मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ श्रावण २९ शुक्रबार
  • Friday, 14 August, 2026
नयाँ पत्रिका काठमाडाैं
२o८३ श्रावण २९ शुक्रबार o८:५९:oo
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

दसौँ राष्ट्रिय खेलकुद सुर्खेतमा गर्न पाँचौँपटक मिति घोषणा 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८३ श्रावण २९ शुक्रबार o८:५९:oo
  • राखेप र मन्त्रालयबिचको टकरावका कारण ०८१ मंसिरमै हुनुपर्ने प्रतियोगिताको मिति पाँचौँपटक घोषणा गरिएको छ । राखेपको बिहीबार बसेको १२५औँ बोर्ड बैठकले आगामी १६–२९ मंसिरसम्म प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको नयाँ मिति घोषणा गरेको छ । खेलकुदमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा बसेको राखेपको १२५औँ बैठकले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आगामी १६ देखि २९ मंसिरसम्म प्रतियोगिता गर्ने निर्णय गरेको हो । खेलकुद मन्त्रालयको सभाहलमा दिउँसो १ बजे बोलाएको बैठक २ः३० बजे सुरु भएको थियो । बैठक ५ बजे सकिएको थियो । बैठकले पाँचौँपटक दसौँ राष्ट्रिय खेलकुदको मिति तोकेको हो ।

कर्णाली प्रदेशका सदस्यसचिव रविन चन्दले प्रतियोगिता आयोजना गर्न प्रदेश तयार भएको बताए । ‘कर्णाली प्रतियोगिता आयोजना गर्न तयार छ । केही सामान्यबाहेक प्रतियोगिताका सबै पूर्वाधारका काम पूरा भएका छन्,’ उनले भने । चन्दका अनुसार प्रदेशले केही खेल आफूअनुकूल अर्को बैठकबाट राख्नेछ । दसौँ राष्ट्रिय प्रतियोगितामा २७ खेल हुने निर्णय भएको चन्दले बताए । ‘आयोजकका रूपमा कर्णाली प्रदेशले केही खेल थप्न पाउने अधिकार छ । त्यसका लागि अर्को बैठकले निर्णय गर्नेछ,’ चन्दले भने ।

यसअघि पनि पटक–पटक मिति तय भए पनि प्रतियोगिता हुन सकेको छैन । ०७९ कात्तिक–मंसिरमा गण्डकीमा भएको नवौँ राष्ट्रिय खेलकुदको समापनमा १०औँ राष्ट्रिय खेलकुद ०८१ मंसिरमा कर्णाली प्रदेशमा गर्ने घोषणा भएको थियो । पूर्वाधार तयार नभएको भन्दै पहिलो मितिमा खेल आयोजना भएन । त्यसपछि  २३ देखि ३० चैत ०८१ सम्म हुने भनिएको थियो । तेस्रोपटक ०८२ जेठ ३ देखि १० सम्म प्रतियोगिता हुने भनियो ।

चौथोपटक १ देखि ७ फागुन ०८२ सम्म हुने भनिएको थियो । तर, राखेपले चारपटक मिति घोषणा गर्दा पनि प्रतियोगिता आयोजना गर्न सकेन । तत्कालीन खेलकुदमन्त्री तेजुलाल चौधरी र सदस्यसचिव टंकलाल घिसिङबिचको आपसी टकरावका कारण प्रतियोगिता भएन । पछिल्लोपटक जेन–जी मन्त्री बनेका बब्लु गुप्ताले ०८२ फागुनमा गर्ने निर्णय गरेका थिए । उनको राजीनामापछि चौथोपटकको मितिमा पनि दसौँ खेलकुद हुन सकेन । यसैबिच, बैठकले प्रथम राष्ट्रिय पारा खेलकुद आगामी १५ पुसदेखि सञ्चालन गर्ने पनि निर्णय गरेको छ ।

