मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर २३ आइतबार
  • Tuesday, 14 January, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ मङ्सिर २३ आइतबार १७:३८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

काठमाडौं महानगरका ८८ प्रतिशत मः म पसलमा छैन स्वच्छता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ मङ्सिर २३ आइतबार १७:३८:oo

काठमाडौं महानगरपालिकाभित्र सञ्चालनमा रहेका मःम पसलहरुमा कार्यस्थल, भान्छा र व्यक्तिगत सरसफाइ तथा स्वच्छता नभएको भेटिएको महानगरले जनाएको छ।

गत कात्तिक २९ देखि महानगरपालिकाका फुड टेक्नोलोजिस्ट, माइक्रोवायोलोजिस्टसहितको टोलीले ८५ वटा मःम बनाउने होटेल तथा रेस्टुरेन्टमा अनुगमन गर्दा ७५ वटा (८८.२४ प्रतिशत)मा भान्छा र व्यक्तिगत सरसफाइ तथा स्वच्छता नपाइएको हो।

ती होटेलहरूमा सरसफाइ मुख्य समस्या देखिएको ‘अनुगमन प्रतिवेदन’मा उल्लेख छ। यससँगै ६६ वटा (७७.६५ प्रतिशत) पसलमा भान्छा र कार्यस्थलको सरसफाइमा कमजोरी रहेको प्रतिवेदनमा उल्लेख छ। होटेलहरूले दैनिक रूपमा प्रयोग गर्ने एप्रोनसमेत फोहोर छ। भान्छा वा होटेलमा लगाउने एप्रोन होटेलबाहिर पनि लगाउने गरेको पाइएको छ।

मसला राख्ने भाँडा फोहोर रहेको, पकाएका खानेकुरा खुला राख्ने गरिएको, भान्छाको भुइँमा पानी जमेको, डस्टबिनको उचित प्रयोग नभएको, मांशाहारी र शाकाहारीका भोजन सँगै भण्डारण गर्ने गरिएको छ, पकाएको र नपकाएका खानेकुरा सँगै राखिएको तथा किराको समस्या समाधान गर्न आफैँ रसायनको प्रयोग गर्ने गरिएको पाइएको प्रतिवेदनमा उल्लेख छ।

अधिकांश मःम पसलमा फ्रिज सफा नगरिएको, फ्रिजका अचार र मसलामा लेबल नराखिएको, मःम बनाउने टेबल र मेसिन तथा भाँडा माझ्ने ठाउँ फोहोर रहेको तथा मूल्यसूची नराखेको पाइएको छ। महानगरका अनुसार १८ वटा (२१.१८ प्रतिशत) व्यवसाय भने दर्ता नै नभएका पाइयो। 

यी समस्या समाधानका लागि अनुगमन टोलीले स्थलगत रूपमै निर्देशन र सुझाव दिएको महानगरले जनाएको छ। सरसफाइ र स्वच्छतामा कमजोरी देखिएका पसलहरूलाई सुधारका लागि निर्देशन दिनुका साथै दर्ता नभएका व्यवसायलाई दर्ताका लागि महानगरले समय दिएको छ।

८ वटा होटेल, रेस्टुरेन्टले भने सुधार गरेको भिडियो र फोटोसहितको प्रमाण लिएर विभागमा उपस्थित भएकाे महानगरले जनाएको छ।