मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ श्रावण २९ शुक्रबार
  • Friday, 14 August, 2026
नयाँ पत्रिका विराटनगर
२o८३ श्रावण २९ शुक्रबार o९:३४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

विराटनगरका सातवटा आँखा अस्पतालमा प्रशासनको तालाबन्दी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, विराटनगर
नयाँ पत्रिका
२o८३ श्रावण २९ शुक्रबार o९:३४:oo

मोरङको विराटनगरमा सञ्चालनमा रहेका सातवटा निजी आँखा अस्पताल प्रशासनले बन्द गराएको छ । जिल्ला प्रशासन कार्यालय मोरङ र कोशी प्रदेश स्वास्थ्य मन्त्रालयको संयुक्त अनुमगन टोलीले गरेको अनुगमनमा विराटनगरमा सञ्चालन भइरहेका सातवटा निजी अस्पतालले न्यूनतम मापदण्डसमेत पूरा नगरेको पाइएको भन्दै थप अनुसन्धानका लागि सिलबन्दी गरेर बन्द गराएको हो ।

अनुसन्धानका लागि सिलबन्दी गरेका अस्पतालमा विराटनगर महानगरपालिका– १५ रानीस्थित अखण्ड ज्योति आँखा अस्पताल, हिमाल आँखा अस्पताल, नेपाल आँखा अस्पताल, सञ्जीवनी आई केयर, इफराह आँखा अस्पताल र विराट रानी आँखा अस्पताल छन् । यसैगरी, मापदण्ड नपुगेको भन्दै टोलीले विराट आँखा अस्पतालको ल्याब (प्रयोगशाला)मा पनि सिलबन्दी गरेको छ ।

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी पवनराज कोइरालाका अनुसार मापदण्डविपरीत आँखा अस्पताल सञ्चालन भइरहेको भन्ने व्यापक गुनासो आएपछि बुधबार र बिहीबार दुई दिन लगातार स्वास्थ्य मन्त्रालय समेतको टोलीले अनुगमन गरेको थियो । अनुगमनका क्रममा ६ वटा अस्पताल र एउटा अस्पतालको ल्याबले कानुनी प्रक्रिया र प्राविधिक मापदण्ड मिचेर सेवा दिइरहेको पाइएको छ । सहायक प्रजिअ कोइरालाले विराटनगरमा सञ्चालनमा रहेका अन्य आँखा अस्पतालको पनि निरन्तर अनुगमन जारी रहने जानकारी दिए ।

निजी आँखा अस्पताल सञ्चालन गर्दा कम्तीमा दुई सय शङ्ढया हुनुपर्ने प्रावधान छ । तर, विराटनगरमा यत्रतत्र सञ्चालन भइरहेका अस्पतालहरूले कोशी प्रदेश स्वास्थ्य निर्देशनालयबाट ‘आँखा उपचार केन्द्र’का रूपमा मात्र स्वीकृति लिएर केही बेडहरू मात्र राखेर आँखाका जटिल अप्रेसन गर्दै आएका थिए । विराटनगरमा भारतीय बिरामीलाई लक्षित गरेर सीमाक्षेत्रनजिक घरभाडा लिएर आँखा उपचार केन्द्रको स्वीकृति लिएर आँखा अस्पताल भनी प्रचारप्रसार गरेर उपचार गर्ने गरेको आरोप प्रशासनको छ ।