
सजिना स्याङ्तानको ह्याट्रिकको सहयोगमा न्युरोड टिम (एनआरटी)ले एन्फा महिला लिग छनोटमा लम्की फुटबल एन्ड ट्रेनिङ सेन्टरमाथि ७–२ को सानदार जित दर्ता गरेको छ । लगातार दोस्रो जितसँगै दुई खेलमा ६ अंक जोडेको एनआरटी समूह ‘बी’को शीर्ष स्थानमा उक्लिएको छ । लम्कीको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा एनआरटीले नेपाल खेलकुद क्लबलाई ३–१ ले हराएको थियो ।
लम्की भने पहिलो खेलमा बुटवल लुम्बिनी एफसीसँग १–० ले पराजित भएको थियो । सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा बिहीबार एनआरटीका लागि टासील्हामु शेर्पा र प्रतीक्षा ठकुरीले समान दुई गोल थपे । लम्कीका तुल्छा बोहरा र जानकी साउदले एक–एक गोल फर्काए । खेलको ११औँ मिनेटामा सजिनाले एनआरटीलाई १–० को अग्रता दिलाइन् ।
खेलको २६औँ मिनेटमा प्रतीक्षाले एनआरटीलाई २–० को स्थितिमा पुर्याइन् । खेलको ३०औँ मिनेटमा लम्कीकी तुल्छाले २–१ का लागि गोल फर्काइन् । खेलको ३४औँ मिनेटमा प्रतीक्षाले व्यक्तिगत दोस्रो गोल गर्दा एनआरटीले ३–१ ले अगाडि बढ्यो ।
खेलको ५४औँ मिनेटमा जानकीले लम्कीलाई खेलमा फर्काउने प्रयास गरिन् । सजिनाले खेलको ६७औँ र टासीले ७२औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दा एनआरटीले ६–२ को अग्रता लियो । खेलको ८५औँ मिनेटमा सजिनाले ह्याट्रिक पूरा गरिन् । अर्को खेलमा चर्च ब्वाइज युनाइटेडले आरएस रिसोर्ट एन्ड बिच फुटबल क्लबलाई १–० ले पराजित गर्यो ।