नक्कली कागजात तयार गरेर नक्कली मोही खडा गरी सुनसरीको धरानस्थित नरसिंह भगवान मन्दिरको १० कट्ठा ५ धुर जग्गा हिनामिना गरेको भेटिएको छ । अख्तियारले धरान नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडासहित ९ विरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
मुद्दा लागेका अन्यमा तत्कालीन सिंगिया गाविसका अध्यक्ष/सचिव कपिलमणि दाहाल, सुनसरी मालपोत कार्यालयका तत्कालीन मालपोत अधिकृत सुशील बैद्य, तत्कालीन शाखा अधिकृत तुङ्गनाथ भण्डारी र तत्कालीन नायब सुब्बा केदारबहादुर कार्की, तत्कालीन धरान नगरपालिका– १४ का वडासचिव उत्तम आले, नरसिंह भगवान मन्दिरका पुजारी टिर्रु चौधरी, स्थानीय जग्गा कारोबारी पंकज घिमिरे र भागमैन थरुनी छन् । उक्त जग्गाको हाल हुन आउने मूल्य ३६ लाख १० हजार रुपैयाँलाई अख्तियारले बिगो कायम गरेको छ ।
सुनसरीको रामधुनी नगरपालिकाअन्तर्गत साबिक भादगाउँ सिनवारी– ४ को कित्ता नं. १ को पाँच कट्ठा सात धुर र कित्ता नं. ४ को चार कट्ठा १८ धुर जग्गा उनीहरूले आपसी मिलेमतो र योजना बनाएर हिनामिना गरेको अख्तियारको ठहर छ । साबिक सिंगिया गाविसबाट ८ जेठ ०६४ र साबिक धरान नगरपालिका– १४ कार्यालयबाट ९ माघ ०६४ को मितिमा भएको झुटा व्यहोरा भएको सर्जमिन मुचुल्का बनाएर सिंगिया गाविसले उक्त व्यहोरासँग मिल्ने नाता प्रमाणित प्रमाणपत्र बनाइदिएको थियो ।
धरान नगरपालिकाले सुनसरी मालपोत कार्यालयलाई ती जग्गा नरसिंह भगवानको मन्दिरमा पुजारी रहेका टिर्रु चौधरीका नाममा नामसारी गरिदिन सिफारिससमेत गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ । सुनसरी मालपोतले पनि २१ जेठ ०६५ मा नामसारीको निर्णय गरी धरान उपमहानगरपालिका– १४ स्थित नरसिंह भगवान मन्दिरको नाममा रहेको १० कट्ठा पाँच धुर जग्गा नक्कली जग्गाधनी टिर्रु चौधरीको नाममा दर्ता गरिदिएको थियो ।
हालको न्यूनतम मूल्यअनुसार उक्त जग्गाको मूल्य ३६ लाख १० हजार हुन आउँछ । गैरकानुनी रूपमा नक्कली जग्गा धनी खडा गरी टिर्रु चौधरीको नाममा दर्ता कायम गरी जग्गा बिक्रीसमेत गरेको भन्दै त्यसलाई भ्रष्टाचारजन्य कसुर कायम गरेर अख्तियारले संलग्न व्यक्तिहरूउपर मुद्दा दायर गरेको हो ।