मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ श्रावण २३ शनिबार
  • Friday, 28 August, 2026
रामचन्द्र शर्मा
२o८३ श्रावण २३ शनिबार o८:५o:oo
Read Time : > 5 मिनेट
ब्लग प्रिन्ट संस्करण

कप्तानगन्ज घटनाले जन्माएका प्रश्नहरू

Read Time : > 5 मिनेट
रामचन्द्र शर्मा
नयाँ पत्रिका
२o८३ श्रावण २३ शनिबार o८:५o:oo

१० साउन ०८३ मा सुनसरी जिल्लाको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा बोलबम यात्राको तयारीका क्रममा डिजेबाजा बजाउँदा सुरु भएको विवादले हिंसात्मक रूप लिएपछि प्रहरीले गोली चलायो । दुई धार्मिक समुदायबिच सुरु भएको विवाद तोडफोड र आगजनीमा परिणत भयो । यो त्रासदीले देशैभर नकारात्मक तरंग विस्तार गर्‍यो । सामाजिक एकता, सहकार्य एवं पारस्परिक सम्मान र सद्भाव खलबल्यायो ।

यो दुःखद अवस्था सिर्जना हुनुमा एउटै मात्र कारण जिम्मेवार छ, त्यो हो– सच्चा धर्मको अर्थ भुलेर सम्प्रदायलाई नै धर्म मान्नु । यतातिर कसैको ध्यान पुगेको देखिँदैन । सर्वदलीय आह्वानले तत्कालका लागि शान्तिपूर्ण अवस्था सिर्जना गर्न मद्दत गर्छ नै । तर, घटनाको कारणतर्फ ध्यान नदिएको हुँदा यस्ता घटनाको पुनरावृत्ति रोकिँदैन ।

जनताको जिउधनको सुरक्षाको मुख्य जिम्मेवारी सरकारको हो र सरकारको नेतृत्व गर्ने प्रधानमन्त्री हरकुराप्रति संवेदनशील रहनैपर्छ । वर्तमान प्रधानमन्त्रीले सर्वदलीय बैठक नबोलाएकोमा असन्तुष्टि जनाएका दलहरूले प्रधानमन्त्री र पार्टी सभापति फरक–फरक व्यक्ति भएको कुरालाई हेक्का राखेको देखिएन । हिजो एउटै व्यक्तिले पार्टी र सरकारको नेतृत्व गर्दा जता पनि प्रधानमन्त्री नै अघि सरेझैँ होस् भन्ने चाहना झल्काउनुभन्दा समस्याको गहिराइमा पुग्न लामो अनुभव सँगालेका विपक्षी दलहरूले सघाउनुपर्छ ।

धर्मका हजारौँ परिभाषा छन् । धर्मको शाब्दिक अर्थ धारण गर्नु भन्ने हुन्छ । धर्मका पाँच आधार ज्ञान, प्रेम, न्याय, समर्पण र धैर्यधारण गर्नु धर्म हो । धर्म केवल मनुष्यमा लागू हुन्छ । म कसरी बाँच्ने भन्ने कुराले मानिस अशान्त छ । मनले निरन्तर शान्ति खोजिरहेको हुन्छ । मनको शान्तिका लागि धर्मको उत्पत्ति भएको हो ।

बुद्धले मानिसभित्र प्रज्ञाको दीप छ, स्वयं प्रज्ज्वलित होऊ, अर्थात् अप्पो दीप भवः भन्दै मानिस नै भगवान् हो भन्ने प्रस्ट्याए । क्रिस्चियन धर्मका प्रवर्तक यशु ख्रिस्टले लभ इज गड अर्थात् प्रेम नै भगवान् हो भने । मुस्लिम धर्मले पनि अरूको मद्दत गर्नु धर्म हो भनेको छ ।

मनुष्यबाहेकका प्राणी तथा वनस्पति प्राकृतिक व्यवस्थाअनुसार चल्ने हुँदा धर्म चाहिँदैन । बाघले मृग मार्नु अपराध होइन, धर्म मानिन्छ । बाघले घाँस खाँदैन, मृगले मासु खाँदैन । अन्य प्राणी खान पाएपछि शान्त बस्छन्, मनुष्य खाएर मात्र शान्त हुँदैन । मानिस जान्न चाहन्छ । जान्नु बोध हो । बोध मानिसको स्वभाव हो । त्यसैले बोध नै धर्म हो ।

मानिसको पहिलो सम्बन्ध चेतनासँग छ । चेतनाले नै शरीरको अनुभूति गराएको हुन्छ । शरीर जड हो, चेतना हो प्रकाश । शरीरका सबै अंग एकैपटक अनुभव हुँदैनन्, जहाँ पीडा छ, त्यो अनुभव हुन्छ । किनकि, पीडा चेतना हो । शरीर बलियो भए पनि आत्महत्या गर्छ मानिस । आत्महत्याको कारण चेतना हो ।

