कषि विभागको तथ्यांकअनुसार ८ साउनसम्म देशभर ८३.३० प्रतिशत रोपाइँ सकिएको छ । सुदूरपश्चिममा मैझारो हुन लागिसकेको छ । मलविनै देशभरका किसानले रोपाइँ सक्न लागेका वेला कृषि, वन तथा पर्यवरणमन्त्री गीता चौधरीले शनिबार मधेश झरेर अबको १५ दिनभित्र रासायनिक मलको सहज आपूर्ति गर्ने आश्वासन बाँडेकी छिन् । जबकि, अहिले नियमित वर्षा भइरहेका कारण अबको १५ दिनभित्र देशभर रोपाइँ नै सकिने अवस्था छ ।
शनिबार धनुषामा राष्ट्रिय कृषि आधुनिकीकरण आयोजनाअन्तर्गत सञ्चालित विभिन्न कार्यक्रम तथा परियोजनाको निरीक्षणपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री चौधरीले अन्तर्राष्ट्रिय आपूर्ति प्रणालीमा आएको असहजताका कारण केही समय समस्या देखिए पनि अहिले विभिन्न नाकाबाट पर्याप्त मात्रामा मल नेपाल भित्रिरहेको जानकारी दिइन् । मौजुदा मल किसानसम्म पुर्याउने काम तीव्र रूपमा भइरहेको उल्लेख गर्दै उनले १५ दिनभित्र अधिकांश किसानले सहज रूपमा रासायनिक मल प्राप्त गर्ने दाबी गरिन् । धनुषाको लक्ष्मिनियामा किसानसँग आयोजित अन्तर्क्रिया कार्यक्रममा उनले रासायनिक मल र विषादीमा अत्यधिक निर्भरता घटाई प्रांगारिक खेतीलाई प्राथमिकता दिनुपर्ने आवश्यकता औँल्याइन् ।
मधेशमा १० वटा पाइलट परियोजनाको घोषणा
यसअघि मन्त्री चौधरीले मधेश प्रदेशका १० स्थानीय तहमा ‘नमुना कृषि कार्यक्रम’ सञ्चालन गर्ने घोषणा गरेकी थिइन् । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवसँगको भेट तथा संघ–प्रदेश समन्वयसम्बन्धी बैठकमा उनले कार्यक्रम सञ्चालनका लागि १० पालिका छनोट गर्न प्रदेश सरकारसँग आग्रह गरेकी थिइन् । उनका अनुसार कृषि क्षेत्रमा नीति–निर्माणभन्दा कार्यान्वयनलाई प्राथमिकता दिँदै अनुसन्धानबाट प्राप्त नयाँ प्रविधि र ज्ञानलाई किसानको खेतसम्म पुर्याइनेछ । छनोट भएका पालिकामा कृषि उत्पादन वृद्धि, प्राविधिक सेवा विस्तार, किसानलक्षित तालिम, कृषि परामर्श तथा नयाँ प्रविधिको हस्तान्तरणलाई एकीकृत रूपमा लागू गरिनेछ ।
कृषि विभागको तथ्यांक : शुक्रबारसम्म ८३.३०% रोपाइँ सकियो
नियमित मनसुन भइरहेका कारण शुक्रबारसम्म देशभर ८३.३० प्रतिशत रोपाइँ सकिएको छ । कृषि विभागका अनुसार सबैभन्दा धेरै सुदूरपश्चिममा ९७.९३ प्रतिशत रोपाइँ सकिएको छ । सुदूरपश्चिममा एक लाख ५१ हजार सात सय ४२ हेक्टरमा रोपाइँ सकिएको छ । सुदूरपश्चिममा जेठ दोस्रो सातापछि रोपाइँ थालिने भएका कारण अन्यत्रभन्दा छिटो सकिने पनि गरेको छ ।
सुदूरपश्चिमपछि लुम्बिनी प्रदेशमा ८०.६५ प्रतिशत रोपाइँ सकिएको छ । लुम्बिनीमा दुई लाख ६८ हजार एक सय ९७ हेक्टरमा रोपाइँ सकिएको छ । त्यस्तै, कर्णालीमा ८८.२२ प्रतिशत रोपाइँ सकिएको छ । कर्णालीमा सबैभन्दा कम क्षेत्रफलमा धान रोपाइँ हुने गर्छ ।
बागमतीमा ८७.०९ प्रतिशत रोपाइँ सकिएको छ । यहाँ ९९ हजार सात सय ४४ हेक्टरमा रोपाइँ सकिएको छ । गण्डकीमा ८०.७२ प्रतिशत रोपाइँ सकिएको छ । यहाँ हालसम्म ७५ हजार पाँच सय ६२ हेक्टरमा रोपाइँ सकिएको छ ।
मधेशमा ७८.६० प्रतिशत रोपाइँ सकिएको छ । मधेशमा हालसम्म तीन लाख पाँच सय ८० हेक्टरमा रोपाइँ सकिएको छ । सबैभन्दा कम कोशीमा ७३.९४ प्रतिशत रोपाइँ सकिएको छ । यहाँ दुई लाख ७६ हजार तीन सय ८६ हेक्टरमा रोपाइँ हुने अनुमान रहेकोमा हालसम्म दुई लाख चार हजार तीन सय ४७ हेक्टरमा रोपाइँ सकिएको छ । किसानले विगतमा जस्तै यो वर्ष पनि रासायनिक मलको अभाव खेपेर रोपाइँ गरिरहेका छन् ।