Skip This
मन्दिरनजिक पिसाब फेरेको निहुँमा  लुटपाट र तोडफोड
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ श्रावण ८ मंगलबार
  • Friday, 23 May, 2025
२o८१ श्रावण ८ मंगलबार १३:४६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मन्दिरनजिक पिसाब फेरेको निहुँमा  लुटपाट र तोडफोड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ श्रावण ८ मंगलबार १३:४६:oo

बाराको सिम्रौनगढ बजारमा दिनदहाडै लुटपाट र तोडफोड भएको छ । मन्दिरनजिक पिसाब फेरेको निहुँमा सुरु भएको विवाद बढेर सिम्रौनगढ नगरपालिका– ६ स्थित बजारका रामजन्मप्रसाद कुसवाहको घरमा सोमबार तोडफोड र लुटपाट भएको हो । 

सिम्रौनगढ बजारबाट उतरतर्फ रहेको गाउँमा सानो इटवाल गाउँबाट आएका करिब एक सयजनाको समूहले कुसवाहको घरमा तोडफोड गर्दै लुटपाट गरेको हो । उक्त समूहले कुसवाहको ट्याक्टरको हेडलाइट, दुईवटा मोटरसाइकल, कुर्सी, बक्सा र भाँडाकुँडा तोडफोड गर्दै श्रीमतीले लगाएको गहना जतिया र तिलहरीसमेत लुटेको कुसवाहले जानकारी दिए । 

आइतबार साँझ सिम्रौनगढ नगरपालिका– ५ सानो इटवालनिवासी राजकिशोर पटेल र रामजन्मप्रसाद कुसवाहको छोरा रामप्रवेश कुसवाह र राजकिशोर कुसवाहबीच विवाद भएको थियो । पटेलले मन्दिर क्षेत्रमा पिसाब फेरेको निहुँमा कुसवाहका छोराहरूबीच विवाद भएको थियो । सोही विवादका क्रममा कुसवाहका छोरा र उनका साथीहरूले पटेललाई कुटपिट गरी घाइतेसमेत बनाइदिएका थिए । 

यस घटनाअघि पनि रामप्रवेश र उनका साथीहरूले इटवाल गाउँका दुईजना युवकलाई कुटपिट गरेका थिए । पटकपटक कुटपिट भएको भन्दै आक्रोशित बनेको गाउँलेहरूको समूहले बदलामा कुसवाहको घरमा तोडफोड गरेको नाम उल्लेख नगर्ने सर्तमा सानो इटवालका एकजना स्थानीयले बताएका छन् । उक्त घटनापछि दुई गाउँबीच झडप हुन सक्ने सम्भावनालाई मध्यनजर गरी ठूलो संख्यामा सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको छ ।