
माओवादी सांसद एवं पूर्वऊर्जामन्त्री सांसद शक्ति बस्नेतले अमुक उद्योगमा लाइन जोड्ने विषयलाई सरकारले प्रतिष्ठाको विषय बनाएको बताएका छन्।
प्रतिनिधिसभाको आजको बैठकमा शून्य समयमा बोल्दै उनले लाइन जोड्ने वा नजोड्ने विषय विद्युत् प्राधिकरणको विनियमावलीले गरेको बताए।
उनले डेडिकेटेड र ट्रंकलाइन विवादको मुख्य विषय उद्योगी व्यवसायीले नतिरेको विद्युत् महसुल उठाउने कि नउठाउने भन्ने रहेको उनको भनाइ छ।
यस्तो विषयमा प्रधानमन्त्रीले ठाडो निर्देशन दिन नहुने उनको भनाइ छ।
‘कुरा सुशासन र विधिको गर्ने, नियमको गर्ने अनि समाधान ठाडो निर्देशनमा खोज्ने ?,’ प्रधानमन्त्रीतर्फ लक्षित गर्दै बस्नेतले भने, ‘सरकार गलत बाटो हिँड्दै छ, सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’
बस्नेतले अहिलेको विवाद नियमित बिजुली उपभोगको नभई विशेष अवस्थाको भएकाले त्यसलाई कानुनअनुसार नै हल गर्नुपर्ने बताए।
‘जहाँसम्म विद्युत् प्राधिकरणले जारी गरेका बिलहरूबारेको प्रश्न छ । त्यसको निरुपण गर्ने कानुनी र संरचनात्मक व्यवस्था छ। पुनरावलोकनदेखि पुनरावेदनसम्मको कानुनी व्यवस्था छ। त्यो बाटो हिँड्नुपर्याे,’ उनले भने।