धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको एमडी तथा एमएस कार्यक्रमको एक सय ५० सिटमा २६ सिट विदेशी विद्यार्थीका लागि छुट्याइएको छ । डेन्टलबाहेक सिट संख्या एक सय २३ मा २६ वटा विदेशी विद्यार्थीका लागि छुट्याइएको हो । डेन्टल विभागको भने २७ वटै सिटमा नेपाली विद्यार्थी मात्र भर्ना हुन पाउनेछन् ।
राष्ट्रिय चिकित्सा शिक्षा आयोगको निर्देशनअनुसार नेपाल मेडिकल काउन्सिलबाट स्वीकृत भएको सिटलाई शैक्षिक सत्र सन् २०१५ देखि नै पालना गर्दै प्रवेश परीक्षा समिति र कार्यकारिणी समितिको निर्णयअनुसार सिट विभाजन गरी प्रवेश परीक्षाको नजिता निकालिएको प्रतिष्ठानका उपकुलपति प्राडा. राजकुमार रौनियारले जानकारी दिए । राष्ट्रिय चिकित्सा शिक्षा ऐन परिच्छेद ६ दफा १७ उपदफा ५ मा स्नातक तथा स्नाकोत्तर तहका लागि तोकिएको कुल सिट संख्यामध्ये विदेशी विद्यार्थीका लागि एकतिहाइभन्दा बढी सिट छुट्याउन नहुने उल्लेख छ ।
प्रतिष्ठानले गत शैक्षिक सत्रमा भने विदेशी विद्यार्थीका लागि २८ सिट छुट्याएको थियो । ती कोटामा विदेशी विद्यार्थी नआए नेपाली विद्यार्थीलाई नै भर्ना गरिने पनि निर्देशक प्राडा. साहले जानकारी दिए । स्नातकोत्तरभन्दा माथिको सुपर स्पेसियालिटी डिएम र एमसिएचको आठ तथा अस्पताल म्यानेजमेन्ट एमडिएचएको एक सिट र डेन्टलतर्फको एमडिएमसको २७ सिटमा भने नेपाली विद्यार्थी मात्रै भर्ना लिने प्रतिष्ठानले जनाएको छ ।
यसैबीच, मेडिसिन, सर्जरी र पेडियाट्रिक विभागको नेपाली विद्यार्थीको सिट कटौती गरेको भन्दै विद्यार्थीहरूले विरोध जनाएका छन् । विदेशी विद्यार्थीलाई मेडिसिनमा तीन, सर्जरीमा चार र पेडियाट्रिकमा तीनजनाको कोटा निर्धारण गरिएको छ भने नेपाली विद्यार्थीका लागि भने विभागमा दुई–दुईजनाको मात्र कोटा निर्धारण गरिएको छ ।