विश्व राजनीतिमा पछिल्ला केही वर्षयता एउटा नयाँ शक्ति तीव्र रूपमा उदाएको छ, जेन–जी पुस्ताको आन्दोलन । यो पुस्ताले परम्परागत राजनीतिक दल, स्थापित नेतृत्व र पुराना आन्दोलनका शैलीभन्दा फरक बाटो रोजेको छ । सामाजिक सञ्जाल, डिजिटल नेटवर्क, खुला सूचना र तत्काल जनमत निर्माणको क्षमताका कारण जेन–जी आन्दोलनले विश्वका धेरै लोकतान्त्रिक मुलुकमा शासन प्रणालीमाथि अभूतपूर्व दबाब सिर्जना गरेको छ ।
बंगलादेश, केन्या, श्रीलंका, सर्बिया, जर्जिया, थाइल्यान्ड, चिली र इन्डोनेसियाजस्ता देशमा युवाको आन्दोलनले सरकारलाई नीतिगत परिवर्तन गर्न बाध्य बनाएको छ । यही विश्वव्यापी प्रवृत्तिको पछिल्लो कडीका रूपमा भारतमा देखिएको कक्रोच–जेन–जी आन्दोलनलाई लिन सकिन्छ ।
भारतमा परीक्षा प्रणालीको अनियमितता, पेपर लिक, युवामा बढ्दो बेरोजगारी, अवसरको असमान वितरण, अभिव्यक्ति स्वतन्त्रतामाथिको दबाब तथा राज्य प्रणालीप्रतिको असन्तुष्टिबाट जन्मिएको यो आन्दोलन कुनै एउटा राजनीतिक दलको आन्दोलन थिएन । यसको केन्द्रमा सामाजिक सञ्जालबाट संगठित भएका लाखौँ युवा थिए । उनीहरूको माग सरकार ढाल्नु थिएन, राज्य प्रणालीलाई सुधार्नु थियो । यहीकारण आन्दोलनले लोकतान्त्रिक चरित्र कायम राख्यो र अन्ततः सरकारले पनि त्यसलाई राजनीतिक शत्रुका रूपमा नभई नागरिक असन्तुष्टिको अभिव्यक्तिका रूपमा ग्रहण गर्यो ।
आन्दोलनका क्रममा शिक्षा प्रणालीमाथि व्यापक प्रश्न उठे । सरकारमाथि नैतिक दबाब बढ्दै गयो । अन्ततः शिक्षामन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा दिए र नयाँ शिक्षामन्त्रीको रूपमा प्रह्लाद जोशीलाई नियुक्ति गरियो । यस घटनालाई धेरैले सामान्य मन्त्री परिवर्तनका रूपमा हेरे पनि यसको राजनीतिक अर्थ निकै गहिरो छ । लोकतन्त्रमा सरकार गल्ती स्विकारेर सुधारको बाटोमा हिँड्न सक्छ भन्ने सन्देश पछिल्लो समय भारतले दिएको छ । सरकार केही कदम पछाडि हट्नु भनेको राज्य कमजोर हुनु होइन, बरु लोकतान्त्रिक प्रणाली अझ बलियो हुनु हो ।
सरकार केही कदम पछाडि हट्नु भनेको राज्य कमजोर हुनु होइन, बरु लोकतान्त्रिक प्रणाली अझ बलियो हुनु हो भन्ने पाठ भारतीय आन्दोलनबाट विश्वले सिक्न जरुरी छ ।
विश्वका धेरै मुलुकमा आन्दोलनको अन्त्य हिंसामा भएको उदाहरण प्रशस्त छन् । कतै गोली चल्यो, कतै सयौँ मानिस मारिए, कतै सरकार नै ढल्यो । बंगलादेशमा विद्यार्थी आन्दोलनले प्रधानमन्त्री शेख हसिनालाई देश छोड्न बाध्य बनायो । श्रीलंकाको ‘अरगलय’ आन्दोलनले राष्ट्रपति गोटाबाया राजापाक्षेलाई पलायन हुन बाध्य पार्यो । केन्यामा कर
वृद्धिविरुद्धको आन्दोलनपछि सरकारले वित्त विधेयक नै फिर्ता लिनुपर्यो । यी सबै आन्दोलनले शासनलाई चुनौती दिए । तर, त्यहाँ ठुलो मानवीय क्षति पनि भयो । भारतको अनुभव भने केही फरक देखियो । लामो समयसम्म आन्दोलन चल्दा पनि राज्य र आन्दोलनकारीबिच संवादको सम्भावना जीवित रह्यो । आन्दोलनमा केही घाइते भए, तनाव सिर्जना भयो, तर ठुलो रक्तपात भएन । यसले संसारभर एउटा महत्वपूर्ण लोकतान्त्रिक सन्देश दिएको छ– जनताको आवाजलाई समयमै सुनियो भने आन्दोलन विद्रोहमा रूपान्तरण हुँदैन ।
आजको जेन–जी पुस्ता अघिल्ला पुस्ताभन्दा फरक छ । उनीहरू सूचना प्रविधिमा आधारित छन् । कुनै एउटा नेताको भाषणभन्दा तथ्य, भिडियो, प्रत्यक्ष सूचना र सामाजिक सञ्जालको बहसले उनीहरूको धारणा निर्माण गर्छ । उनीहरू जात, धर्म, भाषा वा क्षेत्रभन्दा अवसर, रोजगारी, शिक्षा, पारदर्शिता र जवाफदेहिताको प्रश्नमा बढी एकताबद्ध हुन्छन् । त्यसैले आजको आन्दोलन पनि परम्परागत राजनीतिक भाषाभन्दा फरक देखिन्छ । संयुक्त राष्ट्रसंघका तथ्यांकअनुसार भारतको करिब ६५ प्रतिशत जनसंख्या ३५ वर्षभन्दा कम उमेरको छ । १८ देखि २९ वर्ष उमेर समूहका मात्रै ३५ करोडभन्दा बढी युवा छन् । यति ठूलो युवा जनसंख्या भएको देशमा उनीहरूका आकांक्षा र असन्तुष्टिलाई बेवास्ता गरेर कुनै पनि सरकारले दीर्घकालीन राजनीतिक स्थिरता कायम राख्न सक्दैन । कक्रोच–जेन–जी आन्दोलनले यही वास्तविकतालाई उजागर गरिदियो ।
सन् २०१४ मा नरेन्द्र मोदी प्रधानमन्त्री बन्दा विकास, सुशासन, रोजगारी र नयाँ भारतको नाराले अभूतपूर्व जनसमर्थन प्राप्त गरेका थिए । मोदीले लगातार दुई कार्यकालसम्म बलियो जनादेश पाए । तर, समय क्रमसँगै जनताको अपेक्षा पनि बदलिँदै गयो । आजको युवा केवल राष्ट्रवादको भाषण सुन्न चाहँदैन, उसले रोजगारी, निष्पक्ष परीक्षा, समान अवसर, गुणस्तरीय शिक्षा र उत्तरदायी शासन खोज्छ । यही परिवर्तनलाई समयमै नबुझ्दा सरकारमाथि दबाब बढ्यो । २०२४ को लोकसभा निर्वाचनले पनि भारतीय राजनीतिमा नयाँ संकेत दियो । भारतीय जनता पार्टी (भाजपा) सबैभन्दा ठुलो दल भए पनि एक्लै स्पष्ट बहुमत ल्याउन सकेन । गठबन्धनको सहारामा सरकार गठन गर्नुप¥यो । यसले मतदाताको मनोविज्ञान परिवर्तन भइरहेको स्पष्ट संकेत दिएको छ । जनताले सरकार परिवर्तन नगरे पनि शासनशैली परिवर्तन गर्न चाहेको सन्देश दिएका छन् ।
यही परिवर्तित राजनीतिक वातावरणमा कक्रोच–जेन–जी आन्दोलन उदायो । आन्दोलनको मूल शक्ति सडकभन्दा बढी डिजिटल संसार थियो । सामाजिक सञ्जालमार्फत लाखौँ युवाले एउटै मुद्दामा ऐक्यबद्धता जनाए । सूचना केही सेकेन्डमै देशभर फैलियो । यही डिजिटल एकताले आन्दोलनलाई राष्ट्रिय स्वरूप दियो ।
अब आन्दोलनको नेतृत्व केवल राजनीतिक दलका कार्यालयबाट होइन, मोबाइल फोनको स्क्रिनबाट पनि हुन सक्छ भन्ने तथ्य भारतले देखायो । तर, आन्दोलनको सफलतामा सरकारको भूमिकालाई पनि नकार्न मिल्दैन । यदि सरकारले आन्दोलनलाई सुरक्षा समस्याका रूपमा मात्र हेरेर कठोर दमनको बाटो रोजेको भए परिस्थिति अर्कै हुन सक्थ्यो । आन्दोलन चर्किन्थ्यो, जनधनको क्षति बढ्थ्यो र राजनीतिक संकट गहिरिन्थ्यो । त्यसको सट्टा सरकारले अन्ततः सुधारको संकेत दियो । यही निर्णयले सम्भावित ठुलो राजनीतिक संकटलाई नियन्त्रण गर्यो ।
नेपालका लागि पनि यस आन्दोलनमा गम्भीर पाठ लुकेको छ । नेपालमा विगतका अधिकांश आन्दोलनमा राज्य र नागरिकबिचको सम्बन्ध संवादभन्दा टकरावमा परिणत भएको इतिहास छ । जनआन्दोलनदेखि मधेश आन्दोलनसम्म, विभिन्न विरोध प्रदर्शनदेखि सत्याग्रह र अनशनसम्म, धेरै घटनामा राज्यले बल प्रयोग गरेको आरोप लाग्दै आएको छ । नागरिकका माग सुन्नुभन्दा आन्दोलन दबाउने प्रवृत्तिले लोकतन्त्र कमजोर बनाएको अनुभव नेपाली समाजसँग छ ।
माइतीघर मण्डलामा पटक–पटक भएका अनशन, सत्याग्रह, रिले अनशन तथा शान्तिपूर्ण प्रदर्शनले पनि यही प्रश्न उठाएका छन्– के लोकतन्त्रमा नागरिकको आवाज सुन्ने संयन्त्र प्रभावकारी छ ? यदि नागरिकले आफ्ना माग राख्दा राज्यले संवादको सट्टा बल प्रयोग गर्छ भने लोकतन्त्रको आत्मा कमजोर हुन्छ । भारतको पछिल्लो अनुभवले संवाद, धैर्य र सुधार लोकतन्त्रका सबैभन्दा प्रभावकारी औजार हुन् भन्ने देखाएको छ ।
यद्यपि कक्रोच–जेन–जी आन्दोलनलाई अतिरञ्जित गरेर हेर्नु पनि उचित हुँदैन । आन्दोलनले सम्पूर्ण समस्या समाधान गरिसकेको छैन । भारतमा बेरोजगारी, कृषि संकट, आर्थिक असमानता, ग्रामीण गरिबी, साना व्यवसायीको कठिन अवस्था र युवामा बढ्दो प्रतिस्पर्धा अझै चुनौतीकै रूपमा कायम छन् । भारत विश्वको पाँचौँ ठुलो अर्थतन्त्र बनेको छ र तेस्रो ठुलो अर्थतन्त्र बन्ने लक्ष्य राखेको छ । तर, आर्थिक वृद्धि मात्र पर्याप्त हुँदैन । त्यसको लाभ युवा र आमनागरिकसम्म समान रूपमा पुग्न सकेन भने असन्तुष्टि फेरि पनि विस्फोट हुन सक्छ ।
इतिहासले एउटा महत्वपूर्ण सत्य सिकाउँछ– भावनाले आन्दोलन सुरु गराउँछ । तर, संस्थागत परिवर्तनका लागि स्पष्ट नीति, सक्षम नेतृत्व, लोकतान्त्रिक संस्कार र जनविश्वास आवश्यक हुन्छ । भिडको आकारले आन्दोलनको सफलता निर्धारण गर्दैन । त्यसले ल्याएको नीतिगत सुधारले त्यसको मूल्यांकन गर्छ । यही दृष्टिले हेर्दा भारतको कक्रोच–जेन–जी आन्दोलनले सरकारलाई तत्काल सत्तापरिवर्तन गर्न बाध्य पारेन । तर, शासन प्रणालीलाई आत्मसमीक्षा गर्न बाध्य बनायो ।
यही यसको सबैभन्दा ठुलो सफलता हो । वास्तवमा यो आन्दोलन नरेन्द्र मोदीविरुद्धको व्यक्तिगत संघर्ष थिएन । यो शासन प्रणालीलाई अझ उत्तरदायी, पारदर्शी र जवाफदेही बनाउन गरिएको नागरिक दबाब थियो । लोकतन्त्रमा जनताको असन्तुष्टिलाई समयमै सम्बोधन गर्न सकियो भने सरकारको आयु पनि लम्बिन्छ र प्रणालीप्रतिको विश्वास पनि बलियो हुन्छ । त्यसैले यो आन्दोलनलाई सरकारको हारभन्दा लोकतन्त्रको जितका रूपमा बुझ्नु उपयुक्त हुन्छ ।
भारत विश्वकै सबैभन्दा ठुलो लोकतन्त्र हो । त्यहाँ हुने प्रत्येक राजनीतिक परिवर्तनको प्रभाव दक्षिण एसियामै पर्छ । त्यसैले भारतमा देखिएको कक्रोच–जेन–जी आन्दोलन केवल एउटा देशको आन्तरिक घटना मात्र होइन, यो विश्व लोकतन्त्रका लागि पनि नयाँ चेतावनी या सन्देश हो । नयाँ पुस्तालाई बेवास्ता गरेर शासन टिक्दैन । तर, नयाँ पुस्तासँग संवाद गरेर लोकतन्त्र अझ बलियो बनाउन सकिन्छ । यही सन्देश भारतले दिएको छ ।
अबको युगमा जेन–जीलाई नियन्त्रण गर्ने होइन, सत्तामा साझेदार बनाउने राजनीति आवश्यक छ । उनीहरूलाई समस्या होइन, परिवर्तनका सहयात्रीका रूपमा स्विकार्ने राज्य नै दीर्घकालीन रूपमा सफल हुनेछ । भारतले त्यसको प्रारम्भिक संकेत दिएको छ । यही संकेतलाई लोकतान्त्रिक भविष्यको नयाँ अध्यायका रूपमा बुझ्नु आजको सबैभन्दा ठुलो राजनीतिक बुद्धिमत्ता हुनेछ ।