
स्रोत नखुलेको हुन्डी रकमसहित वीरगन्जबाट पर्सा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिकाको इदगाह चोकबाट स्रोत नखुलेको १४ लाख रकमसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका– २ निवासी सञ्जयकुमार साह र बारा महागढीमाई नगरपालिकानिवासी शनिकुमार ठाकुर रहेको प्रहरीले जनाएको छ।
विशेष सूचनाको आधारमा १४ लाख १३ हजार पाँच सय रुपैयाँसहित उनीहरूलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए। उनका अनुसार उनीहरूको साथबाट प्रहरीले बिआर ०५ एबी ७७६१ र प्रदेश २–०३–००२ प ५५४४ नम्बरको दुईवटा मोटरसाइकलसमेत बरामद गरेको छ।
मोटरसाइकलमा फल्स सिलिङ बनाई लुकाइछिपाई ल्याउँदै गरेको एक हजार दरका १० लाख र पाँच सय दरका चार लाख १३ हजार रुपैयाँ फेला परेको प्रहरीले जनाएको छ। हुन्डी रकमसहित पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखेर आवश्यक अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ।