स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले १६ हजार मेगावाट विद्युत्को पिपिए खुलाउन माग गरेको छ । पिपिए रोकिँदा अध्ययन तथा निर्माणको चरणमा रहेका आयोजनाको विकासमा असर परेको भन्दै आवेदन दिएका सबै योग्य आयोजनाको पिपिए खुलाउन इप्पानले माग गरेको हो ।
इप्पानका अध्यक्ष मोहनकुमार डाँगी नेतृत्वको प्रतिनिमण्डलले सोमबार नेपाल विद्युत् प्राधिकरण कामु कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठलाई भेटेर पिपिए खुलाउन माग गरेको हो । भेटमा इप्पान अध्यक्ष डाँगीले निजी क्षेत्रले लामो समयदेखि उठाउँदै आएका समस्यालाई गम्भीरतापूर्वक सम्बोधन गर्न प्राधिकरणसँग आग्रह गरे ।
‘लामो समयदेखि पिपिए हुन नसकेका आयोजनाको समस्या तत्काल समाधान गर्ने १६ हजार मेगावाटको सीमा नै खुला गरेर सबै योग्य आयोजनाको पिपिए प्रक्रिया अघि बढाउनुपर्छ,’ उनले भने, ‘पिपिए रोकिँदा अध्ययन तथा निर्माणको चरणमा रहेका आयोजनाको लगानी, वित्तीय व्यवस्थापन र समग्र आयोजना विकासमा असर परेको छ ।’
भेटमा प्राधिकरणका कामु कार्यकारी निर्देशक श्रेष्ठले १० मेगावाटमुनिका आयोजनाको पिपिए प्रक्रिया अघि बढिसकेको जानकारी दिए । आयोजनाको व्यावसायिक उत्पादन सुरु गर्ने मिति (आरसिओडी) थपका लागि पनि प्राधिकरणले प्रक्रिया अघि बढाएको उनले बताए । उनका अनुसार आरसिओडी थपसम्बन्धी विषयमा आयोजना र समस्याको प्रकृतिअनुसार ‘ए’ र ‘बी’ समूह बनाएर काम सुरु गरिसकिएको छ । निजी क्षेत्रले भोगिरहेका समस्या समाधानका लागि नेपाल विद्युत् प्राधिकरण र इप्पानबिच संयुक्त संयन्त्र बनाएर अघि बढ्न आफूहरू तयार रहेको पनि कामु कार्यकारी निर्देशक श्रेष्ठले बताएका छन् ।