभई उनको गाडी भने जफत भएको थियो ।

प्रहरी स्रोतका अनुसार त्यतिवेलै बस्नेतको सबै विषय पहिचानसमेत भएको थियो । तर, दबाबका कारण उनलाई पक्राउ नगरी वास्तविक ठेगानासमेत नराखी मुद्दा चलाइएको थियो । त्यसपछि प्रहरी तथा वन कार्यालय दुवैले उनको वतन पत्ता लगाउने प्रयास नै गरेनन् । बस्नेत हाल क्षमादेवी कन्ट्रक्सन, सान्दर्भिक निर्माण सेवालगायत कम्पनीका मालिक छन् । प्रहरीकै उच्च अधिकारीसँग हिमचिम रहेको स्रोत बताउँछ । जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी दानबहादुर थापा मुद्दा दायर हुँदाको बखत स्थायी ठेगाना नखुलेका व्यक्तिको हकमा पछि खुलाएर पठाउने गरिएको बताउँछन् । तर, यस मुद्दाको विषयमा भने विस्तृत बुझेर मात्र बताउन सकिने उनको भनाइ छ ।