आज धर्म पूजापाठको रीतिरिवाज, मन्दिर र कुनै सम्प्रदायको पहिचान बनेको छ । धर्मको नाममा तीर्थस्थल र मन्दिरमा भिड लाग्छ । केही वर्षको अन्तरालमा लाग्ने कुम्भ मेलामा ज्यान गुमाउनेको संख्या बढेको छ । जीवनमा शान्ति छैन । जीवन भागदौड र प्रतिस्पर्धाको पर्याय बनेको छ । मानसिक दबाब बढेको छ । एकै धर्मावलम्बीबिच युद्ध भएको छ ।

जीवनका हरेक तानाबाना धर्मको नामबाट सुरु गर्छौं हामी । छैठीदेखि, न्वारान, व्रतबन्ध, विवाह, मृत्युसम्म शान्तिका लागि नारायणको पूजा र सप्ताह लगाउने धार्मिक कर्मकाण्ड गरेका छौँ । घरबाट बाहिर निस्कने साइत हेर्नेदेखि रजस्वला बार्ने, दिनहुँ र बाह्रैमास व्रत र उपवास राखेर भोकै बस्छौँ । यी सारा कर्म धर्म हुन् भने हाम्रो जीवनमा किन सुख आएको छैन ?

यो गम्भीर सवाल हो । के अहिंसा परमोधर्म भन्ने बुद्ध उपदेश झुटो हो त ? भन्नेतर्फ गहिरो चिन्तन–मनन गर्नुपर्ने देखिन्छ ।
धर्म शान्तिका लागि हो भने हामीमा अशान्ति किन छ ? धर्मयुक्त कर्म मात्र कर्म हुन् भन्छन् ऋषिहरू । हामीले धर्म भनेर जे गरिरहेका छौँ, के ती धर्मसँग मेल खान्छन् ? हामीले गरेका कार्य कर्मको कोटीभित्र पर्छन् भनेर आफूले आफैँलाई प्रश्न गर्नैपर्ने भएको छ ।

धर्म गलत भयो भने जीवन बर्बाद हुन्छ । जान्ने कोसिस नै धर्म हो । धर्म ईश्वरको देन मानिन्छ । ईश्वर हो चेतना । चेतना हो ध्यान । ध्यानबाट ऋषिहरूले धर्मको फूल फ्लुाएका हुन् । ऋषिहरू पनि मानिस नै हुन् । सामान्य मानिसका रूपमा जन्मेर आफ्नो चेतनाको विस्तार गर्दै ऋषि बने ।

वेदान्तको महावाक्य नै छ, तत्वमसि अर्थात् त्यो ईश्वर तिमी नै हौ । शरीरको हिसाबले अन्य प्राणी र मानिसमा समानता भए पनि चेतना विस्तार गर्न सक्ने क्षमता मानिससँग मात्र छ । मानिससमक्ष दुई विकल्प छन् । एक हो, भोगको जीवन र अर्को हो, मुक्त जीवन । मुक्त जीवन भनेको राग, द्वेष, मोह आसक्ति, ईर्ष्याजस्ता मनोविकारबाट प्रभावित नभएको आनन्दको जीवन हो ।

बुद्धले मानिसभित्र प्रज्ञाको दीप छ, स्वयं प्रज्ज्वलित होऊ, अर्थात् अप्पो दीप भवः भन्दै मानिस नै भगवान् हो भन्ने प्रस्ट्याए । क्रिस्चियन धर्मका प्रवर्तक यशू ख्रिस्टले लभ इज गड अर्थात् प्रेम नै भगवान् हो भने । मुस्लिम धर्मले पनि अरूको मद्दत गर्नु धर्म हो भनेको छ । शिख धर्मावलम्बीले गुरु ग्रन्थ साहेबलाई नै ईश्वर जान्दछन् र सेवालाई धर्म मान्दछन् । हिन्दु धर्मको सार नै परोपकाराय पुण्याय पापाय परपीडनम्, अर्थात् अरूको सेवा गर्नु धर्म हो, अरूलाई पीडा दिनु पाप हो भन्ने छ ।

जुन समयमा जे गर्न उचित हुन्छ, त्यो धर्म हो । धर्म अवस्थाअनुसार फरक हुन्छ । जहाँबाट बोध प्रस्फुटन हुन्छ, त्यही धर्म हो । धर्म आखिरी धारणा हो, जसले अरू सबै धारणाबाट मुक्ति दिन्छ भन्छन् आचार्य प्रशान्त । आमा पनि धारणा हुन्, निद्रा अवस्थामा आमा हुन्नन् । सत्य निद्रामा पनि मेटिएको हुँदैन । सबै सम्बन्ध म, मेरो, मैले भन्ने अहंबाट बनेका हुन् । अहं झुटो हो । अहं मेटाउन धर्मको उत्पत्ति भएको हो । धर्म हाम्रो पहिलो कर्तव्य हो । सानातिना कर्तव्यमा ध्यान केन्द्रित गर्ने मूल कर्तव्य छाडिदिने गरेकाले परिवार र समाजमा द्वन्द्व बढेको छ । धर्मबाट सुरु हुने जीवनको वर्णमाला नै पढिएन । धर्मको मूल धारणा बेवास्ता गर्दा दुःखले घेरेको छ ।

कर्म मन र बुद्धिले गर्छन् । कर्ताको उपस्थितिमा कर्म हुन्छ । कर्मबाट कर्ताले फलको आशा राखेको हुन्छ । फलको आशाले बन्धनमा पार्छ । बन्धन नै पाप हो । यो पापले आफ्नो आत्मा स्वरूपलाई विस्मृत गरिदिन्छ । सबै शक्तिको स्रोत आत्मा हो । आत्मा बिर्सनु शक्ति च्युत गर्नु हो । मनमा विक्षेप उत्पन्न हुने कर्म गरेर आफ्नो शक्तिलाई च्युत गर्नु पाप हो ।
कर्म गर्नमा मन र बुद्धिको उपयोगिता छ, रहन्छ । साक्षीको उपस्थितिले मन र बुद्धिलाई सत कर्म गर्ने प्रेरणा र चेतना मिल्छ । साक्षीलाई वेदान्तले ब्रह्म, गीताले आत्मा र उपनिषद्ले सत्य भनेका छन् । मन र बुद्धिले साक्षीको उपस्थितिलाई बेवास्ता वा बिर्सिए भने झुटो कर्म गर्न पुग्छन् । किनकि, जुन घरमा मालिक उपस्थित छ, त्यहाँ चोरहरूले चोरी गर्न सक्दैनन् । त्यसैगरी, आत्मानुभूतिले मनमा विकार उत्पन्न हुन दिँदैन र उत्पन्न भइहाले पनि मन मैलो र अशान्त हुँदैन ।

संसारका हरेक वस्तु मूल तŒव र सहायक तŒव मिलेर बनेको हुन्छ । सहायक तŒव गडबड भयो भने पनि मूल तŒवले वस्तुको वस्तुत्व सिद्ध गर्छ । तर, मूल तŒव छैन भने सहायक तŒवले मात्र वस्तुको वस्तुत्व सिद्ध हुन सक्दैन । यही कुरा धर्ममा पनि लागू हुन्छ । मानिसका विचार, भावना, संस्कार, शरीर, मन, बुद्धि र क्षमता सहायक तŒव हुन् । मानिसको मूल तŒव चैतन्यता अर्थात् आत्मा हो । आत्माबाट नै सहायक तŒवलाई चेतनाको प्रकाश प्रदान गर्छ । चेतनाविना मानिसको अस्तित्व सिद्ध हुँदैन । बाँच्नु मात्रले मानिसको अस्तित्व सिद्ध हुँदैन । किनकि, अन्य प्राणी पनि बाँचेका छन् ।

भागवत गीता मन र आत्माबिचको संवाद हो । गीता चौथो अध्याय सातौँ श्लोकमा जब–जब धर्मको हानि हुन्छ, तब–तब धर्मको पुनर्स्थापनाका लागि म स्वयंलाई प्रकट गर्छु भनेका छन् कृष्णले । अठारौँ अध्याय छैसट्ठीऔँ श्लोकमा कृष्णले अर्जुनलाई सबै धर्म परित्याग गरेर मेरो शरणमा आऊ, तिमीलाई सबै पापबाट मुक्त गर्छु, तिमी शोक नगर भनेका छन् । अर्जुन मन र कृष्ण आत्माको प्रतिनिधित्व गर्छन् । अब हामीले आफ्नो मूल स्वरूप आत्मा चिनेर जगाउनुपर्छ । 

लोकधर्म कहिल्यै पनि सच्चा धर्ममा रूपान्तरण हुँदैन । किनकि, अशिक्षा र अज्ञानको जमिनमा उत्पन्न हुन्छ लोकधर्म । लोकधर्म परम्परामा अडेको हुन्छ । परम्परामा लोकधर्मलाई सुविधा छ । जान्ने मिहिनेत गर्न लोकधर्मलाई कठिन लाग्छ । लोकधर्म अहंको धर्म हो । अहंकारले ज्ञानभन्दा आफूलाई ठुलो ठान्छ र आफ्नो धारणासँग मेल खाने ज्ञानलाई मात्र मान्छ । अहंले न आफूले ज्ञान जान्दछ, न ज्ञानीले भनेको मान्छ । त्यसैले, अहंले समाजमा भ्रष्टाचार बढाएर र प्रकृतिमा जलवायु परिवर्तनको विकराल समस्या निम्त्याएर मानव अस्तित्व नै खतरामा पारेको छ । सच्चा धर्मको पुनर्स्थापनाले मात्र सिंगो मानवजातिको कल्याण गर्ने छ । व्यक्ति वा राज्यको धर्म हुन्छ । मन निर्मल राख्नु व्यक्तिको धर्म हो भने शान्ति कायम गर्नु राज्यको धर्म हो । सम्प्रदायसँग धर्मको लेनदेन र सरोकार नहुने हुँदा राज्य सम्प्रदाय निरपेक्ष र धर्मसापेक्ष हुनुपर्छ । तब मात्र शान्ति र समृद्धि हासिल हुनेछ ।