बागमती प्रदेश सभाको दोस्रो कार्यकालअन्तर्गत आठौँ अधिवेशनको १७औँ बैठक आगामी भदौ १ गते (सोमबार) दिउँसो १ बजे बस्ने भएको छ । प्रदेश सभा सचिवालयले सूचना जारी गर्दै बैठकमा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विश्वासको मतको प्रस्ताव पेस गर्ने कार्यसूची रहेको जनाएको छ ।
प्रदेश सभा सचिव रामकुमार पौडेलद्वारा जारी सूचनाअनुसार सभामुखले प्रदेश सभा नियमावली, २०७४ को नियम ६ बमोजिम भदौ १ गते दिउँसो १ बजे बैठक बस्ने गरी समय निर्धारण गरेका हुन् ।
उक्त बैठकमा मुख्यमन्त्री बानियाँले नेपालको संविधानको धारा १८८ को उपधारा (२) तथा प्रदेशसभा नियमावली, २०७४ को नियम १४३ बमोजिम विश्वासको मतको प्रस्ताव पेस गर्नेछन् ।
सरकारमा सहभागी रहेको एमालेले साउन ६ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री बानियाँ संविधानअनुसार तोकिएको समयभित्र विश्वासको मत लिनुपर्ने अवस्थामा पुगेका हुन् ।
यसअघि कांग्रेस संसदीय दलले भदौ ३ गतेअघि नै विश्वासको मत लिने निर्णय गरेको थियो। त्यसअनुसार पहिले भदौ ३ गते विश्वासको मत लिने तयारी भए पनि सरकारले दुई दिनअघि नै शक्ति परीक्षण गर्ने निर्णय गर्दै प्रदेश सभा बैठक भदौ १ गतेका लागि बोलाएको हो ।
१०४ सदस्यीय बागमती प्रदेश सभामा सरकारलाई निरन्तरता दिन मुख्यमन्त्री बानियाँले कम्तीमा ५३ सांसदको समर्थन जुटाउनुपर्नेछ ।