Skip This
शासकीय संरचनामा पुनर्विचारको बहस
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ १० बुधबार
  • Sunday, 16 June, 2024
टेकेन्द्र जोशी
२o८o जेठ १० बुधबार o७:o८:oo
Read Time : > 5 मिनेट
ad
ad
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

शासकीय संरचनामा पुनर्विचारको बहस

जुन अपेक्षा गरेर प्रदेश सरकार निर्माण गरियो, सोअनुसार जनतामा डेलिभरी दिएर आशा सञ्चार गराउन नसकेपछि संघीयतामाथि पुनर्विचारको बहस उठ्नु अनौठो होइन

Read Time : > 5 मिनेट
टेकेन्द्र जोशी
नयाँ पत्रिका
२o८o जेठ १० बुधबार o७:o८:oo

राज्य शक्तिको प्रयोग दुई वा सोभन्दा धेरै तहबाट हुने शासन प्रणाली नै संघीयता हो । राज्य शक्तिको साझेदारी र स्वायत्ततामा आधारित हुन्छ । राज्यको संरचना, राज्य शक्तिको बाँडफाँड र अधिकारको प्रयोगबारे संविधानमै स्पष्ट गरिएको हुन्छ । विविधतालाई एकतामा ल्याउने र राज्यप्रति सबै पक्षको स्वामित्व कायम गर्दै राष्ट्र निर्माण गर्ने संघीयताको अवधारणा हो । नेपालको संविधानले संघ, प्रदेश र स्थानीय तह भएको सात प्रदेशसहितको संघीयताको व्यवस्था गरेको छ ।

संघीय प्रणालीको उद्देश्य शासकीय क्रियाकलापमा बढीभन्दा बढी जनतालाई संलग्न गराउने, साधन र स्रोतमा जनताको सहज पहुँच गराई सुशासनको प्रत्याभूति दिनु हो । जाति, भाषा वा पहिचानका आधारमा देशको भूगोललाई संघीय एकाइमा विभाजन गरिए त्यसलाई पहिचानमा आधारित संघीयता भनिन्छ । देशको भूगोललाई मात्र एकाइ मानेर विभाजन गरिनु सामथ्र्यमा आधारित प्रशासनिक संघीयता हो । संघीय शासन प्रणालीमा राज्यशक्तिलाई कम्तीमा दुई तहका सरकारबीच विभाजन गरी समन्वयात्मक शासन व्यवस्था सञ्चालन गरिन्छ । 

संघीयताको मोडल :  जर्मन दार्शनिक जोहानेस अल्थुसियेसले स–साना राज्यलाई एउटै राज्यमा जोडेर शासन गर्ने संघीय राज्यको परिकल्पना गरेका थिए । अल्थुसियेसलाई आधुनिक संघीयताको पिता मानिन्छ । निर्माण प्रक्रियाका आधारमा संघीयता दुई किसिमका हुन्छन्– संयोग र वियोग । संयोग अर्थात् कमिङ टुगेदर प्रक्रियामा दुई वा सोभन्दा बढी राज्य मिलेर बलियो संघ स्थापना गरी संघीयता अवलम्बन गरिन्छ । यस मोडलमा अधिकारको प्रवाह तलबाट माथि अर्थात् बटम टु टप हुन्छ ।

स्वतन्त्र राज्य मिलेर बनेको संघीयताका उदाहरण हुन्, अमेरिका र स्विट्जरल्यान्ड । अर्को प्रक्रिया हो, वियोग अर्थात् होल्डिङ टुगेदर । यसमा एउटै राज्यलाई दुई वा सोभन्दा बढी राज्यमा विभाजन गरी संघीयता निर्माण गरिन्छ । यस मोडेलमा अधिकारको प्रवाह माथिबाट तल अर्थात् टप टु बटम हुन्छ ।

नाइजेरिया, इथियोपिया, स्पेनजस्ता देश यसका उदाहरण हुन् । नेपालमा पनि यही होल्डिङ टुगेदर मोडल अपनाइएको छ । यस्तो मोडलको संघीयतामा व्यवस्थापन पक्ष निकै खर्चिलो र चुनौतीपूर्ण देखिन्छ । पहिलो मोडल संयोग अर्थात् एग्रिगेसन विधिबाट संघीयता निर्माण गरिएको अवस्थामा पहिल्यै स्वतन्त्र अस्तित्वमा रहेका राज्यले सुरक्षा र विकासलाई आत्मसात् गरी संघमा प्रवेश गरेका हुनाले यो मोडल सफल भाएको पाइन्छ । तर, वियोग अर्थात् डिसएग्रिगेसनबाट संघीयतामा गएका देशमा संघीयता कार्यान्वयनमा जटिलता र अनपेक्षित परिणाम निस्किएको पाइन्छ ।

संघीयताको टुक्रिने चरित्र :  संघीयता निर्माण गरिएका मुलुकमा राज्य शक्ति र शासन एकात्मकताबाट संघीयताका विभिन्न एकाइमा बाँडिएको हुन्छ । त्यस्ता मुलुकमा जतिसक्दो धेरै स–साना एकाइ बनाएर शासन र शक्ति प्रयोग गर्ने रहर नेतृत्वमा जाग्छ भने जनतामा आफ्नो छुट्टै परिचयको खोजी हुन्छ । परिणामस्वरूप, पहिलेका एकीकृत राज्यबाट विभक्त स–साना राज्य–प्रदेश टुक्रिने क्रम चलिरहन्छ ।

उदाहरणका लागि सुरुमा नाइजेरियालाई तीन प्रदेशमा मात्र विभाजन गरिएको थियो, तर अहिले ३६ टुक्रामा विभक्त छ र ३७औँ टुक्राका लागि लडाइँ भइरहेछ । सुडानमा तीन प्रदेशबाट सुरु भएर २६ टुक्रामा विभक्त भयो । संघीयताकै कारण दक्षिणी सुडान टुक्रिएको छ र त्यहाँ फेरि टुक्रिनका लागि द्वन्द्व सुरु भएको छ ।

हाम्रै छिमेकी देश भारतमा सुरुमा १२ र पछि ब्रिटिस उपनिवेशबाट स्वतन्त्रता प्राप्तिपछि २८ र हाल तेलांगनासहित २९ प्रान्तमा विभक्त छ । त्रिपुरा राज्यमा आदिवासीले छुट्टै राज्यको माग राखी आन्दोलन सुरु गरेका छन् । आसममा बोडोल्यान्ड, उत्तर प्रदेशमा पूर्वाञ्चल, वेस्ट बंगालमा गोर्खाल्यान्डजस्ता छुट्टै राज्यको माग राखी आन्दोलन हुँदै आएका छन् । हुन त इतिहासमै भारत कहिल्यै एकीकृत रहेन र पौराणिक कालदेखि नै बहुराष्ट्रिय आवस्थामा रह्यो । 

नेपालमा संघीयता र औचित्य :  कुनै पनि प्रणाली वा राजनीतिक व्यवस्थाको औचित्यको पुष्टि प्रयोग र अभ्यासद्वारा हुने हो । नेपालमा संघीयता जातीय, भाषिक, सांस्कृतिक विविधता र पहिचानलाई सम्बोधन गर्न चाहिएको हो । तर, जुन तर्क र दलिलसाथ संघीयताको आवश्यकता महसुस गरेर अवलम्बन गरियो, ती दलिल अभ्यासका क्रममा पुष्टि हुन सकेनन् । संघीयताको मर्म र भावनाअनुरूपभन्दा पनि फगत प्रशासनिक विकेन्द्रीकरणको एक भद्दा नमुना बन्न पुगेको छ, हाम्रो संघीयता ।

देश विकासको बाधक संविधान होइन, शासकको मानसिकता हो । हामीकहाँ संविधान र प्रणाली पटक–पटक परिवर्तन गरिए पनि नेतृत्वको प्रवृत्ति परिवर्तन गर्न सकिएन । व्यवस्था परिवर्तन गरियो, तर जनताको अवस्था परिवर्तन भएन । 
 

जनसंख्या र भूगोलका हिसाबले पनि नेपालमा संघीय शासन प्रणालिमाथि धेरै प्रश्न उठ्न थालेका छन् । नेपाल भूक्षेत्रफल र पर्यावरणका हिसाबले हेर्दा सानो देश हो, जहाँ केरा पाक्ने एक ठाउँबाट स्याउ पाक्ने अर्को ठाउँसम्म र जिरो डिग्रीबाट ३० डिग्री तापक्रम हुने ठाउँसम्म चार लेनको बाटो बन्ने हो भने केही घन्टामै पुग्न सकिन्छ । भूगोल र जनसंख्याका आधारमा हेर्ने हो भने नेपाल केन्द्रबाट राज्य संयन्त्र सञ्चालन गर्न जटिल हुने विशाल मुलुक होइन ।

नेपालको सबभन्दा बढी भू–सिमना जोडिएको भारतको प्रान्त उत्तर प्रदेशमा करिब २४ करोड जनसंख्या छ । क्षेत्रफलको हिसाबले पनि उत्तर प्रदेश नेपालभन्दा ठूलो छ । अर्को भू–सिमाना जोडिएको प्रान्त विहारमा १२ करोडभन्दा बढी जनसंख्या छ । उत्तर प्रदेशसँग ६५१ किमि र विहारसँग ६०१ किमि खुला सिमाना जोडिएको छ ।   हाल नेपाल सात प्रदेश, ७७ जिल्लामा विभक्त छ । यहाँ ७५३ स्थानीय सरकार, सात प्रदेश सरकार र एक केन्द्रीय सरकार गरी ७६१ विभिन्न तहका सरकार छन् । 

भारतको एक प्रान्तजति क्षेत्रफल र जनसंख्या नभएको देश नेपाललाई सात प्रदेश अर्थात् राज्य बनाएर संघीय शासन प्रणाली लागू गर्नु देशको आवश्यकताभन्दा बाहिरको रापताप र प्रभावको परिणाम हो भनेर गरिने टिप्पणी मननीय छन् । कतै गहन अध्ययनविनै हामीले हतारिएर निर्णय त गरेनौँ प्रश्न पनि यतिखेर उठिरहेको छ । संघीय शासन प्रणालीअन्तर्गत निर्माण गरिएका प्रदेशले आफ्नो औचित्य सावित गर्न सकेका छैनन् । जुन अपेक्षा गरेर प्रदेश सरकार निर्माण गरियो, सोअनुसार जनतामा डेलिभरी दिन सकेका छैनन् । प्रदेश सरकारहरू विकास निर्माण र सेवा डेलिभरीभन्दा बढी सत्ता तानातान, कुर्सीमोह, आत्मकेन्द्रित राजनीति र सेवासुविधामा मात्र केन्द्रित भएका आरोप लागिरहेका छन् । 

सात दशकमा सात संविधान :  मुलुकमा सात दशकमा सात संविधान निर्माण र परिवर्तन गरियो । हालसम्म संविधान निर्माणका विश्वका तीन प्रयोगमध्ये तीनवटै विधि हामीले प्रयोग गरिसकेका छौँ । राज्य प्रमुखको घोषणा, राजनीतिक सहमति र संविधानसभा निर्वाचनमार्फत संविधान बनाउने विश्व प्रचलनलाई नेपालले अवलम्बन गरिसक्दा पनि नागरिक र दलहरूको असन्तुष्टिका स्वर रोकिएका छैनन् ।

संविधान निर्माणमा विश्वमा गरिने सम्पूर्ण विधिको प्रयोग गरिसक्दा पनि असन्तुष्टिका आवाज सुनिनु मानवीय चाहनाको असीमितता हो, जुन पूर्ण रूपमा पूरा गर्न सकिँदैन । लामो समय र अर्बौं खर्च गरेर संविधानसभाबाट निर्माण गरिएको नेपालको सातौँ संविधान ३० भदौ २०७२ मा संविधासभाबाट करिब ९१ प्रतिशत बहुमतले संविधान पारित गरी २०७२ असोज ३ मा संविधानसभा बैठकमार्फत सार्वजनिक गरी प्रचलनमा छ । 

अब फेरि पनि संविधान परिवर्तन गर्ने कुरा गर्नु झन्–झन् देशलाई कमजोर पार्नु हो । शासन प्रणालीलाई हरेक दशकमा प्रयोगशालामा राखेर देशलाई योभन्दा कमजोर बनाउने विषय अब सोच्नुसम्म हुन्न । तर, देश र जनताको आवश्यकता र समयको मागलाई सम्बोधन गर्दै संविधान संशोधन गर्न भने सकिन्छ । करिब २३५ वर्षआघि बनेको अमेरिकाको संविधान २७ पटक संशोधन गरियो र अहिले पनि त्यही संविधान अमेरिकाको मार्गनिर्देशकका रूपमा रहेको छ ।

सन् १९४९ मा निर्माण भएको भारतको संविधान १०४ पटक संशोधन गरिए पनि अहिलेसम्म परिवर्तन गरिएको छैन । हामीले सात दशकमा सात संविधान परिवर्तन गर्‍यौँ, तर देशको अवस्था र जनताका समस्यामा परिवर्तनको आभास दिने खासै सुधारात्मक सूचक र संकेत दिन सकेनौँ । हामीले संविधान औसतमा १०–१० वर्षमा बदल्यौँ, तर कार्य सम्पादन शैली र प्रवृत्ति बदलेनौँ । 

