मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ श्रावण २९ शुक्रबार
  • Friday, 14 August, 2026
२o८३ श्रावण २९ शुक्रबार १२:o७:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

भदौ १ मा विश्वासको मत लिँदै मुख्यमन्त्री बानियाँ

बहुमत जुटाउने प्रयासबिच दुई दिनअघि नै शक्ति परीक्षण

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८३ श्रावण २९ शुक्रबार १२:o७:oo

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले यसअघि तय गरिएको मितिभन्दा दुई दिनअघि नै प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन् । यसअघि भदौ ३ गते विश्वासको मत लिने आन्तरिक तयारी भए पनि अब भदौ १ गते (सोमबार) दिउँसो १ बजे विश्वासको मत लिने निर्णय गरिएको हो ।

मुख्यमन्त्री बानियाँले प्रदेश सभा सचिवालयलाई पत्राचार गर्दै भदौ १ गते दिउँसो १ बजे प्रदेश सभा बैठकको व्यवस्था गरी विश्वासको मत लिने प्रक्रिया अगाडि बढाउन आग्रह गरेका छन् । सरकारमा सहभागी एमालेले साउन ६ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री बानियाँ संविधानअनुसार तोकिएको अवधिभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने अवस्थामा पुगेका हुन् ।

एमालेको समर्थन फिर्तापछि नेपाली कांग्रेस नेतृत्वको सरकार अल्पमतमा परेको छ । संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री बानियाँले भदौ ४ गतेभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने बाध्यता थियो । यही विषयमा कांग्रेस संसदीय दलको बैठकले पनि भदौ ३ गतेअघि नै विश्वासको मत लिने निर्णय गरेको थियो । तर, राजनीतिक अन्योल लम्ब्याउनुभन्दा छिट्टै शक्ति परीक्षण गरेर सरकारको अवस्थाबारे स्पष्ट हुन मिति अगाडि सारेको मुख्यमन्त्रीनिकट स्रोतको दाबी छ ।

बहुमतको अंकगणित अझै पेचिलो, दलहरूबिच संवाद जारी
१०४ सदस्यीय बागमती प्रदेश सभामा सरकार जोगाउन मुख्यमन्त्री बानियाँलाई कम्तीमा ५३ सांसदको समर्थन आवश्यक छ । हालसम्म उनको पक्षमा नेपाली कांग्रेसका ३६ र सरकारमा सहभागी हाम्रो नेपाली पार्टीका दुई गरी ३८ सांसदको समर्थन रहेको छ । हाम्रो नेपाली पार्टी सरकारमा एक मन्त्रीसहित सहभागी भइसकेको छ। सरकारलाई निरन्तरता दिन मुख्यमन्त्री बानियाँले अझै १५ सांसदको समर्थन जुटाउनुपर्ने अवस्था छ ।

यता, २६ सदस्यीय नेकपा र २५ सदस्यीय एमाले नयाँ सत्तासमीकरण बनाउने प्रयासमा छन् । तर, दुवै दलले मिलेर पनि आवश्यक बहुमत जुटाउन सकेका छैनन् । प्रदेश सभाको तेस्रो ठुलो दल १२ सदस्यीय राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकार गठनको प्रक्रियामा भूमिका नलिने निर्णय गरिसकेको छ । यस्तै, तीन सदस्यीय नेपाल मजदुर किसान पार्टी (नेमकिपा) पनि परम्परागत रूपमा प्रतिपक्षमै रहने अडानमा छ ।

एमालेले समर्थन फिर्ता लिएपछि प्रदेशको राजनीतिक गतिविधि तीव्र बनेको छ। कांग्रेसले सरकारलाई निरन्तरता दिन अन्य दलसँग संवादलाई तीव्र बनाएको छ भने एमाले–नेकपाबिच नयाँ सरकार गठनका लागि निरन्तर छलफल भइरहेको छ । मुख्यमन्त्री बानियाँले केही दिनअघि नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा पनि बागमती प्रदेशको राजनीतिक अवस्थाबारे ब्रिफिङ गर्दै हालको अंकगणितअनुसार कुनै पनि पक्षले सहज रूपमा बहुमत पुर्‍याउन नसक्ने बताएका थिए ।

उनले प्रदेशमा राजनीतिक स्थायित्वका लागि सबै दलसँग सहकार्यको प्रयास भइरहेको जानकारी गराएका थिए । भदौ १ गते दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री बानियाँले विश्वासको मतसम्बन्धी प्रस्ताव प्रस्तुत गर्नेछन्। प्रस्तावमाथि छलफलपछि मतदान हुनेछ । यदि उनले आवश्यक बहुमत प्राप्त गरे कांग्रेस नेतृत्वको सरकार यथावत् रहनेछ । बहुमत जुटाउन नसके संविधानअनुसार बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ ।