मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ ६ शुक्रबार
  • Friday, 22 August, 2025
गौरव जिसी
२o८२ भदौ ६ शुक्रबार ११:३९:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

एआई : वरदान कि अभिशाप ?

Read Time : > 2 मिनेट
गौरव जिसी
नयाँ पत्रिका
२o८२ भदौ ६ शुक्रबार ११:३९:oo
  • एआई आफैँमा खराब या जटिल नभई निकै सरल र सबल प्रविधि हो । यसको राम्रो परिचालनबाट हामी भरपूर फाइदा लिन सक्छौँ ।

हामी सबैले स्कुले जीवनमा ‘विज्ञान वरदान कि अभिशाप’ शीर्षकमा कैयौँ निबन्ध लेख्यौँ र सयौँ वादविवाद गर्‍यौँ । अब समय परिवर्तन भएको छ । परिवर्तित समयले विज्ञान र प्रविधिका क्षेत्रमा फड्को मारेको छ । समयले विज्ञान प्रविधिअन्तर्गत पनि ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई)जस्तो अभूतपूर्व वा अद्भूत प्रणाली हामीमाझ पस्कियो, जसबाट मानव जगत् वञ्चित रहन सकेन । त्यसैले वर्तमान परिवेशमा जल्दोबल्दो शीर्षक बन्न पुगेको छ, ‘एआई : वरदान कि अभिशाप ?’

सामान्य भाषामा भन्ने हो भने एआईले कम्प्युटर प्रणालीमा रहेको कृत्रिम बुद्धिमत्तालाई जनाउँछ । जसद्वारा मेसिनरी ग्याजेटले मानिसले जस्तै सोच्न सक्ने, परिवेशलाई जान्न सक्ने, सिक्न र सिकाउन सक्ने, निर्णय प्रक्रियामा भाग लिन सक्ने, दिएका कमान्डका आधारमा प्रतिक्रिया दिन सक्नेजस्ता विषय एआईका विशेषतामा पर्छन् । यो भनेको कम्प्युटरलाई मानिसले जस्तै कुनै विशेष विधामा सोच्न सक्ने र काम गर्न सक्ने गराउनु हो । हामी पनि एआईसँग बिस्तारै साक्षात्कार गर्दै अगाडि बढ्न थालिसकेका छौँ । विद्यार्थी वर्गबिच विश्वविद्यालय तथा कलेजका औपचारिक समसामयिक तथा अनौपचारिक अध्ययन अनुसन्धानका निम्ति एआईको धेरैभन्दा धेरै सकारात्मक प्रयोग हुने सिलसिला पनि बढ्दो छ । पुस्तकालय या प्रयोगशालामा घन्टौँ वा दिनौँ लगाएर गर्नुपर्ने खोज, अनुसन्धानमा एआईले छिटोछरितो र सकेसम्म भरपर्दो तथा तथ्यपरक ढंगले निचोड निकाल्न र जवाफ दिन सक्ने भएकाले विद्यार्थी मात्र नभई पेसा, जागिर, व्यापार व्यवसायमा संलग्नका निम्ति पनि यो निकै लोकप्रिय बन्दै गएको देख्न सकिन्छ ।

एआई र आइटीबिच हार्ड र मासुजस्तै सम्बन्ध हुन्छ । आइटीमा एआईद्वारा अकल्पनीय तथा बहुआयामिक परिवर्तन भित्रिएका छन् । यसअन्तर्गत सर्भर नेटवर्कको उच्च वैज्ञानिक विस्तार, साइबर सुरक्षा एवं भविष्यमा हुन सक्ने अनियमित गतिविधि तथा क्षतिको न्यूनीकरण वा रोकथाम, सफ्टवेयर टेस्टिङ, क्लाउड कम्प्युटिङ तथा कोडिङ प्रोग्रामिङजस्ता सामान्यदेखि जटिल ठानिएका सूचना तथा प्राविधिक गतिविधिलाई टेवा प्रदान गर्न सुरु गरिएका विषेशता समावेश रहँदै आएका छन् ।

आइटीका अलावा अर्थशास्त्रअन्तर्गत सूक्ष्म अर्थशास्त्र एवं बृहत् अर्थशास्त्र हुँदै सैद्धान्तिक अर्थशास्त्र तथा तथ्यांक गणितीय अर्थशास्त्रका भारलाई पनि सजिलै सरल र भरपर्दो तवरले अध्ययन, अवलोकन र केलाउन मद्दत गर्ने गरेको छ । यी मात्र नभई फाइनान्सका डिजिटल भुक्तानी, फिन्टेकजस्ता अवधारणाको आविष्कार, अनुसन्धान र व्यवस्थापनअन्तर्गत आर्थिक, भौतिक, मानवीय एवं यान्त्रिक स्रोतको उच्चतम सफलतापूर्वक परिचालन एवं बाँडफाँडका आधारशिला एवं अवधारणा, कानुनअन्तर्गत अनुसन्धान कानुनी कागजपत्र चेकजाँच एवं विश्लेषण, सिभिल इन्जिनियरिङमा नक्सा डिजाइनिङ संरचनात्मक विश्लेषण (जस्तै भूकम्प प्रतिरोधात्मक क्षमता) साथै रकेट साइन्स, विमान निर्माण, मर्मत सम्भार, अन्तरिक्ष अन्वेषणजस्ता विषयमा भरपूर सहयोग पुर्‍याउँदै मानव जातिबिच अकल्पनीय क्रान्तिकारी परिवर्तन पस्किसकेको छ ।

यसका यी सबै फाइदा र सहयोग सुन्दा जति आहा लाग्ने खालको छ, त्यत्तिकै मात्रामा यसमा विभिन्न घातक चुनौती पनि छन् । विभिन्न सञ्चार माध्यमका अनुसार यस वर्षको मार्चसम्म आइपुग्दा एआईका कारण करिब दोब्बर प्रतिशतभन्दा बढीले आइटीसँग सम्बन्धित जागिर गुमाइसकेका छन् । जसमा कोडिङ, प्रोग्रामिङ, फाइनान्स, रोबोटिक्स अटोमेसनजस्ता क्षेत्रमा मानवीय श्रमको वैकल्पिकता प्रदान गर्दै एआईले आधुनिक एवं हस्तक्षेपकारी भूमिका निर्वाह गर्न थालिसकेको आकलन गर्न सकिन्छ ।

यसको नकारात्मकताको अर्को पाटो हेर्ने हो भने निकट भविष्यमा यसले बिस्तारै मानव जातिलाई शारीरिक एवं मानसिक रूपले जीर्ण एवं शिथिल बनाउन सक्ने उच्च खतरा देखिन्छ । वैज्ञानिक प्रक्षेपणअनुसार हाम्रो घरायसी काम, ड्राइभिङ, किनमेल, अध्ययन, निर्णय निर्माण एवं परिचालनजस्ता सामान्यभन्दा सामान्य कामदेखि बृहत् र जटिल कामजस्तै नीति निर्माण, खोज अनुसन्धान, विज्ञान प्रविधि, स्वास्थ्य, शिक्षा, आविष्कार, सैन्य शक्ति, रोजगारीसम्मका कार्यमा मानिसलाई एआईले हस्तक्षेप नगर्ला भन्न सकिन्न ।

‘गार्बेज इन गार्बेज आउट’भनेजस्तै हामीले एआईबाट कस्तो प्रतिफल चाहन्छौँ भन्ने हामीले गरेका र दिएका कमान्ड र प्रयोगका आधारका साथै कतिसम्मको निर्भरता भन्नेमा पनि भर पर्छ । यो आफैँ खराब या जटिल भने पक्कै होइन । यो निकै सरल र सबल प्रविधि हो । यसको राम्रो परिचालनबाट हामी भरपूर फाइदा लिन सक्छौँ । यसलाई परनिर्भरतामा भन्दा पनि आत्मनिर्भरता र उत्पादनमुखी क्षेत्रमा बढीभन्दा बढी प्रयोग गरी उत्पादकत्व वृद्धि एवं प्रतिफलतामा सकारात्मक लाभ लिन सक्नुपर्छ । 

अन्य देशमा जत्तिकै नेपालमा पनि एआईको प्रयोग तीव्र गतिमा बढ्दो छ । हाम्रो जस्तो प्रत्यक्ष रूपमा प्रविधिसँग जोडिएको ठुलो युवा जनशक्ति भएको देशमा प्रविधीकरण, एआई पूर्वाधार विकास तथा निर्माण, यसका आधुनिक एवं वैज्ञानिक नीति तथा कार्यक्रमका अवधारणा भरसक छिटोभन्दा छिटो निर्माण एवं कार्यान्वयन अपरिहार्य छ ।

एआईको कुशलताका साथै प्रभावकारी कार्यान्वयनका निम्ति राज्यसँगसँगै नागरिकले काँधमा काँध मिलाउँदै एआईसम्बन्धी रणनीतिक विकास, विस्ता र यही क्षेत्रसँग सम्बन्धित शिक्षा र सीप विकास, आधुनिक डिजिटलाइजेसन, रोजगारी साथै कृषि, पर्यटन, शिक्षा, स्वास्थ्यसँग सम्बन्धित राष्ट्रिय रणनीतिक ऐन–नियम नीति–निर्माण तथा कार्यान्वयनजस्ता व्यापक क्षेत्रमा प्रभावकारी भूमिका नखेल्ने हो भने हामी विश्व प्रविधिको तुलनामा पछाडि पर्ने कुरामा दुई मत छैन । जसले गर्दा देशमा खडा रहेका प्रतिभाशाली मानव स्रोत , प्राकृतिक एवं भौतिक स्रोतहरू पनि सकारात्मक परिचालन हुन पाउनेछैनन् र उनीहरूको खुबीको र क्षमताको न्याय पनि हुनेवाला छैन ।

अत: एआईको कुशल एवं प्रभावकारी परिचालन एवं कार्यान्वयन गर्न सकियो भने यसलाई अभिशापको रूपमा भन्दा बढी वरदानको रूपमा धेरै प्रयोग गर्न सकिन्छ । प्रभावकारी नीति–निर्माण एवं कार्यान्वयन र प्राविधिक प्रोत्साहनका साथै नागरिक र राज्यको हातेमालो, सरकारी, गैरसरकारी, निजी क्षेत्रको यसमा एकल वा संयुक्त लगानी आजको दिनको अपरिहार्यता हो ।