देश विकासको बाधक संविधान होइन, शासकको मानसिकता हो । संविधान र प्रणाली पटक–पटक परिवर्तन गरिए पनि नेतृत्वको प्रवृत्ति परिवर्तन गर्न सकिएन । व्यवस्था परिवर्तन गरियो तर जनताको अवस्था परिवर्तन भएन । त्यसैले संविधान र सिंगो शासन प्रणालीमाथि प्रश्न उठ्नु स्वाभाविक हो, जसलाई संविधानका केही बुँदालाई संशोधन गरी सम्बोधन गर्न सकिन्छ ।

पुनर्विचारको बहस :  विश्वमा अभ्यास गरिएका शासन प्रणालीमध्ये संघीय शासन प्रणाली सबभन्दा महँगो प्रणाली भए पनि यसलाई अवलम्बन गर्ने निर्णयलाई हिम्मतका रूपमा लिनु राम्रो हुन्छ । एक सेटले चल्ने प्रशासन राज्ययन्त्रमा आज सात सेट चाहिएको छ, अर्थात् लगभग सात गुना खर्च बढेको छ । हो, खर्च व्यवस्थापनका हिसाबले हेर्दा देशलाई अहिले अभ्यासमा रहेको संघीयता थप जटिल र चुनौतीपूर्ण बन्न सक्छ ।

संघीयताको मर्म आत्मसात् गरिएन भने संघीयताले राष्ट्रलाई एकताउन्मुखभन्दा पनि विखण्डनउन्मुख बनाउने सम्भावना रहन पनि सक्छ । प्रदेश सरकारमा संघीयताले दिएको शक्ति दुरुपयोग गर्दै अनावश्यक खर्च, खरिद र संरचना निर्माण गर्ने होडबाजी चलेको छ । जनताले प्रत्यक्ष अनुभूति गर्ने कामभन्दा बढी सस्तो लोकप्रियता देखाउने काममा खर्च बढेको छ । ‘स्लिम एडमिनिस्ट्रेसन’मा जानुको सट्टा कर्मचारीतन्त्रको बोझ बढेको छ ।

धेरै जनप्रतिनिधिमा आफ्नो भूमिका र दायित्वबोधको अभाव छ । सुरुका दिनमा पिर्के सलामी लिने होडबाजी पनि चलेकै हो । प्रदेश सभाका अधिकांश सांसद र मन्त्रीको तलब सुविधा तथा मन्त्रीका सवारी साधन, गाडी, चालक, पिएसो, स्वकीय सचिव सहयोगीलगायतको खर्च पनि बढेको छ ।

देश विकासले फड्को मार्छ भनी अवलम्बन गरिएको संघीयताले राजनीतिक नेता र कार्यकर्ताको जीवनशैलीमा विकास गर्‍यो होला, तर पहिलेको भन्दा फरक किसिमले जनताले अनुभूत गर्न सक्ने गरी विकासले गति लिन सकेन । स्थानीय सरकारहरू तुलनात्मक हिसाबले बढी चलायमान पाइन्छन्, तर प्रदेश सरकार फगत सत्ता तानातान र सुविधाभोगमा केन्द्रित छन् भन्ने बहुसंख्यकको बुझाइ रहेको छ ।

स्थानीय निकायलाई अझै बढी शक्ति अधिकार सम्पन्न बनाएर प्रदेश सरकारलाई हटाउने हो भने देशलाई व्ययभार कम हुने मात्र होइन, राष्ट्रको ढुकुटीको अपचलन र राजनीतिक विचलन पनि कम हुन्छ । संरचनागत पक्षमा संघीयताको भान हुने सारमा शक्ति विकेन्द्रीकरण हुने गरी संघीय सरकार र स्थानीय सरकार मात्र कायम राख्दा राम्रो हुन्छ भन्ने मत पनि विचारणीय छ । हाल अभ्यास गरिएको संघीय मोडलमा पुनर्विचार गर्ने र देशको आवश्यकता र क्षमताअनुसारको संघीय शासन प्रणालीबारे वैचारिक र बौद्धिक बहस गराइ धेरै अनुत्तरित प्रश्नको एकमुस्ट जवाफ दिन सकिन्छ, कुनै पनि प्रणाली साध्य होइन, साधन हो, साध्य त राज्यमा बस्ने जनता हुन् ।

ad
ad
ad
ad