उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपालले सहरीकरणमा भोगिरहेको समस्या समाधानका लागि विश्व समुदायको ध्यानाकर्षण गराउन इजिप्ट भ्रमण सफल भएको बताएका छन्।
इजिप्टको कायरोमा सम्पन्न वर्ल्ड अर्बान फोरममा सहभागी भएर नेपाल फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उपप्रधानमन्त्री सिंहले भ्रमण उपलब्धिमूलक भएको बताए।
नेपालमा सहरी विकासका क्षेत्रमा भइरहेको काममा नेपालसँग सहकार्य गरिररहेका एजेन्सी सन्तुष्ट रहेकाले आगामी दिनमा सहरीकरणका काम प्रविधियुक्त र थप प्रभावकारी रूपमा अघि बढ्ने बताए। उनले कायरोमा सम्पन्न फोरममा नेपालले सहरीकरणको क्षेत्रमा हासिल गरेको प्रगति र भोगिरहेको समस्याबारे विश्वकै ध्यानाकर्षण गराउन सफल भएको दाबी गरे।
‘जलवायु परिवर्तनले गर्दा सहरहरूमा अतिवृष्टि हुने, बाढी आउने, हिमालहरूमा हिमपहिरो आउँदा विपद्का घटना हुने गरेको छ। तर, नेपाल यस्तो देश हो विश्वमा, जसले प्रदूषण कम गर्छ, तर जलवायु परिवर्तनको असर भने धेरै खेप्नुपरिरहेको छ। जसले गर्दा ग्रिन फाइनान्सिङको कुरामा युएन ह्याबिट्याटले संयुक्त राष्ट्रसंघसँग कुरा गरेर नेपाललाई सहयोग पुर्याउनुपर्नेमा जोड दिनुपर्छ भन्ने कुरालाई मैले उठाएको छु,’ उनले भने, ‘आउँदा दिनमा हामीले गरेको प्रयासको लाभ देखिन्छ।’
तथ्य र तथ्यांकमा आधारित योजनामा युएन ह्याबिटेटको निरन्तर सहयोगको प्रतिबद्धता रहेको भन्दै सिंहले दिगो सहरीकरणका लागि बलियो सहकार्य गर्न संयुक्त राष्ट्रसंघको समर्थन नेपालका लागि सकारात्मक रहेको बताए।
फोरममार्फत नेपालले आफ्ना विषयहरू विश्वमञ्चमा जोडदार रूपमा उठाएको र भ्रमण फलदायी भएको उनको भनाइ थियो। मन्त्रालय तहको छलफलमा ७७ राष्ट्रका सहरी विकाससँग सम्बन्धित मन्त्रीहरू सहभागी भएकाे उनले जानकारी दिए।