उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले स्टार्टअप क्षेत्रमा महिलाका लागि अवसर बढेको बताएका छन् । नीति रिसर्च प्रालिको आयोजनामा भएको एक कार्यक्रममा बोल्दै मन्त्री सिन्हाले पछिल्लो समय स्टार्टअप क्षेत्रमा महिलाका लागि ढोका खुलेको उल्लेख गरे ।
कार्यक्रमका औद्योगिक व्यवसाय विकास प्रतिष्ठानका कार्यकारी निर्देशक उमेशकुमार गुप्ताले स्टार्टअप क्षेत्रमा महिलाको सहभागिता बढ्दो क्रममा रहेको बताए । कार्यक्रममा महिला उद्यमी महासंघ नेपाल (एफविन)की निवर्तमान अध्यक्ष शोभा ज्ञवालीले स्टार्टअप कर्जाले महिलालाई व्यवसाय सुरु तथा विस्तार गर्न सहज बनाएको बताइन् ।
यसलाई ग्रामीण तथा दुर्गम क्षेत्रमा पनि विस्तार गर्न सरकारसँग उनले माग गरिन् । नेपाल महिला चेम्बरकी उपाध्यक्ष आरुश्री शर्मा खतिवडाले विदेशमा काम गरेर फर्किएका व्यक्तिसमेत उद्यमशीलतामा आकर्षित भइरहेको अनुभव सुनाइन् ।
नीति रिसर्च प्रालिका निर्देशक वासुदेव न्यौपानेले यो अन्तक्र्रिया केवल औपचारिक छलफलमा सीमित नभई महिला उद्यमशीलता प्रवर्द्धन, आत्मनिर्भरता अभिवृद्धि र समावेशी आर्थिक विकासतर्फको महत्वपूर्ण पहल भएको बताए ।