आठ महिनापछि बैठक
राखेपको बोर्ड बैठक आठ महिनापछि बसेको हो । तत्कालीन मन्त्री बब्लु गुप्ताको अध्यक्षतामा ९ पुसमा राखेपको अन्तिम बैठक बसेको थियो । बैठकको अध्यक्षता गरेका शिक्षा तथा खेलकुदमन्त्री सुस्मित पोखरेलले दसौँ राष्ट्रिय खेलकुद सफल बनाउन सम्पूर्ण पक्ष एकताबद्ध भई लाग्न अनुरोध गरका छन् ।

बैठकमा मन्त्रालयका सचिव चूडामणि पौडेल, राखेपका उपाध्यक्ष विशाल श्रेष्ठ, राखेपका सदस्यसचिव रामचरित्र मेहतालगायत प्रदेश खेलकुद परिषद्का सदस्य–सचिवहरूसहित परिषद्का बोर्ड सदस्यहरूको उपस्थिति थियो । बैठकले २०औँ एसियाली खेलकुदमा सहभागी हुने खेलाडी तथा अफिसियलको नामावली अनुमोदन गरेको छ । ३ देखि १८ असोजसम्म जापानको नागाया र आइचीमा हुने २०औँ एसियाली खेलकुदमा नेपालबाट २२ खेलमा प्रतिस्पर्धा गर्नेछन् । त्यसका लागि १६८ जना प्रशिक्षक र खेलाडी सहभागी हुने टुंगो लागिसकेको छ ।

एन्फाको विषयमा छलफल भएन
बोर्ड बैठकमा राखेपले अखिल नेपाल फुटबल संघ (एन्फा)को तदर्थ समिति गठन गर्ने चर्चा चलेको थियो । गत ५ असारमै पंकजविक्रम नेम्वाङको कार्यकाल सकिए पनि मन्त्री पोखरेल तदर्थ समिति बनाउन अग्रसर भएनन् ।

२३औँ फिफा विश्वकप फुटबल प्रतियोगिता चलिरहँदा गत ११ असारमा फिफाले एन्फालाई अनिश्चितकालीन प्रतिबन्ध लगाएको थियो । फिफाले तेस्रो पक्ष (राखेप)को हस्तक्षेप आरोप लगाउँदै नेपालको फुटबलमाथि अनिश्चितकालीन प्रतिबन्ध लगाएको हो । निलम्बनको डेढ महिना बित्दा पनि राखेपले ठोस निर्णय लिएको छैन । बैठकमा एन्फाको एजेन्डा पनि समावेश थियो, तर एन्फासम्बन्धी कुनै छलफल नै भएन ।

मन्त्री पोखरेलले सहभागी सदस्यहरूलाई फिफाबाट सकारात्मक सन्देश आएको जानकारी गराए । देशको कानुन र ऐनअनुसार तहगत निर्वाचनमै छलफल भएको उनले धारणा राखेका थिए । ‘मन्त्रीज्यूबाट एन्फाको विषयमा सकारात्मक कुरा भएको जानकारी भयो । विशेषतः फिफा र एन्फा प्रतिनिधिसँग तहगत निर्वाचनमै जाने छलफल भएको जानकारी बैठकमा गराइयो,’ बैठकमा सहभागी एक सदस्यले नयाँ पत्रिकालाई भने, ‘राखेपको डेटलाइन नै तहगत निर्वाचन गराउने र साफ च्याम्पियनसिपअघि राम्रो खबर सुन्न पाउने जानकारी भएको छ ।’

दसौँ राष्ट्रिय खेलकुद भव्य बनाउँछौँ : रविन चन्द, सदस्यसचिव, कर्णाली प्रदेश
दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता भव्य रूपमा सम्पन्न गर्न तयार छौँ । कर्णाली प्रदेशमा पहिलोपटक आयोजना हुन लागेको प्रतियोगिताको तयारी पूरा भइसकेको छ । प्रतियोगिताका अधिकांश खेल प्रदेश राजधानी सुर्खेतमा हुनेछन् । त्यसका लागि पूर्वाधार तयार भइसकेको छ । समग्रमा २७ खेलभन्दा बढी हुनेछैन । एक वा दुई खेल तलमाथि हुन सक्छ । केही खेल आफूअनुकूल थप्नेछौँ ।