रघुगंगा गाउँपालिकाले गाउँपालिकामै करदाता सेवा सुरु गरेको छ । गाउँपालिकाले साबिकमा आन्तरिक राजस्व कार्यालय र करदाता सेवा कार्यालयबाट प्रदान हुँदै आएका विभिन्न सेवा स्थानीय तहमै उपलब्ध गराउने उद्देश्यले करदाता सेवा सुरु गरेको हो ।
आन्तरिक राजस्व कार्यालय बागलुङ र गाउँपालिकाबिच भएको समझदारीबमोजिम करदाता सेवा सञ्चालन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलराज पौडेलले जानकारी दिए । उनका अनुसार सेवा सञ्चालनसँगै अब पालिकाबाटै व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) प्रदान गर्न सुरु गरिएको छ । साथै, गाउँपालिकाभित्र दर्ता भएका व्यवसाय तथा निकायलाई व्यावसायिक प्यान जारी गर्ने व्यवस्थासमेत गरिएको छ ।
यसैगरी, प्यान दर्तासम्बन्धी संशोधन कार्य, दर्ता खारेज भएका व्यावसायिक प्यानलाई व्यक्तिगत प्यानमा रूपान्तरण गर्ने तथा आवश्यक परे आन्तरिक राजस्व कार्यालय, बागलुङबाट सेवा प्रदान गर्ने कार्यका लागि रेफर गर्ने व्यवस्थासमेत गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी र आन्तरिक राजस्व कार्यालय बागलुङका प्रमुख कर अधिकृत कपिल सिलवालले व्यावसायिक र व्यक्तिगत लेखा नम्बरको प्रमाणपत्र प्रदान गरेर सेवाको सुरु गरे । कार्यक्रममा अनु अश्विनी कृषि तथा पशुपक्षी फार्मका सञ्चालक भदेवी तिलिजालाई व्यावसायिक र माधव भण्डारीलाई प्यान प्रदान गरिएको थियो ।
साबिकको धवलागिरि अञ्चलका म्याग्दी, पर्वत, बागलुङ र मुस्ताङमा रहेका स्थानीय तहहरूमध्ये रघुगंगा करदाता सेवा सञ्चालन गर्ने छैटौँ पालिका बनेको प्रमुख कर अधिकृत सिलवालले जानकारी दिए । करदाता सेवाले नागरिकलाई समय र आर्थिक बचत गराउने गाउँपालिका अध्यक्ष भण्डारीले बताए ।