
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले गठबन्धनका कारण महिलाले गुमाउनुपरेको संवैधानिक अधिकार संविधान संशोधनमार्फत सुनिश्चित गर्न पहल गर्ने बताएका छन्। कांग्रेस मकवानपुरले बिहीबार आयोजना गरेको तिज विशेष कार्यक्रममा बोल्दै मुख्यमन्त्री बानियाँले अहिलेको संविधानले सबैको अस्तित्व स्वीकार गरेको दाबी गरे । उनले संविधानको कार्यान्वयनका चरणमा भएका कुराहरूलाई सच्याउन सकिने उल्लेख गर्दै महिलाहरूको संविधानप्रदत्त अधिकार पनि फर्काउन सकिने स्पष्ट पारे ।
‘संविधानले प्रमुख वा उपप्रमुखमध्ये एक महिला अनिवार्य गरे पनि गठबन्धनले गर्दा कतिपय ठाउँमा दुवै पदमा पुरुष निर्वाचित भए । यो कमजोरीलाई अब संविधान संशोधनमार्फत सच्याउनुपर्छ,’ उनले भने, ‘पार्टीको प्रदेश सभापति र मुख्यमन्त्रीको हैसियतले जस्तोसुकै गठबन्धन भए पनि महिलाको संवैधानिक अधिकार सुनिश्चित गर्ने विषयमा पहल गर्न प्रतिबद्ध छु ।’
प्रदेश सरकार महिलाको आर्थिक, सामाजिक र राजनीतिक अवस्था सुधारमा प्रतिबद्ध रहेको पनि मुख्यमन्त्री बानियाँले बताए । सिपमूलक काममा लागेर आत्मनिर्भर बनाउने योजनामा प्रदेश सरकार रहेको उनको भनाइ थियो । प्रदेश सरकारले महिलाको क्षमता विकासका लागि विभिन्न जीवनोपयोगी तालिम सञ्चालन गरिरहेको पनि मुख्यमन्त्री बानियाँले जानकारी दिए ।
मुख्यमन्त्री बानियाँले आफ्नो नेतृत्वको सरकार गरिब, निमुखा र आवाजविहीन जनताको पक्षमा दृढतापूर्वक उभिने दोहोर्याए । उनले प्रदेश सरकारले आर्थिक अवस्था कमजोर भएका गरिब तथा एकल महिलाका बालबालिकालाई पढाउनेदेखि गरिब परिवारका लागि आफ्नै तलबबाट घर बनाइदिनेसम्मका कार्यक्रम अघि सारेको स्मरण गराए । प्रदेश सरकारले गरिबका छोराछोरीलाई डाक्टर र नर्स पढाउन छात्रवृत्तिको व्यवस्था गरिसकेको उनको भनाइ छ ।
‘जसको आर्थिक अवस्था कमजोर छ । त्यसको अभिभावक प्रदेश सरकार हुनेछ । हुनेले पढाइहाल्छन् । हुनेसँग कर लिएर नहुनेका छोराछोरी पढाउने हाम्रो जिम्मेवारी हो,’ उनले भने, ‘मैले आफ्नो तलबबाट हरेक निर्वाचन क्षेत्रमा एक गरिबको घर निर्माण गर्ने अभियान सुरु गरिसकेको र दसैँअगाडि नै पहिलो घर हस्तान्तरण गर्ने तयारी गरेको छु ।’ राजनीतिलाई नाफा–नोक्सानको व्यापार नभई न्याय र सेवाको माध्यम बनाउनुपर्नेमा उनले पुनः जोड दिए । मुख्यमन्त्री बानियाँले धर्म र जातको नाममा राजनीति गर्न बन्द गरी मानवताको सिद्धान्तमा अघि बढ्नुपर्नेमा पनि जोड दिए । पार्टीभित्र पनि भ्रम र गुटबन्दीको राजनीति अन्त्य गरी एकता कायम गर्न आफू अग्रसर रहेको दाबी गरे ।